Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा वर्षेनी १८ हजार व्यक्तिको मृत्यु



जनस्वास्थ्य सरोकार, जनकपुरधाम । सुर्तीजन्य पदार्थको सेवनका कारणले नेपालमा वर्षेनी रुपमा १८ हजार व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालमा हुने कूल मृत्यु मध्ये १५ प्रतिशतको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा आज जनकपुरधाममा “नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन” सम्बन्धि पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सूतीजन्य पदार्थको सेवन गरेका कारणले मृत्यु हुने मध्ये २८ प्रतिशतको मृत्यु मुटु रोगका कारणले हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनले मुटुमा निक्कै प्रभाव पार्ने गरेको छ ।

वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डा. श्याम लम्सालले सुर्ती सेवनको नकारात्मक असर मान्छेको तालुदेखि पैतालासम्म हुने गरेको बताउनुभयो । यसको लतबाट जोगाउनका लागि उत्पादन तथा सेवनलाई निरुत्साहित गर्नका लागि नेपालमा सुर्तीजन्य पदार्थको नियमन सम्बन्धि कानुनहरू भएपनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धि कानून अनुसार सुर्तीजन्य पदार्थको बिक्री तथा वितरण सार्वजनिक स्थलमा गर्न नपाइने व्यवस्था भएपनि प्रभावकारी नियन्त्रण हुन सकेको छैन । खास गरेर सुर्ती जन्य पदार्थको बिक्री वितरण तथा सेवनका लागि निषेध गरिइएको ठाउँमा खुल्लमखुल्ला बिक्री वितरण हुने गरेको छ ।

सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, डान्सवास, सिनेमा घर, अस्पताल, पार्क, खेलमैदान, सार्वजनिक यातायात सहितको ठाउँमा सूर्तीनज्य पदार्थको सेवन, बिक्री वितरण पूर्ण रुपमा निषेध गरिइएको भएपनि सेवन गरेको पाइएको छ । यसका साथै अस्पताल, विद्यालय सहितका केही महत्वपूर्ण ठाउँको दुईसय मिटरमा बिक्री वितरणमा पनि निषेध गरेको छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी तथा पालिकामा प्रशासकीय अधिकृतलाई नियमन गर्ने अधिकारी तोकिएको छ ।

विश्वमा मृत्यु हुने ८० लाख व्यक्ति मध्ये सुर्ती जन्य पदार्थको सेवनका कारणले १२ लाखको मृत्यु हुने गरेको छ । यसको उत्पादन तथा सेवनलाई निरुत्साहित गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनले कम्तीमा पनि ७५ प्रतिशत कर लगाउन भने पनि नेपालले जम्मा ३३ प्रतिशत कर लगाएका छन् ।

बढी कर बङ्गलादेशले ७१, मालदिभ्सले ६९, श्रीलङ्काले ६६, पाकिस्तानले ५६ र भारतले ५४ प्रतिशत कर सुर्ती जन्य पदार्थको उत्पादनमा लगाए पनि नेपाल कम कर लगाउने देशमा रहेको जानकारी प्राध्यापक डा. लम्सालले जानकारी दिनु भयो । चुरोटको उत्पादन गर्ने कम्पनीले बट्टाको ९० प्रतिशतमा सेवनबाट हुने असर सम्बन्धि चित्र राख्नु पर्ने प्रावधान लागु भएपछि यसको मनोवैज्ञानिक असर परेको प्राध्यापक डा. लम्सालले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्