Logo
|
Sunday 28th April 2024
Logo

epaper

जिन्दगीभर ह्वीलचेयरमा पुुर्याउनसक्ने ‘स्पाइनल कर्ड इन्जुरी’:सावधानी, उपचार र पुनःस्र्थापना

स्पाइन इन्जुरी भएका करिब ८० देखि ९० प्रतिशत बिरामी सामान्यदेखि दीर्घकालीन डिप्रेसनमा जानसक्छन्



डा. प्रकाश काफ्ले, न्युरो सर्जन/सह–प्राध्यापक

हामीले दुर्घटनाबाट मेरुदण्डमा चोट लागेर जिन्दगीभर ह्वीलचेयरको सहारामा बाँचिरहेका धेरै व्यक्ति देखिरहेका छौं । सडक दुर्घटना, लडेर, अग्लो स्थान जस्तै रुख, भीर वा घरको छतबाट खसेर, पौडी खेल्दा डाइभिङ नमिलेर वा कुनै कारणले ढाडको हड्डीमा दबाब परेर स्पाइनल कर्ड इन्जुरी हुनसक्छ । यस्तै सांघातिक आक्रमण, गोली लागेर वा विस्फोटमा पर्दा पनि स्पाइनल कर्ड इन्जुरी हुनसक्छ । स्पाइनल कर्ड इन्जुरीका घटनामा स्पाइन (मेरुदण्ड) मा मात्रै चोट लागेको हुँदैन । अरू सहायक इन्जुरी पनि हुनसक्छन् । स्पाइनल कर्ड इन्जुरीमा छाती, पेट, आन्द्रा, मुख र दाँतमा पनि चोट लाग्ने सम्भावना बढी हुन्छ ।


जटिल समस्याको कारक
स्पाइनल कर्डको माध्यमबाट सम्पूर्ण शरीरसँग मस्तिष्कको सम्पर्क–समन्वय हुन्छ । शरीरको कुनै भाग चलाउन स्पाइनल कर्डबाट सेन्सेसन मस्तिष्कसम्म आउँछ । स्पाइनल कर्ड इन्जुरी हुँदा यस्तो सेन्सेसन मस्तिष्कसम्म लैजान र ल्याउने इन्द्रीय विफल भइदिन्छन् । पूर्णरूपमा चोट लागेको अवस्थामा तल्लो शरीर नचल्ने हुनसक्छ । जस्तोः घाँटीमा चोट लागेमा घाँटीभन्दामुनी हातखुट्टा नचल्ने र सास फेर्न गाह्रो हुनसक्छ । पिठ्युको ढाडमा चोट लागेमा खुट्टा चल्दैन । यसमा आधा शरीर प्यारालाइसिस पनि हुनसक्छ । यसको ‘ए’ देखि ‘इ’ सम्म ग्रेड छुट्याइएको हुन्छ । ‘ए’ ग्रेडमा पूर्णरूपमा केही थाहा नपाउने र ‘इ’ भनेको चोट लागेको तर ‘न्युरल स्ट्रक्चर ड्यामेज’ नभएको भन्ने बुझिन्छ ।


उद्धारमा उच्च सावधानी


स्पाइनमा चोट लागेको बेलामा घटनास्थलबाटै उपचार सुरू गर्नुपर्छ । कहिलेकाहीँ नसा चलिरहेको अवस्थामा बिरामीलाई सावधानीपूर्वक हस्पिटल पुुर्याउनुपर्छ। अन्यथा गम्भीर इन्जुरीमा जाने सम्भावना रहन्छ । बेहोस बिरामीलाई पानी खुवाउन हुँदैन किनभने पानी सर्किएर एस्पिरेसन हुनसक्छ । त्यस्तै बिरामीको खुट्टा चलिरहेको अवस्थामा हिँडाइ हाल्नुहुँदैन । बिरामीलाई कडा सतह जस्तैः काठको पटेरा, कडा टिन वा फलाम बिछ्याएर घाँटीको दुबैपट्टी कडा वस्तु राखेर घाँटीलाई चलाउन नमिल्नेगरी राख्नुपर्छ ।


उपचार र शल्यक्रिया


समस्याको पहिचान भएपछि आवश्यकता अनुसार उपचार शुरू गर्नुपर्छ । यसमा ओपन जर्सरी र दुरबीनको मद्दतबाट पनि शल्यक्रिया गरिन्छ । दुरबीनबाट गरिने शल्यक्रियालाई मिनिमल इन्भेजिभ स्पाइनल सर्जरी भनिन्छ । यसबाट चाँडो शल्यक्रिया हुने, कम दुखाइ, धेरै दिन अस्पतालमा बस्ननपर्ने र चाँडै चलायनमान गतिमा फर्किन सकिन्छ ।


तर स्पाइनल कर्ड इन्जुरी भएका सबैलाई शल्यक्रियाको जरूरत पर्दैन । ग्रेड ‘ए’ ग्रेडको इन्जुरीमा शल्यक्रिया गरेर पनि फाइदा हुँदैन । बी, सी, डी, र इ ग्रेडको इन्जुरीलाई शल्यक्रियाले फाइदा गर्नसक्छ । यदि चोट नभएमा शल्यक्रिया गर्नुपर्दैन । यदि हड्डीको उचाइ घटेको, हड्डीहरू डिस्ट्रक्सन भएर स्पाइनल कर्ड वा स्पाइनल क्यानल, दिसापिसाब नियन्त्रण गर्ने ठाउँमा आएको वा हातखुट्टा चलाउने ठाउँमा असर पुर्याएको अवस्थामा तुरून्त शल्यक्रियाको जरूरत पर्छ । स्पाइनल कर्डभित्र ट्युमरले पहिले नै नसा च्यापिएको र दुर्घटना भएर स्पाइनल इन्जुरी भएर डिस्ट्रक्सन भएको अवस्थामा शल्यक्रिया गर्दा सुधार हुन सक्दैन । तर सामान्य कुरकुरे हड्डी खिइएर नसा च्यापिएको र ढाड दुखेको समस्यामा शल्यक्रिया गर्दा पूर्णरूपमा प्यारालाइसिस हुन पाउँदैन ।

पुनःस्र्थापना केन्द्रको आवश्यकता

स्पाइनल कर्ड इन्जुरी भइसकेपछि मनोवैज्ञानिक प्रभाव पर्दछ । स्पाइन इन्जुरी भएका करिब ८० देखि ९० प्रतिशत बिरामी सामान्यदेखि दीर्घकालीन डिप्रेसनमा जानसक्छन् । त्यसैले बिरामीलाई रोगबारे पूर्ण रूपमा जानकारी दिनुपर्छ ।

पुनःस्र्थापना केन्द्रमा मनोचिकित्सक, फिजियोथेरापिष्ट, न्युरो सर्जन, न्युरोफिजिसियन, फर्मासिष्ट, पोषणविद आदि सबै मिलेर मल्टिडिसिप्लिनरी एप्रोचबाट उपचार गर्नुपर्छ । नेपाल सरकारले स्पाइनल इन्जुरी र हेड इन्जुरी भएका बिरामीलाई उपचारवापत् १ लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ । त्यसैगरी स्पाइनल इन्जुरीबाट पक्षघात भएका बिरामीले स्थानीय वडा कार्यालयबाट पाँच हजार रुपैयाँ निर्वाह भत्ता पाउँछन् ।
(लेखक नोबेल मेडिकल कलेज, विराटनगरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्