Logo
|
Wednesday 1st May 2024
Logo

epaper

स्वदेशी औषधि प्रवद्र्धनमा माटो सुहाउँदो नीति आवश्यक

भन्सार छलिका औषधि र औषधिजन्य वस्तुहरु रोक्नुपर्छ



प्रभात रूङ्गटा, प्रबन्ध निर्देशक, मारूती फर्मा

सुरुवाती दिनमा नेपालमा छाला सम्बन्धि औषधि मात्रै उत्पादन गरेर टिक्न नसकिने मान्यता थियो । तर चिकित्सकहरूको विश्वास जितेर मुलुकमा छाला सम्बन्धि औषधिमा धेरै हदसम्म आत्मनिर्भर बन्न सफल भएका छौं ।


स्वदेशी औषधि उद्योगहरूले मुलुकको अर्थतन्त्रमा राम्रो टेवा पुर्याएका छन् । बैकिङ पछि दोस्रो ठूलो क्षेत्र औषधि उद्योग नै हो । नेपालका औषधि उद्योगहरू संगठित, व्यवस्थित र पूर्ण मापदण्ड पालना गरेर अघि बढिरहेका छन् । विश्व स्वस्थ्य संगठन (डब्लुएचओ) को गाइडलाइनअनुसार सञ्चालन भएकाले स्वदेशी उत्पादन विश्व बजारसँग प्रतिस्पर्धी छन् ।


त्यसैले नेपाल सरकारले आयात कम गरी स्वदेशी उत्पादन निर्यातमा प्रोत्साहन र हौसला दिनुपर्छ । सुरक्षाको प्रत्याभूति दिन नसक्दा स्वदेशी कम्पनी टिक्न धौ धौ पर्नसक्छ ।


औषधि व्यवस्था विभागले काठमाडौँ केन्द्रित भएर काम गरिरहेको छ । विभागका वीरगञ्ज, विराटनगर र नेपालगञ्ज शाखा कार्यालयहरू भएपनि पूर्ण जिम्मेवारी दिएर काम गराउन सकिरहेको छैन । विभागका कर्मचारीहरूको जिम्मेवारी अनुगमनमा मात्र केन्द्रित छ । लाइसेन्स वितरण, पैठारी सिफारिस, नविकरण जस्ता कार्यको जिम्मा सबै शाखा कार्यालयहरूलाई दिनुपर्छ । साथै विभागको शाखा विस्तार र विकास तर्फपनि ध्यान दिन आवश्यक देखिन्छ ।


विशेषगरी खुला सिमाको फाइदा उठाउँदै अवैध बाटोबाट भन्सार छलिका औषधि र औषधिजन्य वस्तुहरु नेपाल भित्रिने गरेकाले सरकारले यसलाई नियन्त्रण गरी दोषीलाई कानूनी दायरामा ल्याउन पहल गर्नुपर्छ ।


विदेशीहरूको सिको गर्नु भन्दा देशको माटो सुहाँउने नीति नियम बनाउनुपर्छ । हाम्रो माटोमा के बिक्छ, जनताको पहुँच के–कति छ भन्ने कुराको ख्याल राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्