राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला
जनस्वास्थ्य सरोकार, काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुआत भएको छ ।
प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार अब विगतजस्तो हातले लेख्नु नपर्ने बताउनुभयो ।
कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुने उहाँको भनाई छ । “विगतमा हातले रिपोर्ट लेख्नु पथ्र्यो, त्यो गर्दा केही त्रुटि पनि आउथे”, उहाँले भन्नुभयो-“अब सबै कम्प्युटरले आफैँ लेख्ने छ, त्यसले गर्दा त्रुटि पनि आउने छैन ।”
उहाँका अनुसार ‘फुल्ली अटोमेटिक सिस्टम’का लागि मेसिन जडान गरेर काम सुरु भएको छ ।
मेसिनबाट ‘अटोमेटिक’ प्रिन्ट भएपछि त्यसलाई क्रस भेरीफाइ गरेर मात्रै बिरामीलाई रिपोर्ट दिन थालिएको छ ।
यसले गर्दा विगतमा जस्तो त्रुटि प्रतिष्ठानले भोग्नु नपर्ने उहाँको भनाइ छ । यो मेसिन दाङमै पहिलोपटक भित्र्याइएको समेत सूचना अधिकारी भट्टराईको भनाइ छ । डिजिटल ल्याब सेवा सुरु भएसँगै सहज भएको उहाँले बताउनुभयो । रासस