Logo
|
Thursday 2nd May 2024
Logo

epaper

कस्मेटिक सर्जरीले दिएको आनन्दको अनुभव



डा. सुयोग मैनाली, छाला रोग एवं शौन्दर्य विशेषज्ञ

डा. मैनालीले प्लास्टिक सर्जरीमा एमडी सकेर फर्किदा नेपालमा कस्मेटिक सर्जरी गर्ने धेरै क्लिनिक थिएनन् । कस्मेटिक सर्जरीतर्फ सर्वसाधारणको रूची बढ्दै थियो । स्वदेशमा राम्रो कस्मेटिक सर्जरी गर्ने क्लिनिक खुल्न नसक्दा सेवाग्राही विदेशिन वाध्य थिए । यसलाई दृष्टिगत गरी सन् २०१२ मा काठमाडौँ क्लिनिक अफ कस्मेटिक सर्जरीको स्थापना गर्न सफल हुनुभयो ।

अविस्मरणीय घटना

‘चार वर्ष अघिको कुरा हो । एकजना व्यक्ति एकदमै उदास भएर क्लिनिकमा आउनुभयो । कुरा बुझ्दै जाँदा उहाँको प्रेमीकाले ‘कपाल छैन, तालु भयो’ भनेर छोड्नु भएको रहेछ । उहाँले एकदमै दुःखी हुँदै ‘कपाल लामो बनाएर उसलाई (प्रेमिका) देखाउने रहर छ ।’ भन्नुभयो । हामीले पनि सोही अनुरूप सबै प्रक्रिया पूरा गरेर कपाल प्रत्यारोपण गर्यौँ । रिजल्ट पनि सोचेको भन्दा राम्रो आयो । त्यसको एक–ढेड वर्षपछि उहाँले अर्कै केटीसँग विवाह गर्नुभयो । बिहेमा मलाई पनि निम्तो गर्नुभएको थियो । यो घटना सम्झिँदा असाध्यै खुशी महशुस हुन्छ ।’—यो डा. सुयोग मैनालीको करियरमा भएको अविस्मरणीय घटना हो ।

विश्वास जित्न गाह्रो

सुरुवाती ३ वर्ष त क्लिनिकल कस्मेटिक सर्जरीबारे बुझाउनै लागेको बताउनुहुन्छ डा. मैनाली । धेरैले विश्वास नै गर्दैनथे । यस्तो पनि हुन्छ र ? भनेर मुख खुम्च्याउँथे । विस्तारै सेवा लिनेहरूको संख्या बढ्न थाल्यो । सुरुवाती दिनमा आई लिड र नाक (नोज) को सर्जरी गराउन धेरै आए । कपाल प्रत्यारोपण गर्न चाहनेहरूको संख्या पनि उल्लेख्य बढ्न थाल्यो ।

कस्मेटिक सर्जरी कति सुरक्षित ?

‘कस्मेटिक सर्जरी अरु विशिष्ट शल्यक्रियाभन्दा निकै सुरक्षित छ । भन्नुहुन्छ—‘सर्जरीपश्चात् सेवाग्राहीलाई अस्पताल भर्ना गर्नुपर्दैैन । जटिलता आउने सम्भावना निकै न्यून हुन्छ ।’

सेवाग्राहीको उच्च अपेक्षा

कतियय व्यक्ति फोटोमा भएजस्तै राम्रो बनाइदिन आग्रह गर्छन् । डा. मैनाली भन्नुहुन्छ—‘तर ठ्याक्कै त्यस्तै बनाउन सकिँदैन । तर जहिले पनि सेवाग्राहीको सन्तुष्टिमा केन्द्रित हुन्छौँ ।’

कस्मेटिक सर्जरीप्रति उच्च अपेक्षा हुनु स्वभाविक हो । कहिलेकाहिँ आफूले सोचे जस्तो नतिजा नआइदिँदा सेवाग्राहीहरू निराश हुन पुग्छन् ।

पारिवारिक पृष्ठभूमि

डा. मैनाली एक प्रतिष्ठित र जिम्मेवार परिवारको सदस्य हुनुहुन्छ । उहाँ सानै उमेरदेखि आफ्नो पिताको दुःख, संघर्ष र आदर्श पछ्याउँदै हुर्कनुभएको हो । डा. मैनालीका पिता उमेशप्रसाद मैनाली गृह सचिव र लोक सेवा आयोगको अध्यक्षसमेत हुनुहुन्थ्यो ।

पढाइमा अब्बल

डा. मैनाली सानै उमेरदेखि पढाईमा अब्बल हुनुहुन्थ्यो । कक्षा १ देखि नै निरन्तर प्रथम हुने भएकाले स्कूलले उहाँको शुल्क मिनाहा गरिदिन्थ्यो । वि.सं.२०५४ सालमा मिलन विद्या मन्दिर स्कूलबाट उत्कृष्ट अंक ल्याएर एसएलसी उत्तीर्ण गर्नुभयो । सानै उमेरबाट मेडिकल पेशाप्रति रूची थियो । सेन्ट जेभियर्स कलेजबाट साइन्स बायोलोजी लिएर आइएस्सी (प्लस टू) उत्तीर्ण गर्नुभयो । त्यतिबेला राम्रो अध्ययन गर्न चाहने विद्यार्थीलाई मेडिसिन र इन्जिनियरिङ मुख्य रोजाईको विषय हुन्थ्यो । त्यसपछि डा. मैनाली एमबीबीएस अध्ययन गर्न पाकिस्तान जानुभयो । एमबीबीएस सकेपछि छाला र सौन्दर्य विशेषज्ञतर्फ रूची बढ्न थाल्यो । उहाँले कस्मेटिक सर्जरीमा एमडी गर्ने निर्णय गर्नुभयो । त्यसपछि चाइनाको संघाइबाट प्लास्टिक सर्जरीमा डिग्री गर्नुभयो ।

कहिलेकाँही निराशा

उहाँ आफ्नो पेशाप्रति सन्तुष्ट हुनुहुन्छ ।

भन्नुहुन्छ—‘देशको अवस्था, समय र परिस्थिती अनुसार समायोजन हुँदै जानुपर्ने रहेछ । तर सम्बन्धित निकायको साथ सहयोग नपाउँदा कहिलेकाँही निराशा बनाउने रहेछ ।’

जिउने आधारः सन्तुष्टी

विभिन्न व्युटीपार्लरहरूमा अनुहार बिगारेर आएका सेवाग्राहीलाई उपचार गरेर पहिलाको जस्तै सुन्दर बनाएर पठाउन पाउँदा असाध्यै आनन्द अनुभव सुनाउनुहुन्छ डा. मैनाली । सेवाग्राहीले भेटेको बेलामा खुशी भएर सम्मान पाउँदा खुशी लाग्ने उहाँ बताउनुहुन्छ ।

‘विश्व जगतमा आएका नयाँ उपचार विधि, प्रविधि, अध्ययन अनुसन्धानसँग निरन्तर अपडेट भइरहनुपर्छ ।’

लोक सेवा नदिँदा परिवार दुःखी

लोक सेवा आयोगको परीक्षा नदिएको र विवाह गर्न ढिलो गरेको कुराले बुवा दुःखी हुनुहुन्थ्यो । सरकारी जागिर नभएपनि आफ्नै निजी क्लिनिकबाट हाल हजारौँलाई उपचार दिन सफल भएकोमा अहिले बुबाआमा खुशी हुनुहुन्छ । हालसालै मेरो बिवाह पनि भयो ।
(डा. मैनाली काठमाडौँ क्लिनिक अफ कस्मेटिक सर्जरीका संस्थापक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्