Logo
|
Thursday 2nd May 2024
Logo

epaper

कोभिड-१९ को लक्षण देखिनेबित्तिकै आइसोलेसनमा बसौँ : स्वास्थ्य मन्त्रालय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको लक्षण देखिने बित्तिकै आइसोलेसनमा बस्न अनुरोध गरेको छ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण देखिने बित्तिकै परीक्षण गराई आइसोलेसनमा बस्न अनुरोध गरेको हो। सूचनामा भनिएको छ, ‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहाना नगरौँ। कोभिड– १९ का लक्षण देखिने बित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ।’

मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड– १९ हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखा परेको छ। अहिले भारतमा पनि ओमिक्रोनका कारण संक्रमण बढिरहेको छ। रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भूमिका निभाउनसमेत आग्रह गरेको छ। जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ।

शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले बढिरहेको छ। सोमबार ७६ जनामा नयाँ संक्रमण र सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ।

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुनपानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्