Logo
|
Saturday 20th April 2024
Logo

epaper

श्रवण अपाङ्गता माथिको विजय : कक्लियर ईम्प्लान्ट

त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा मात्र यो सेवा सुविधा उपलब्ध




स्नातक तह पढ्दै गर्दा एक्कासी दुवै कानको श्रवण शक्ति गुमाएर आत्महत्या गर्ने सोचमा पुगेका एक २४ वर्षीय युवकले कक्लियर इम्प्लान्ट पश्चात् पुनः सुन्न थालेपछि कस्तो अनुभूति भयो भन्ने जिज्ञासाको जवाफ दिने व्यक्ति हाल हाम्रै माझमा छन् ।


१३ बर्षसम्म आफ्नो श्रवणशक्ति पूर्णरुपले गुमाएर अति कष्टकर जीवन भोग्नुपरेको र २७ बर्षको उमेर पुगेपछि बल्ल कक्लियर इम्प्लान्ट मार्फत सुन्न थालेपछि जीवनमा आएका परिवर्तनहरुको यथार्थता बताउन सक्ने एक महिला पनि हामी माझमा नै छिन् ।


जन्मजात नसुन्ने भएर वा बोली तथा भाषाको विकास नभएर समाजमा ‘बहिरा र लाटा’ का आमा बुबा भनी अपमान खेपेका अभिभावक धेरै छन् । आफ्ना बच्चाको कक्लियर इम्प्लान्ट अपरेसन पश्चात् आमा बाबा भनेर बोलाउन थालेपछि ती अभिभावकको आँखा रसाउँछन् । खुशीका आँसुको वर्णन गर्न सक्ने थुप्रै अभिभावकहरु हाम्रो सम्पर्कमा छन् । यस्ता विभिन्न अनुभूति, अनुभव, हर्ष, आँसु, भावनामा विलिन हुन पाउँदा हामी कक्लियर इम्प्लान्टमा काम गर्ने चिकित्सक, अडियोलोजिष्ट तथा स्पीच थेरापिष्टलाई अनुपम आनन्दको महसुस हुन्छ ।


यसरी उपचारमा भौतारिरहेका सम्पूर्ण नेपालीहरुले यस्तो समस्याको उपचार नेपालमा नै सम्भव छ भनी जान्न आवश्यक छ । नेपालको स्वास्थ्य क्षेत्रमा एक छुट्टै पहिचान बनाउन सकेको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा मात्र यो सेवा सुविधा उपलब्ध छ । त्यसकारण पनि कक्लियर इम्प्लान्टको बारेमा यहाँ चर्चा परिचर्चा गर्न सान्दर्भिक देखिन्छ ।


के हो कक्लियर इम्प्लान्ट ?
कक्लियर इम्प्लान्ट मानव कानले जस्तै सुनाइको काम गर्ने एक आधुनिक यन्त्र हो । जसको प्रयोगबाट कान पटक्कै नसुन्ने व्यक्तिलाई सुन्नसक्ने बनाउन सकिन्छ । कक्लियर इम्प्लान्टको दुई वटा भाग हुन्छन् । एउटा भाग अपरेशन गरेर कानको पछाडि छालाभित्र हड्डीमा जडान गरी तारयुक्त ईलेक्ट्रोडलाई कानको भित्री भाग कक्लियामा राखिन्छ । अर्को भागलाई स्पीच प्रोसेसर भनिन्छ, जुन छालाबाहिर रहन्छ र चुम्बकद्धारा भित्री भागसँग जोडिन्छ । बाहिर जडान गरिएको भागमा माइक्रोफोन हुन्छ जसबाट वातावरणको आवाज स्पीच प्रोसेसर सम्म पुग्दछ । स्पीच प्रोसेसरबाट विभिन्न ध्वनी शक्तिलाई विभाजित गरी भित्र जडान गरिएको इम्प्लान्टमा रेडियोफ्रिक्वेन्सी सिग्नलबाट पठाइन्छ । यसरी आएका ध्वनीशक्ति भित्र जडान गरिएको इम्प्लान्टबाट ईलेक्ट्रीकल शक्तिमा परिणत हुन्छ । जुन कक्लियामा राखिएको ईलेक्ट्रोडसम्म पुग्दछ । त्यहाँबाट यी विद्युतीय सूचना कक्लियर नर्भ नामक नशामार्फत दिमागसम्म पुग्दछ र आवाज सुनिन्छ । यसरी कक्लिएर इम्प्लान्टले कानको खराब भइसकेको भित्री कक्लियालाई बाइपास गरी आवाजलाई दिमागसम्म पुर्याउँदछ ।

कस्ता व्यक्तिमा कक्लियर इम्प्लान्ट गर्ने
जन्मजात सुन्न नसक्ने बाल बालिकाको लागि कक्लियर इम्प्लान्ट बरदान नै सावित भएको छ । पुरै नसुन्ने भएपछि ती बालबालिकाले बोल्न पनि नसक्ने हुन्छन् । यस्ता बालबालिकाको समयमा नै समस्याको निदान गरी कक्लियर इम्प्लान्ट गरेर स्पीच थेरापीपश्चात् साधारण व्यक्तिमा परिवर्तन गर्न सकिन्छ । यस्ता समस्या समयमा नै पहिचान नहुँदा कक्लियर इम्प्लान्ट गर्न ढिला भई बोली तथा भाषाको विकास हुन नसक्ने हुन्छ । यसरी जन्मजात नसुन्ने बालबालिकाको हकमा ३ वर्षको उमेर भन्दा अगाडि कक्लियर इम्प्लान्ट गर्न सकेमा धेरै राम्रो हुन्छ । तर ६ वर्षपछि कक्लियर इम्प्लान्टमार्फत श्रवणशक्ति राम्रो बनाउन सके पनि बोली र भाषाको विकासमा राम्रो प्रगति नहुन सक्छ ।

राम्रो सुन्न र बोल्न सक्ने व्यक्तिमा कुनै पनि कारणले पूर्ण श्रवणशक्ति गुमेको अवस्थामा कक्लियर इम्प्लान्ट मात्रै एक समाधानको उपाय हो जसले श्रवणशक्ति फर्काउन सक्छ । श्रवणशक्ति पूर्णरुपमा गुम्ने कारणहरुमा हाँडे, टाइफाइड ज्वरो, मेनिनजाइटिस, दादुरा, ल्यावेरिनथाइटिस जस्ता रोग नै प्रमुख हुन् । यसका साथै विभिन्न औषधिको सेवनबाट श्रवणशक्ति गुमाएकाहरुलाई पनि कक्लियर इम्प्लान्ट गर्न सकिन्छ ।

लामो समयसम्मको कानको संक्रमण भई समयमा उपचार नपाइएको अवस्थामा संक्रमण भित्री कानमा फैलन सक्छ । पूर्णरुपमा श्रवणशक्ति गुमाएकाहरुमा उपचारपश्चात् कक्लियर इम्प्लान्ट शल्यक्रिया गरी श्रवणशक्ति फर्काउन सकिन्छ ।
उमेरको कारणले कानको भित्री भाग कक्लियामा हुने परिवर्तनले गर्दा सुनाईशक्ति कम भएपछि हियरिङ्ग एड (श्रवण यन्त्र) को प्रयोगबाट सुनाईमा प्रगति नभएकाहरुलाई कक्लियर इम्प्लान्टबाट सुन्न सक्ने बनाउन सकिन्छ ।

कुनै कारणबाट एउटा कानको श्रवणशक्ति पूर्णरुपले गुमेको अवस्थामा बाइनअउरल हियरिङ्ग (दुवै कानको सुनाई) को फाइदा पाउन कक्लियर इम्प्लान्ट गर्न सकिन्छ । एउटा मात्र कानको सुनाई गुम्दा सो व्यक्तिले आवाजको श्रोत कुन दिशाबाट आएको हो र कति टाढाबाट आएको हो भनी पहिचान गर्न सक्दैन । यसका साथै भिडभाड वा हल्ला भएको ठाँउमा आवाज राम्ररी बुझ्न सक्दैन । यी समस्याको समाधानका लागि कक्लियर इम्प्लान्ट नै एक मात्र विकल्प हो ।


कानको अन्य समस्या जस्तैः श्रवण न्यूरोपैथी स्पेक्ट्रम डिसअर्डर (एएनएसडी), एड्भान्सड या कोक्लियर ओटोस्क्लेरोसिस जस्ता समस्या भएमा पनि कक्लियर इम्प्लान्टको प्रयोगबाट श्रवण शक्ति राम्रो बनाउन सक्छ ।

भ्रम तथा यथार्थ
भ्रमः
नसुन्ने र नबोल्ने बच्चालाई कक्लियर इम्प्लान्टको शल्यक्रिया गर्ने बित्तिकै सुन्ने र बोल्ने हुन्छ ।
यथार्थः कक्लियर इम्प्लान्टले नसुन्नेलाई सुन्न सक्ने बनाउन सकिन्छ । तर निश्चित् तरिकाको तालिम दिएपछि मात्र सुन्ने हुन्छ र बोली भाषाको विकास गर्न पनि विशेष तालिम दिनैपर्छ । अन्यथा शल्यक्रिया गरेर कुनै फाइदा हुने छैन । कक्लियर इम्प्लान्टको प्रयोगबाट श्रवणशक्ति राम्रो बनाउन बाहिर जडान गरिने स्पीच प्रोसेसरको सहि तरिकाको फिटिङ्ग (म्यापिङ) को पनि त्यत्ति नै ठूलो भूमिका हुन्छ ।
भ्रमः जन्मजात सुनाई सम्बन्धि अपाङ्गता भएका ३०/३५ वर्ष उमेर पुगेका व्यक्तिलाई कक्लियर इम्प्लान्टले बोल्न सक्ने बनाउँछ ।
यथार्थः जन्मजात सुनाई सम्बन्धि अपाङ्गता भएका ३०/३५ वर्ष उमेरका व्यक्तिलाई कक्लियर इम्प्लान्ट गर्दा केही फाइदा गर्दैन । दिमागको विकासमा हुनपर्ने सबै विकास भइसकेपछि सुन्न र बोल्न आवश्यक पर्ने भागको विकास हुन सक्दैन । त्यसकारण यस्ता व्यक्तिका लागि भावनात्मक सद्भाव देखाएर कक्लियर इम्प्लान्ट गर्न उत्साहित नगरेको राम्रो हुन्छ ।

नेपालमा कक्लियर इम्प्लान्टको व्यवस्था
नेपालमा कक्लियर इम्प्लान्टको आवश्यक पर्ने समूह धेरै भए पनि यसको प्रयोग गर्न चाहनेहरुको संख्या निकै कम छ । यस्तो हुनुका कारणहरुमध्ये उच्च खर्च तथा अपरेशनपछि गर्नुपर्ने मिहिनेत नै प्रमुख कारण हुन् । यसबाहेक यो प्रविधिको ज्ञान तथा सिप भएका जनशक्तिको कमी पनि एक थप कारण हो । निम्न आर्थिक अवस्थाका कारण कक्लियर इम्प्लान्टको प्रयोग गरी उपचार गराउन असक्षमलाई केहि हदसम्म सक्षम बनाउन आ.व. २०७४/०७५ देखि नेपाल सरकारबाट अनुदान सहयोगको व्यवस्था भएको छ जसले गर्दा नेपालीलाई केहि राहत मिलेको छ ।

हालको व्यवस्था अनुसार कक्लियर इम्प्लान्टको प्रयोग गर्नुपर्नेले प्रतिव्यक्ति ६ लाख पचास हजार रुपियाँ नेपाल सरकारको तर्फबाट आर्थिक सहयोग पाउँदछन् । नेपालमा यो प्रविधिको ज्ञान तथा सिप भएका चिकित्सक, अडियोलोजिष्ट तथा स्पीच थेरापिस्ट गरी तीन वटै विधा एकै छाता त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा मात्र उपलब्ध छ । संक्षेपमा कक्लियर इम्प्लान्ट आज अपरेशन गरेपछि भोली नै सुन्न र बुझ्न सक्ने होइन ।

यसका लागि उपयुक्त तथा सही म्यापिङ्ग भएपछि मात्र सुन्न सक्ने हुन्छ र आवाज बुझ्न सहि तरिकाको तालिम (थेरापी) लिनुपर्छ । यो एक टिम वर्क हो जसमा राम्रो अपरेशन, उचित म्यापिङ्ग र सहि थेरापीका साथै परिवार र समाजको समान भूमिका हुन्छ । यदि अपरेशन मात्र गर्ने तर म्यापिङ्ग र थेरापीमा उपस्थित हुन नसक्ने वा व्यवस्था गर्न सकिदैन भने कक्लियर इम्प्लान्ट कार्यक्रम सफल हुन सक्दैन । श्रवण अपाङ्गता माथिको विजय पाउन तीन वटै विधा सहितको कक्लियर इम्प्लान्ट कार्यक्रमलाई नै सफल बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्