Logo
|
Friday 26th April 2024
Logo

epaper

अप्टिक न्युरोप्याथी एकः समस्या अनेक



डा. किपा वैद्य, सिनियर न्युरो अप्थाल्मोलोजिष्ट


न्यूरो अप्थाल्मोलोजी आँखाको नसाको रोग पहिचान र उपचार गर्ने एउटा सबस्पेशियालिटी विधा हो । यसले स्नायु प्रणालीबाट उत्पन्न हुने आँखाका समस्याहरू व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ । दृष्टि गुम्ने, दोहोरो दृष्टि, दृष्टी क्षेत्र दोषलगायत समस्या पहिचानका आधारमा उपचार शुरू गर्नुपर्छ । यसअन्तर्गत अप्टिक नर्भलाई असर गर्ने प्राविधिक तथा न्युरोलोजिकल रोगहरू पर्दछन् । अप्टिक नर्भ भनेको आँखाको नसा हो । आँखाको नसाको माध्यमबाट मस्तिष्कले इन्टरपिट गरेपछि मात्र हामी कुनै पनि वस्तु देख्न सक्दछौं ।

शरीरमा वा शरीरको नसा तथा मस्तिष्कमा केही समस्या भएमा आँखाको दृष्टिमा असर पर्नसक्छ । जस्तोः मस्तिष्क ट्युमरले आँखाको नसामा असर गरेमा दृष्य कमजोर हुँदै जान्छ र आँखाको दृष्टि परिधिमा असर गर्नसक्छ ।

यस विधा अन्तर्गत अप्टिक न्युराइटिस, प्यापिएडिमा, इस्केमिक अप्टिक न्यूरोप्याथी, दृश्य क्षेत्र दोष (मस्तिष्क ट्युमर, मस्तिष्क पक्षघात आदि) विभिन्न प्रकारका अप्टिक न्यूरोप्याथी (ट्रमाटिक, टक्सिक, न्युट्रेसनल आदि) क्रेनियल नर्भ पक्षघात आदि पर्दछन् । न्युरो अप्लाल्मिक रोग पहिचान गरिएको कारणका आधारमा उपचार हुने गर्छ । तसर्थ, हामीले न्यूरोलोजिस्ट, न्यूरोसर्जन, रेडियोलोजिस्ट, एन्डोक्रानोलोजिस्ट, फिजिसियन, मुटु रोग विशेषज्ञ आदिसँग सहकार्य गरेर काम गर्नुपर्छ । प्रायः देखिने न्युरो अप्थाल्मिक रोग विभिन्न प्रकारका हुन्छन् ।


अप्टिक न्यूराइटिस
यो अप्टिक नर्भमा भएको असरले अचानक दृष्टि कमजोर हुने समस्या हो । संक्रमण वा एक अटो इम्युन प्रतिक्रियाका कारण यस प्रकारको समस्या हुनसक्छ । अप्टिक न्यूराइटिस प्रायः मल्टिपल स्क्लेरोसिस (एमएस) सँग सम्बन्धित छ । यो एक प्रकारको न्यूरोलोजिकल रोग हो ।

प्यापिएडिमा
यस प्रकारको समस्यामा अप्टिक नर्भमा सुजन हुन्छ । मस्तिष्क भित्रबाट बढेको दबावका कारण अप्टिक नर्भ हेड सुजन हुन्छ । यो ब्रेन ट्युमर, लामो समयसम्म गर्भनिरोधकको प्रयोग, मेनिन्जाइटिस, इन्सेफलाइटिस जस्ता संक्रमणका कारण हुनसक्छ ।

टक्सिक वा न्युट्रेस्नल अप्टिक न्यूरोप्याथी
सुर्ति र रक्सीमा पाइने विषाक्त पदार्थका कारण अप्टिक नर्भमा क्षति पुग्न सक्छ । वास्तवमा अप्टिक नर्भको क्षति प्रायः पोषक तत्व, भिटामिन बी कम्प्लेक्स र फोलिक एसिडको कमीका कारण हुनसक्छ । केही औषधिहरू जस्तैः एन्टिट्युबरकुलोसिसले पनि अप्टिक नर्भलाई क्षति पुर्याउन सक्छ र दृष्टिमा ह्रास ल्याउन सक्छ ।

स्क्विन्ट वा स्ट्राबिस्मस
यस अन्तर्गत दोहोरो दृष्टिको समस्या हुनसक्छ । यो आँखाको एक वा बढी साना मांसपेशीहरूको पक्षाघातका कारणले हुनसक्छ । यसलाई पक्षाघात स्ट्राबिस्मस भनिन्छ । यस प्रकारको समस्यामा आँखाले ओकुलर मुभमेन्टको सीमितता देखाउँछ ।

यो शरीरका रोग जस्तैः उच्च रक्तचाप, मधुमेह तथा मस्तिष्क ट्युमर आदि रोगहरूका कारण हुनसक्छ । त्यसैले, हामीले अन्तर्निहित रोगहरूलाई पनि नियन्त्रण गर्न आवश्यक पर्छ ।

ट्रान्ससाइन्ट भिज्युअल लस
यो एक वा दुवै आँखाको दृष्य केही समयका लागि पूर्ण रूपमा गुम्ने समस्या हो । केही समयपछि दृष्टि सामान्य अवस्थामा फर्किन्छ । यदि दृष्टि सामान्य अवस्थामा फर्किएपनि आँखा, मस्तिष्क, वा रक्त नलीहरूको गम्भीर असामान्यताको संकेत हुनसक्छ जुन स्थायी दृष्टिमा हानि वा मस्तिष्क स्ट्रोकको सम्भावना पनि हुनसक्छ । त्यसैले यसको तुरून्त उपचार गर्न जरूरी हुन्छ ।

एन्टेरियर इस्केमिक अप्टिक न्युरोप्याथी (एआईओएन)
यस प्रकारको समस्यामा अप्टिक स्नायुमा क्षति पुग्छ र विना पीडा अप्टिक नर्भ सुन्निएर दृश्य कमजोर हुने गर्छ ।

मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, स्लीप एपनियाको समस्या र धुम्रपान गरेर भास्कुलर जोखिम बोकेका व्यक्तिहरूमा बढी हुने सम्भावना रहन्छ । तसर्थ, भास्कुलर जोखिमका कारकहरू नियन्त्रण गर्न आवश्यक हुन्छ ।

ट्रमाटिक अप्टिक न्यूरोप्याथी
यो अप्टिक नर्भमा प्रत्यक्ष वा अप्रत्यक्ष आघातबाट दृष्टि गुम्ने समस्या हो । टाउको वा आँखामा गम्भीर चोटपटक आदि कारणले यस प्रकारको समस्या हुनसक्छ । एकपटक अप्टिक नर्भमा क्षति पुगेपछि उपचार गर्दा पनि दृष्टि निको हुन गाह«ो हुन्छ । त्यसैले रोकथाम उपचार भन्दा पनि राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्