Logo
|
Wednesday 1st May 2024
Logo

epaper

के हो मानसिक समस्या ? प्रकार, लक्षण, उपचार र रोकथामका उपाय



आज अक्टोबर १० अर्थात विश्व मानसिक स्वास्थ्य दिवस । यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवस पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै विश्वभरी नै मनाइंदैछ । सन् १९९२ देखि मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवस यो वर्ष पनि ‘मानसिक स्वास्थ्य एक विश्वव्यापी मानव अधिकार हो’ भन्ने विषयमा आधारित भएर मनाइंदै छ । यसलाई विश्व स्वास्थ्य संगठनले ‘हाम्रो मन, हाम्रो अधिकार’ भन्ने नाराको रुपमा अघि सारेको छ । यसरी मनाइने दिवसले हामी बस्ने संसारलाई बस्न उपयुक्त बनाउनका लागि हाम्रा प्रयासहरूलाई पुनः प्रज्वल्लित गर्ने अवसर प्रदान गर्नेछ भन्ने आशा गर्न सकिन्छ । यस विश्व मानसिक स्वास्थ्य दिवसलाई मानिसहरू र समुदायका लागि मानसिक स्वास्थ्य सम्बन्धि ज्ञान बढाउन, जनचेतना जगाउन र हरेक मानिसको मानसिक स्वास्थ्य एउटा मानव अधिकारको रुपमा प्रर्वधन र संरक्षण गर्ने कार्यका लागि अवसर पनि मानिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइंदै छ ।

के हो मानसिक स्वास्थ्य ?

सामान्यतया स्वास्थ्य र रोगको कुरा गर्दा हामी प्रायले शारीरिक स्वास्थ्य र शरीरमा लाग्ने विभिन्न रोगहरूको बारेमा मात्र बुझ्ने गर्छौँ । मानसिक स्वास्थ्यको बारेमा प्राय हाम्रो ध्यान नै गएको हुँदैन । तर, हामीले के बुझ्नु जरुरी छ भने स्वास्थ्य भन्ने बित्तिकै शारीरिक तथा मानसिक स्वास्थ्य दुवै एकसाथ जोडिएर आउने विषय हो र एउटा व्यक्ति स्वस्थ रहनका लागि यी दुवै तवरबाट स्वस्थ हुनुपर्दछ ।

शारीरिक र मानसिक रुपमा तन्दुरुस्त मान्छेलाई मात्र स्वस्थ मान्छे मान्न सकिन्छ । त्यसैले मानिसलाई लाग्ने रोग वा स्वास्थ्य समस्या पनि दुइ किसिमका हुन्छन् । शारीरिक र मानसिक । सामान्य अर्थमा भन्नु पर्दा प्रत्यक्ष रुपमा शरीरलाई असर गर्ने समस्याहरूलाई शारीरिक समस्या वा रोग भनिन्छ, जस्तै, उच्च रक्तचाप, मधुमेह, झाडापखाला, मोतियाबिन्दु, मुटुको समस्या, हाडजोर्नीको समस्या आदि ।

मनलाई असर गर्ने समस्याहरूलाई मानसिक समस्या वा मानसिक रोग भनिन्छ, जस्तै डिप्रेसन, एन्जाईटी (आत्तिने समस्या), लागूपदार्थ दुव्र्यसनी, पर्सनालिटी डिसअर्डर (व्यक्तित्त्व विकार), स्किजोफ्रेनिया आदि ।

मानसिक समस्या पनि दुइ किसिमका हुन्छन् । कडा किसिमको मानसिक समस्या र सामान्य किसिमको मानसिक समस्या कडा किसिमको मानसिक समस्या जस्तै स्किजोफ्रेनिया, मेनिया, बाइपोलार डिसअर्डर आदि हुँदा बिरामिलाई आफू बिरामी छु भन्ने पनि चेतना हुँदैन । त्यसै गरी अलि सामान्य किसिमको मानासिक समस्या जस्तैः एन्जाइटी (मन आतिने समस्या),फोबिया (कुनै चिजदेखी डरलाग्ने समस्या), पि.टी.एस.डी. आदि हुँदा बिरामीलाई आफूमा समस्या छ भन्ने कुरा थाहा हुन्छ ।

त्यसो त शारीरिक र मानसिक समस्या एक अर्काको कारकको रुपमा रहन पनि सक्छन् । तर पनि जब हाम्रो स्वास्थ्यको सवाल आउँछ, हामीले बुझ्नुपर्ने कुरा के हो भने शारीरिक र मानसिक दुबै स्वास्थ्यलाई उत्तिकै महत्त्व दिनु हाम्रो सु-स्वास्थ्यप्रतिको दायित्त्व हो ।

मानसिक रुपमा स्वास्थ हुनु भनेको मानसिक समस्याहरू नहुनु मात्र होइन । बरु यो त तन्दुरुस्तीको त्यो अवस्था हो, जसले मानिसलाई जीवनमा आइपर्ने तनावको सामना गर्न, आफ्नो क्षमताहरू महसुस गर्न, राम्रोसँग सिक्न र राम्रोसँग काम गर्न सक्षम बनाउँछ ।

यो मानिसको समग्र स्वास्थ्य र तन्दुरुस्तीको अभिन्न अंग हो, जसले निर्णय गर्न, हामी बस्ने संसारलाई आफू अनुकूल उपयुक्त स्वरुप दिन र हाम्रो व्यक्तिगत तथा सामूहिक क्षमताहरूलाई बलियो बनाउनुका साथै केही गर्नका लागि हामी भित्र उर्वरता समेत उत्पन्न गराउँछ । मानसिक स्वास्थ्य एउटा आधारभूत मानव अधिकारको विषय पनि हो र यो व्यक्ति, समुदाय तथा सामाजिक–आर्थिक विकासको लागि निकै महत्त्वपूर्ण पनि छ । मानसिक स्वास्थ्य अन्तर्गत व्यक्तिको भावनात्मक, मनोवैज्ञानि र सामाजिक पक्षको अवस्था पर्दछन् । अझ भन्नुपर्दा व्यक्तिको मनोसामाजिक अवस्थाले उसको मानसिक स्वास्थ्यलाई निर्धारण गर्दछ ।

मन, शारीर र समाजबीचको अन्तर सम्बन्धको अवस्थालाई मनोसामाजिक अवस्था भनिन्छ । यदि मन, शरीर र समाजबिचमा उपयुक्त तालमेल भएन भने व्यक्तिको मन खिन्न भइ विभिन्न मनोसामाजिक समस्या उत्पन्न हुन्छ । मानसिक स्वास्थ्यको महत्त्व यस कारणले पनि छ कि मान्छेले गर्ने सामान्य दैनिक क्रियाकालप देखि ठूला ठूला ऐतिहासिक कार्यहरू समेतलाई उसको मानसिक स्वास्थ्याले प्रत्यक्ष वा परोक्ष प्रभाव पारेको हुन्छ ।

संसारमा जति पनि कला, संस्कृति, धर्म, राजनीति, आविस्कार, प्रविधिको विकास, भौतिक उन्नति अथवा समग्रमा भन्नु पर्दा मानव सभ्यताको विकास भएको छ, ती सबैलाई मान्छेको मनोविज्ञानको उपज मान्न सकिन्छ । मानसिक स्वास्थ्य समस्याले मानसिक विकारहरू,मनोसामाजिक समस्याहरू, मानसिक कठिनाई, कार्य सम्पादनमा कमजोरी, स्वयमलाई हानी गर्न सक्ने जोखिम जस्ता अवस्थाहरूलाई सृजना गर्न सक्छ यदि व्यक्ति मानासिक रुपमा स्वस्थ छैन भने उसका लागि यो संसार नै निरस एवं नर्कतुल्य हुन जान्छ ।

मानसिक रुपमा विछिप्त व्यक्तिका लागि संसारको जुनसुकै कुरा पनि महत्वहीन, मूल्यहीन लाग्छ । उत्साह हराउँछ, केही गर्न मन हुदैन, जिन्दगी नै व्यर्थ लाग्छ, हरेक कुरासँग झर्को लाग्छ । कुनै चीज प्राप्तिको इच्छा लाग्दैन, आशा जाग्दैन । समग्रमा भन्नुपर्दा यदि हामी मानसिक रुपमा स्वस्थ हुन सकेनौं भने केही गर्न त मुश्किल पर्छ नै जिन्दगि नै एक किसिमले व्यर्थ महसुस हुन्छ ।

त्यसैले हाम्रो जिन्दगीमा शारीरिकसँगै मानासिक स्वास्थ्यको महत्त्व अतुलनीय छ । मानसिक र शारीरिक रुपमा स्वस्थ व्यक्तिका लागि यो जीवन निकै अर्थपूर्ण हुन्छ ।

मानसिक समस्याका लक्षणहरू

मानसिक रोगको पनि शारीरिक रोग जस्तै विभिन्न लक्षणहरू हुने गर्दछन् । मानसिक रोगले खास गरी व्यक्तिको भावना, विचार र व्यवहारमा प्रभाव पार्ने हुनाले कुनै पनि व्यक्तिले देखाउने व्यवहार, विचार तथा भावनात्मक अवस्थाको अध्ययन, विश्लेषण गरी उसलाई मानसिक रोग लागेको छ कि छैन, लागेको छ भने कत्तिको गम्भीर अवस्थामा छ भनेर पहिचान गरिन्छ ।

त्यसको साथै आवश्यकता अनुसार विभिन्न मनोवैज्ञानिक परीक्षण पनि गरिन्छ । मानसिक रोग लागेका व्यक्तिले देखाउने संकेत र लक्षणका उदाहरणहरू यस्ता हुन् सक्छन ।

  • दुखी हुने वा निराशा देखिने
  • अप्रत्यासित रुपमा भाव वा सुर परिवर्तन भइ कहिले उच्च र कहले निम्न मनोदशामा रहने
  • साथीभाइदेखि टाढा हुने तथा आफूले सधै गर्ने क्रियाकपल पनि गर्न छोड्ने
  • एकदम थाक्ने, कम्जोर महसुस हुने वा बढी सुतिरहने र सुतिरहन मन लाग्ने
  • अवास्तविक कुरा गर्ने वा बेसुरा कुरा गर्ने, दिग्भ्रमितरभ्रामक कुरा गर्ने
  • दैनिक आइपर्ने समस्या समाधान गर्न तथा तनाव सामना गर्न असक्षम हुने
  • सम्बन्धित परिस्थिति र अरुलाई बुझ्न समस्या हुने
  • लागू पदार्थ वा मादक पदार्थ प्रयोग सम्बन्धि समस्या हुने
  • आत्महत्या गर्ने सोच आउने
  • यौन चाहनामा परिवर्तन आउने
  • दुविधा उत्पन्न हुने र कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुने
  • अत्याधिक डर र चिन्ता उत्पन्न हुने एकदम हिन भाव मन आइरहने
  • निन्द्रा निद्रा हराउने

कहिलेकाहीँ मानसिक रोगका संकेत तथा लक्षणहरू शारीरिक समस्याहरूको रुपामा देखा पर्न सक्छन जस्तै, पेट दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, वा अन्य अस्पष्ट दुखाइ र पीडाहरू समत हुने गर्दछन् ।

शारीरिक रोगको जस्तै मानसिक रोगको पनि उपचार संभव छ । बेलैमा उपचार गर्ने हो भने मानसिक समस्यालाई समाधान गर्न सकिन्छ । धेरै जसो मानसिक समस्याहरू आफैँ निको हुँदैनन् र त्यसलाई बेलैमा समाधान गरिएन भने त्यो बढ्दै गइ अझै गम्भीर समस्या उत्पन्न हुनसक्छ ।

मानसिक समस्याका कारण मानसिक रोगहरू सामान्यतया विभिन्न आनुवंशीय तथा वातावरणीय कारक तत्त्वले गर्दा हुने मानिन्छ ।

वंशाणुगत गुणहरू

कतिपय अवस्थामा रगतको नाता सम्बन्धका पुस्तामा मानसिक रोग हुँदा पनि उसका सन्ततीमा मानसिक रोग बढी देखिने संभावना हुन्छ । केही यस्ता ‘जीन’ पनि हुन्छन जसले मानसिक रोगको विकासको जोखिम बढाउन सक्छ, र व्यक्तिको जीवनको कुनै परिस्थितिले मानसिक समस्यालाई उत्पन्न गराइदिन सक्छ ।

जन्मनु अघिको वातावारणीय जोखिम

बच्चा गर्भंमा हुँदा नै आमा वातावरणीय तनावमा रहेको अवस्थामा पनि जन्मने बच्चामा मानसिक समस्या उत्पन्न हुने, विषाक्त पदार्थ, मादक पदार्थ वा लागू पदार्थको सेवन आदि गर्नुसँग पनि मानसिक समस्या जोडिएर आएको हुन सक्छ ।

मस्तिष्क रसायन

न्युरोट्रान्समिटरहरू प्राकृति रुपमा मस्तिष्कमा पाइने रसायनहरू हुन् जसले हाम्रो मस्तिष्क र शरीरका अन्य भागमाहरूमा संकेत लैजान्छ । जब यी रसायनहरू समावेश भएका तंत्रिका नेटवर्कहरू कमजोर हुन्छन, स्नायु रिसेप्टरहरू र स्नायु प्रणालीहरूको कार्य परिवर्तन हुन्छ, जसले डिप्रेसन र अन्य भावनात्मक समस्याहरू निम्त्याउँछ। सामान्य रुपमा भन्नुपर्दा यस्ता रसायनको उत्पादनमा गढबढ वा असन्तुलन हुँदा पनि मानसिक समस्याहरू उत्पन्न हुने गर्दछन् ।

त्यसै गरी केही करकहरूले मानसिक समस्याको विकासलाई बढाइदिन्छ, केही त्यस्ता कारकहरूलाई यहाँ उल्लेख गरिएको छ

  • आमा बुबा दाजुभाइ आदिमा रोग लागेको इतिहास छ भने त्यो पनि जोखिमको कारक हुन सक्छ ।
  • एकदम समस्या भइरहने दिर्घ रोग झेलिरहनु परेको अवस्था
  • कुनै गम्भीर दुर्घटनाको कारणले मस्तिष्कमा क्षेती पुगेको अवास्था
  • मादक पदार्थको प्रयोग वा लागूपदार्थको प्रयोग
  • बाल्यकालमा दूव्र्यवहारमा परेको र निकै नै उपेक्षित भएर बाँच्नु परेको इतिहास भएको अवस्था
  • पहिले कुनै मानसिक समस्या भएर निको भएको अवस्था
  • तनावपूर्ण परिस्थितिहरू झेलिरहनु परेको अवस्था तथा आर्थिक समस्याहरू, आफ्नो नजिकको प्रिय मान्छेको मृत्यु वा प्रियजनसँगको बिछोड, सम्बन्ध बिच्छेद आदि ।

मानसिक रोग समस्यालाई यस हिसाबले सामान्य मानिन्छ किन कि अधिकांशलाई जीवनको कुनै पनि समयमा हुनसक्छ । कुनै पनि उमेरमा ५ मध्ये १ वयस्कलाई मानसिक समस्याबाट गुज्रिएको हुन्छ भनिन्छ । मानसिक रोग जुनसुकै उमेरमा पनि सुरु हुन सक्छ, बाल्यकालदेखि वयस्क, वृद्ध अवस्थासम्म तर धेरैजसो जीवनको सुरुका उमेरहरूमा नै हुन्छ । मानसिक रोगको असर क्षणिक वा दिर्घकालिन पनि हुन सक्छ भने एकै पटकमा एक भन्दा बढी मानसिक रोग पनि हुन सक्छ ।

जस्तै डिप्रेसन भएको मान्छेमा लागूपदार्थ दूर्वेसनीको समस्या पनि हुनसक्छ । व्यक्तिको असक्षमताको प्रमुख कारण मानसिक रोग हुनसक्छ । बेलैमा सही समाधान नगरिएमा मानसिक रोगले व्यक्तिमा गम्भीर भावनात्मक, व्यवहारगत र शारीरिक समस्या समेत निम्त्याउन सक्छ ।

मानसिक समस्याले व्यक्ति स्वयमलाई र उसको जीवनलाई त असर गर्ने नै भयो त्यसका साथै उसको परिवार तथा आफन्तमा समेत यसले नकारात्मक प्रभाव पारेको हुन्छ । व्यक्तिको जीवनामा कहिलेकाहीं मानसिक समस्याका कारण जीवनका अन्य विभिन्न आयामहरूमा पनि जटिलताहरू उत्पन्न हुने गर्दछन् ।

  • दुखी हुनु र जीवनको आनन्दमा घट्नु
  • पारिवारिक कलह बढ्नु
  • सामाजिक रुपमा अलग हुनु
  • सम्बन्धमा कठिनाइ उत्पन्न हुनु
  • धुमपान, मादक पदार्थ तथा लागू पदार्थको समस्या उत्पन्न हुनु
  • कानुनी तथा आर्थिक समस्या उत्पन्न हुनु
  • काम, अध्ययन तथा अन्य महत्त्वूर्ण कुराहरू छुट्नु
  • आफैं र अरुलाई हानी गर्नु, विष सेवन गर्नु वा आत्महत्या गर्नु
  • रोग प्रतिरोधात्मक क्षमता घट्नु जसले गर्दा विभिन्न सक्रमणबाट बच्न गाह्रो हुनु
  • मुटु रोग लगायत अन्य स्वास्थ्य समस्याहरू समेत निम्तनु

उपचार

मानसिक रोगको उपचार गर्दा पहिले कुन किसिमको मानासिक रोग लागेको छ वा समस्या भएको छ भनेर थाहा हुनु पर्दछ । त्यसैले पहिले मानसिक रोगको पहिचान गरिसकेपछि मात्र त्यसका लागि कस्तो किसिमको उपचार र थेरापीको प्रयोग गर्ने हो निर्धारण गर्न सकिन्छ । मान्छेलाई हुने मानसिक समस्याहरू पनि भिन्न भिन्न किसिमका वा वर्गका हुन्छन् । फरक किसिमका रोगका लागि फरक उपचार पद्धतिको आवश्यकता पर्दछ । त्यस्ता वर्गहरूमा मुख्य गरी न्युरोडिभ्लापमेन्टल डिसअर्डर, स्किजोफ्रेनिया र साइकोटिक डिसअर्डर, बाईपोलार तथा समबन्धित डिसअर्डर, डिप्रेसन, एन्जाइटी, ओ.सी.डि., पी.टी.एस.डि डिसअर्डर आदि हुन् । यस्ता विभिन्न रोग (समस्याहरू) मध्ये कुन रोग लागेको हो निर्धारण भइसकेपछि त्यसको गम्भिर्यतामा उपचार निर्भर रहन्छ ।

सामान्य, मध्यम वा गम्भीर कुन किसिमको मानसिक स्वास्थ्य समस्या हो त्यही अनुसार उपचार गरिन्छ । त्यसका लागि समस्या भएका व्यक्तिले स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा जानु पर्दछ । मानसिक समस्यालाई विभिन्न उपायद्वारा उपचार गरिन्छ ।

कतिपय अवस्थामा सामान्य मनोवैज्ञानिक परामर्शले मात्र पनि ठिक हुन्छ भने कतिपय अवस्थामा औषधि खानुपर्ने हुन्छ । र कतिपय समस्यामा त औषधि, मनोवैज्ञानिक परामर्श तथा साइकोथेरापीको पनि संयुक्त प्रयोग गर्नुपर्ने हुन्छ । साधारणतया सबै पद्धतिको प्रयोग द्वारा गरिको उपचार बढी प्रभावकारी हुने गर्दछ ।

औषधिको प्रयोग

मनोसित्सकीय औषधिले मात्र मानसिक रोगलाई निको नगरेता पनि यस्तो औषधिको प्रयोगले उल्लेख्य सुधार गर्न सक्छ । यसले साइकोथेरापी जस्ता मनोपचारलाई प्रभावकारी बनाउन सहयोग गर्छ । मानसिक समस्याहरूको उपचारमा प्रयोग हुने विभिन्न औषधिहरूमध्ये केही यस प्रकार छन् ।

एन्टीडिप्रेसेन्ट

यो प्राय डिप्रेसन, एन्जाइटी (आत्तिने रोग) हरूमा प्रयोग गरिन्छ । यसले दुखी हुने, निराश हुने, शरीरमा शक्ति नै नभएको महसु हुने, ध्यान नै केन्द्रित गर्न नसकिने, केही गर्न पनि रुची नहुने जस्ता लक्षणहरू सुधार गर्न सहयोग गर्छ । यो औषधि लत लाग्ने तथा निर्भरता बढाउने किसिमको औषधि भने होइन ।

एन्टी एन्जाइटी मेडिकेशन

यो औषधि खास गरी एन्जाइटी (मन आत्तिने) समस्या तथा प्यानिक (अत्यासिने) समस्याको लागि प्रयोग गरिन्छ । यो लामो समय खाँदा निर्भारता बढाउन सक्ने भएकाले छोटो समयको समस्या समाधन गर्नका लागि प्रयोग गरिन्छ ।

मुड स्टेबिलाइजर

कहिले एकदम उन्माद हुने र कहिले निराश हुने मानसिक समस्यामा यो औषधि प्रयोग गरिन्छ । त्यसै गरी एन्टी साइकोटिक औषधि पनि साइकोटिक समस्या भएका बिरामीलाई उपचार गर्न प्रयोग गरिन्छ ।

यी सबै किसिमका औषधिहरू बिरामीले आफू खुसी खानु हुँदैन, डाक्टरको सल्लाह अनुसार खानुपर्छ, र डाक्टरले तोकेको समयसम्म खानुपर्छ । आफू खुसी बिचमा छोड्ने र मात्रा थपघट गर्ने गर्नु हुँदैन । यदि त्यसो गरिएमा समस्या निको नहुने मात्र होइन अन्य समस्या पनि उत्पन्न हुन सक्छ ।

साइकोथेरापी (मनोचिकित्सा)

मानसिक समस्याको उपचार गर्दा औषधिको साथसाथै साइकोथेरापी (मनोचिकित्सा उपचार) लाई पनि अपनाउनु पर्दछ । ‘साइको’ भनेको मन र ‘थीरापी’ भनेको उपचार भन्ने हुन्छ, अर्थात ‘साइकोथेरापी’को अर्थ मनको उपचार भन्ने हुन्छ । यस उपचार पद्धतिमा बिरामी र थेरापिस्टबिच बातचित भइ उपचार गरिने भएकाले यसलाई ‘बातचित थेरापी’ पनि भनिन्छ ।

यो यस्तो मनोचिकित्सा पद्धति हो जसमा औषधिको प्रयोग बिना नै विशेष सीप हासिल गरेका थेरापिस्ट र मनोविदबाट बिरामीको विचार, व्यवहार र मनको अवस्थालाई सामान्य अवस्थामा ल्याउने प्रयास गरिन्छ ।

थेरापीको अवधिमा बिरामीले आफ्नो मानसिक अवस्था, भावना, विचार तथा व्यवहारको बारेमा ज्ञान हासिल गरी आफ्नो समस्याको सामना गर्ने र तनाव व्यवस्थापन गर्ने सीप सिकी आफूमा प्रयोग गर्न सक्दछ ।

यप उपचार पद्धति अन्तर्गत पनि साइकोडाइनामिक थेरापी, कग्ननिटिभ थेरापी, व्यवहारिक थेरापी जस्ता पद्धति पर्छन् । यी छुट्टाछुटै वा मिश्रित रुपमा पनि प्रयोग गरेको पाइन्छ । मानसिक समस्या लुकाउनु हुँदैन आफ्नो मनले विश्वास गरेको मान्छेसँग खुलेर भन्नु पर्छ । सही तरिकाले औषधि सेवन र थेरापीरपरामर्शले निको हुने समस्या भएकाले बेलैमा समाधानतर्फ लाग्नुपर्छ । सबैले आफ्नो लागि गर्न सकिने सामान्य प्रयासले पनि हामी मानसिक रुपमा स्वस्थ रहन सक्छौं ।

  • व्यायाम, योग ध्यान गर्ने र सक्दो सन्तुलित र प्राक्रितिक भोजन गर्ने
  • फुर्सद हुनासाथ आफूलाई खुसी र रमाइलो लाग्ने क्रियाकलापमा व्यस्था हुने
  • आनावश्यक तनाव र भद्रगोल जिन्दगीबाट टाढा रहने सकभर व्यवस्थित र सरल जीवन रोज्ने
  • आफूले विगतमा गरेका नराम्रा काम नदोहोर्र्याउने र त्यसबाट टाढा बस्ने
  • गीतसंगीत सुन्ने, प्राकृतिक वातावारमा घुम्ने, जीवनमा खुसी, शान्ति जस्ता विषयलाई प्रथामिकता दिने
  • आफ्नो वरपरको वातारणलाई स्वस्च्छ र अनुकूल बनाउने, मनमा धेरै कुरा नखेलाउने
  • भूत र भविष्यको चिन्ता गर्ने बानी नगर्ने र वर्तमानमा सहज हुने सीपको विकास गर्ने

(यस लेखका लेखक राम कृष्ण बोगटीले त्रिभुवन विश्व विद्यालयबाट क्लिनिकल साइकोलोजिमा मास्टर्स गर्नु भएको छ । लामो समयदेखि अध्यापन पेशामा रहनु भएका उहाँ मानसिक स्वास्थ्यको क्षेत्रमा पनि सरिक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्