Logo
|
Saturday 11th May 2024
Logo

epaper

‘अप्थाल्मिक क्षेत्रमा जनशक्ति व्यवस्थापनमा समस्या छ’

मुलुकमा ४२० जना रजिष्टर्ड अप्थाल्मिक चिकित्सक, करिब ४७७ जना अप्टोमेट्रिक र करिब ९५० नेत्र सहायक



प्रा. डा. मिनु चौधरी, अध्यक्ष / नेपाल अप्थाल्मिक सोसाइटी

नेपालमा भारतभन्दा आँखाको उपचार निकै राम्रो मानिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डको दृष्टिकोणबाट पनि नेपालमा आँखा उपचार सेवा धेरै राम्रो छ । सेवाको दृष्टिले समस्या छैन । तर प्राज्ञिक शिक्षा र अनुसन्धानको क्षेत्र कमजोर छ । यस क्षेत्रमा जनशक्तिको पनि कमी छ । त्यतातिर राज्यको त्यति ध्यान पुगेको देखिदैन । केही निजी र सरकारी कलेजहरूमा अध्ययन अध्यापन भइरहेको भएपनि पर्याप्त छैन । नेपालमा ४२० जना रजिष्टर्ड अप्थाल्मिक चिकित्सक, करिब ४७७ जना अप्टोमेट्रिक र करिब ९५० नेत्र सहायक रहेका छन् ।


नीजि मेडिकल कलेजहरूमा रेजिडेन्ट डाक्टर गए पनि बिरामीको अभाव रहन्छ । यसले शिक्षण सिकाइमा समस्या उत्पन्न भएको छ । अध्ययन–अध्यापन गराउने ठाउँमा सेवा पनि हुनुपर्छ । सरकारले रेजिडेन्सहरूलाई निःशुल्क छात्रवृतिमा अध्ययन गराउने भनेको छ । उनीहरूले २ वर्ष अनिवार्य रूपमा सरकारी अस्पतालमा काम गर्नुपर्छ । तर अस्पतालहरूमा आँखा उपचारका लागि आवश्यक पर्ने उपकरण पनि हुँदैन । कसरी पढाउने ? बजेट समान रूपमा वितरण गर्नुपर्छ ।


नेपालमा हरेक वर्ष २०/२५ जना एमडी अप्थाल्मिक डाक्टर उत्पादन भइरहेका छन् । तर उत्पादन भएका जनशक्तिको व्यवस्थापनमा समस्या छ ।


सबैजना राजधानी केन्द्रित हुन चाहन्छन् । सुरूका दिनमा नेपाल नेत्र ज्योति संघ मातहतका अस्पतालमा जाने गर्थे । सीपका लागि भने पनि ‘एक्सपोज’ हुने अवस्था थियो । तर सस्तो जनशक्तिका रूपमा काम गर्नुपर्ने बाध्यता छ । फेलोसिप पाउन पनि गा–हो छ । सरकारी स्तरबाट सञ्चालित आँखा अस्पताल छैन । यसका लागि सरकारले पहल लिनुपर्छ ।


सामान्य काम गर्न सक्ने वातावरण बनाउनु पर्छ । सरकारले दरबन्दी सृजना गरेको छैन । सरकारले पनि सबैलाई प्राज्ञिक सिट दिएर मात्र हुदैन । निश्चितताकोे सीमाङ्कन पनि तोक्नुपर्छ ।


भारतको अल इण्डिया इन्स्टिच्युट अफ अप्थाल्मोलोजीमा ४ वटा सिट मात्र छ । पिजीआई चण्डिगढमा पनि त्यही हो । सीट संख्या बढाएर मात्र हुँदैन । गुणस्तर नियन्त्रण आवश्यक पर्छ । काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको समान पाठयक्रम भए पनि गुणस्तर भने छैन । परीक्षाको ढाँचा पनि फरक छ । हरेक चिज फरक छ ।
(प्रा.डा. चौधरी चिकित्सा शास्त्र अध्ययन संस्थान विपी कोइराला लाइन्स सेन्टर फर अप्थाल्मिक स्टडिजमा प्राध्यापन गर्नुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्