Logo
|
Saturday 27th April 2024
Logo

epaper

आँखाको देख्ने शक्ति मजवुद बनाउन पोषण

दैनिक खानामा काब्रोहाइड्रेट प्रोटिन, चिल्लो पदार्थ मिलाउने



विनिता पन्त, डायटिसियन

पाँच ज्ञानेन्द्रीय मध्ये आँखा एक महत्वपूर्ण अंगको रुपमा मानिन्छ । दृश्य विना दैनिकी कठिन हुन्छ । आँखाको देख्ने शक्तिलाई स्वस्थ र तन्दुरूस्त बनाउन गर्भावस्थादेखि नै खानामा पर्याप्त पौष्टिक तत्व हुनुपर्दछ । मानिसको प्रत्येक अंगको विकासमा सन्तुलित खाना जसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज पदार्थको मात्रा मिलेको हुनुपर्दछ । आँखालाई स्वस्थ र तन्दुरूस्त राख्न भिटामिन ‘ए’ को भूमिका महत्वपूर्ण हुने गर्दछ । यसका साथै लुटिन, जिआजान्थिन ओमेगा–३ फ्याटि एसिड, ओमेगा–६ फ्याटि एसिड, भिटामिन ‘सी’, भिटामिन ‘ई’, जिङ्क आदिको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ ।


भिटामिन ‘ए’
भिटामिन ‘ए’ को कमीका कारण आँखामा देखिने समस्या धेरै हुन्छ । भिटामिन ए को मुख्य काम अँध्यारोमा देख्न सहयोग गर्नु हो । भिटामिन ‘ए’ बाट शरीरमा जाने रेटिनोल रेटिनामा गएपछि रेटिनलमा परिवर्तन हुन्छ र प्रोटिनबाट बन्ने ओप्सिन सँग मिसिन्छ । सो रेडोप्सिन रेटिनाको रड भन्ने कोषमा रहन्छ । जब रेटिनामा प्रकाश पर्दछ, रड कोषिकामा रहेको रेडोप्सिन रेटिनल र ओप्सिन गरी दुई भागमा टुक्रिन्छ । त्यसबेला मस्तिष्कको दृश्य केन्द्रमा अप्टिक नर्भ फाइबरहरु मार्फत दृश्य देखिन्छ । भिटामिन ‘ए’ को कमी भएमा आँखाको रड कोषले काम गर्दैन र अँध्यारोमा देख्न सक्दैन । यसलाई रतन्धो भनिन्छ । त्यसैगरी भिटामिन ‘ए’ को कमीले आँखा सुख्खा हुनसक्छ । भिटामिन ‘ए’ का मुख्य खाद्य स्रोतहरूलाई जनावरीय र वनस्पतीय गरी दुई भागमा विभाजन गरिन्छ ।

जनावरीय स्रोतमा रेटिनोल पाइन्छ भने वनस्पतीय स्रोतमा क्यारोटिनको रूपमा पाइन्छ । हाम्रो दैनिक आवश्यकता पुरा हुन रेटिनोल भन्दा क्यारोटिन चार गुणा खानुपर्ने हुन्छ । भिटामिन ए का विभिन्न श्रोतहरू रहेका छन् ।


जनावरीय स्रोतः माछाको तेल, कलेजो, बटर, घ्यू, अण्डा, अण्डाको पहेँलो भाग, पाउडर दुध आदि ।


वनस्पतीय स्रोत: कर्कलाको पात, आँप, गाँजर, पुदिना, लुडेको साग, बन्दा, काउलीको पात, गाँजर, साँफको साग, स्कुसको साग, धनियाँको साग, मेथिको साग, तोरीको साग, पालुंगो, मुलाको साग, गुन्द्रुक एप्रिकोट, सुन्तला, मेवा, जाइफल, सुपारीको पात, वेथेको साग, पुदिना आदि ।


लुटिना र जिआजान्थिन: यो पहेँलो क्यारोटिन एन्टिअक्सिडेन्ट हो । यसलाई म्याकुलर पिग्मेन्ट पनि भनिन्छ । यसले आँखाको दृश्यलाई स्पष्ट गराउने काम गर्दछ । यो रेटिनाको केन्द्रको पछाडि रहेको हुन्छ । यसले घामबाट आएको निलो प्रकाशबाट आँखालाई बचाउने काम गर्दछ । यसका खाद्य स्रोतहरु पालुंगो, ब्रोकाउली, केराउ, सलाद साग, अण्डाको पहेंलो भाग, मकै, सुन्तला, हरियो फर्सी, किवी, अंगूर आदि । यो क्यारोटिन चिल्लो सँग संचित हुने र शोषण हुने हुनाले अण्डा र मकैलाई राम्रो स्रोत मानिन्छ ।


ओमेगा—३ फ्याटी एसिडः ओमेगा—३ फ्याटी एसिडमा पाइने डोकोसाइजोनिक भन्ने तत्व रेटिनामा हुन्छ । यसले रेटिनाको कार्यलाई राम्रो गराउँदछ । यो तत्वले एक वर्ष मुनिका बालबालिकाको मस्तिष्क र आँखाको विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यदि यो चिल्लोको कमी भएमा बच्चाको दृष्टिमा प्रभाव पार्दछ ।

वयस्कहरूको आँखालाई स्वस्थ राख्न ओमेगा—३ फ्याटी एसिडले सहयोग गरेको हुन्छ । यसका मुख्य स्रोतहरूमा चिसो पानीमा पाइने माछाको तेल, आलस, चियासिड, ओखर, भटमासको तेल, क्यानोला तेल आदि हुन् ।


ओमेगा—६ फयाटी एसिडः यसमा पाइने गामा लिनोलेनिक एसिड खानामा थोरै मात्रामा पाइन्छ । यसमा संक्रमणबाट जोगाउने शक्ति रहेको हुन्छ । यसले आँखालाई सुख्खा बनाउन दिँदैन । कालो जामून, हनुमान फल, प्रिमरोज तेल यसका स्रोतहरु हुन । नेपालमा यी खाद्य स्रोतहरु खासै प्रयोगमा आउदैनन् ।


भिटामिन ‘सी’
आँखा स्वास्थ्यका लागि एन्टिअक्सिडेन्टको भूमिका महत्वपूर्ण हुन्छ । यसले आँखाको बाहिरी तहमा रहेको पानीलाई सन्तुलन गराउँछ । मोतिविन्दु देखिएको आँखामा एन्टिअक्सिडेन्टको मात्रा कम रहेको हुन्छ । त्यसकारण भिटामिन सी भएको खानाले मोतिबिन्दु हुने सम्भावना कम हुन्छ ।

भिटामिन सी पाइने मुख्य खाद्य स्रोतहरूमा मेवा, अमला, ब्रोकाउली, पालुंगो, अम्बा, सुन्तला, किवी कागती अंगुर स्ट्रबेरी गोलभेडा, बन्दा काउली हरियो खुर्सानी कालो जामुन लिचि आदि हुन् ।


भिटामिन ‘ई’
हाम्रो आँखाको रेटिनामा विभिन्न फ्याटि एसिड रहेका हुन्छन् । भिटामिन ई ले रेटिनामा रहेका महत्वपूर्ण फ्याटी एसिड अक्सिकरण हुनबाट जोगाउँछ । यस भिटामिनले रेटिनालाई क्षयीकरण र मोतिविन्दु हुनबाट बचाउन मद्धत गर्छ । भिटामिन ई विभिन्न नट्स र तेलमा पाइन्छ । त्यसकारण दैनिक खानामा तेल प्रयोग गरी खाना पकाउँदा यो भिटामिनको कमी हुन पाउँदैन ।


जिङ्क
जिङक रेटिनामा दृश्यावलोकन गराउने पदार्थ बनाउन समाबेश हुन्छ । यदि यसको कमी भएमा रतन्धो पनि हुनसक्छ । मासु, माछा, गेडागुडी, नट्स बोक्रा सहितका अन्नहरु जिङ्क पाउने प्रमुख खाद्य स्रोतहरू हुन् । अतः आँखा स्वस्थ हुन माथिका पौष्टिक तत्वहरूको भूमिका अपरिहार्य मानिन्छ । हामीले दैनिक खानामा अन्य पौष्टिक तत्व काब्रोहाइड्रेट प्रोटिन, चिल्लो पदार्थ पनि मिलाएर खानुपर्छ । यसका लागि दैनिक सन्तुलित खाना खानुपर्दछ ।
(लेखक अल्का अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्