मेरूदण्डको ट्युमर कति खतरनाकः संकेत, लक्षण, उपचार र पुनःस्र्थापना
बेनाइन ट्युमरले मेरूदण्डको हड्डी कमजोर बनाउन सक्छ
सर्लाहीका ३२ वर्षीय एक पुरुष डेढ वर्षदेखि अत्याधिक कम्मर दुख्ने समस्या लिएर गत माघमा धुलिखेल अस्पताल पुगेका थिए । उनमा कम्मर दुखाइसँगै पिसाब र कब्जियतको समस्या थियो । दुखाइ कम गर्न पेन किलर खाने गर्थे । एकपटक भारतमा जाँच गर्दा डाक्टरले ढाडमा मासु पलाएकाले ठुलो अस्पतालमा उपचारका लागि जान सुझाव दिएपछि उनी अस्पताल आएका रहेछन् । उनमा अत्याधिक ढाड दुख्ने, दिसा गर्न गाह्रो, तारन्तार पिसाब लाग्ने, पिसाबको धारा सानो र पिसाब पुरै ननिथ्रिने समस्या थियो । सिटी स्क्यान र एमआरआई गर्दा ढाडको तल्लो र मलद्वारको पछाडी भागको स्याक्रम बोनमा ‘कोरडोमा’ ट्युमर पत्ता लाग्यो । त्यहाँ रहेको १७ सेन्टिमिटर लम्बाइ र २.७ केजी तौल भएको ट्युमर निकाल्न सफल भयौं । जुन शल्यक्रिया गर्दा २४ घण्टा लागेको थियो । हाल ति बिरामी हिँड्नसक्ने भएका छन् । पैतला अलि लुलो छ । घाउ निको भइसकेको छ । उनी अस्पतालमा उपचारपछि पुनःस्र्थापनाका लागि डिस्चार्ज भइसकेका छन् ।
कोरडोमा ट्युमर एक दुर्लभ ट्युमर मानिन्छ । कोरडोमा ट्युमरको शल्यक्रिया गर्दा थोरै ट्युमर पनि लिक भएमा पनि पुनः ट्युमर फैलिन सक्छ । त्यसैले यसमा होसियारी अपनाउनुपर्छ ।
यसरी शरीरले नयाँ कोष बनाउने र पुरानो कोष मास्दै जाने नियमित प्रक्रियामा अवरोध सृजना भएपछि कोषहरू निरन्तर बढ्न थाल्छन् । त्यसले ट्युमरको रूप लिन्छ । प्रायः म्यालिग्नेन्ट र बेनायन गरी ट्युमर दुई प्रकारका हुन्छन् । चाँडै शरीरभर फैलिएर ज्यानलाई खराब पार्ने खालका ट्युमरलाई ‘म्यालिग्नेन्ट ट्युमर’ भनिन्छ । तर बेनायन ट्युमर म्यालिग्नेन्टको तुलनामा कम खराब मानिन्छन् ।
मेरुदण्डको ट्युमर के हो ?
मेरूदण्ड (स्पाइन) को ट्युमर भन्नाले हड्डी, स्पाइनल कर्डसँग सम्बन्धित हुन्छन् । त्यस्तै शरीरको अन्य भागमा भएका ट्युमर फैलिएर पनि मेरुदण्डमा बसेको हुनसक्छ । जस्तैः थाइराइड, फोक्सो, आमाशय, आन्द्रा आदिका ट्युमरहरू मेरूदण्डमा फैलिन सक्छन् ।
खतराको संकेत
प्रायःजसो मेरूदण्डको ट्युमर वेनायन हुन्छन् । तर मेरूदण्डको कोन्ड्रो सार्कोमा र ओस्टियो सार्कोमा ट्युमर ज्यानै खराब पार्ने प्रकारका म्यालिग्नेन्ट ट्युमर हुन् । यी ट्युमर ढाडको कुरकुरे हड्डी वा हड्डीबाट विकास भएका हुन्छन् । केही वर्ष अघिसम्म यी ट्युमरबाट हुने मृत्युदर करिब ७० प्रतिशतसम्म थियो । अहिले अत्याधुनिक शल्यक्रिया, केमोथेरापीलगायतका कारण करिब ५० प्रतिशतमा झर्न सफल भएको छ । बेनाइन ट्युमरले मेरूदण्डको हड्डी कमजोर बनाउनसक्छ ।
कहिलेकाहीँ स्पाइनल कर्डको झिल्ली वा स्पाइनल कर्डबाट पनि ट्युमर पलाउनसक्छ । कहिलेकाहीँ रक्त क्यान्सरको ट्युमर फैलिएर स्पाइनल कर्डमा गएर टाँसिएर बसेको हुनसक्छ । जसले नसालाई थिच्न पनि सक्छ । साथै हड्डीभित्रको बोनम्यारोको ट्युमर पनि हुनसक्छ । साधारण ढाडको दुखाइ नदुख्ने औषधि सेवन गरिसकेपछि वा आराम गरेपछि ठिक हुन्छ । तर मेरूदण्डको ट्युमरले भएको ढाडको दुखाइ धेरैदिनसम्म नदुख्ने औषधि सेवन गर्दा पनि कम हुँदैन ।
ढाडको दुखाइ तल वा माथितिर सर्दै जाने, दुखेर निद्राबाट व्युँझाउने, शारीरिक तौल घट्ने, दिसापिसाब नियन्त्रण नहुने, पिसाबको धारा सानो हुने, पिसाब रोक्न नसक्ने, चाहेको बेला पिसाब फेर्न नसक्ने र पिसाब चुहिने समस्या रेड फ्ल्याग साइनको रूपमा लिइन्छ । ६० वर्ष नाघेको मानिसमा यस किसिमको दुखाइ छ भने ट्युमर हो की होइन भन्नेकुरा पत्ता लगाउनु अनिवार्य हुनसक्छ । मेरूदण्डको ट्युमरको दुखाई कहिलेकाँही हड्डीको संक्रमणबाट हुने दुखाईसँग पनि मेल खानसक्छ ।
उपचार
अधिकांश स्पाइनल कर्डको ट्युमर औषधिले निको हुँदैन । धेरैजसो ट्युमरलाई कुनै न कुनै प्रकारको शल्यक्रिया आवश्यक पर्छ । त्यो भन्दा पहिला ट्युमरको प्रकार पत्ता लगाउनुपर्दछ । यसका लागि रगतको जाँच, एक्स–रे, सिटी स्क्यान, एमआरआई, पेट स्क्यान र बोन स्क्यानको जरूरत पर्छ । धेरैजसो अवस्थामा वायप्सी गर्नुपर्ने हुन्छ । ट्युमर फैलिसकेको अवस्थामा ठुलो सर्जरी गरिदैन । यो चौथो स्टेजको ट्युमर भएकाले जीवन सहज बनाउने किसिमको उपचार गर्नुपर्छ । केही मेरूदण्डको ट्युमरहरूमा किमोथेरापी र विकिरण थेरापीको पनि आवश्यकता हुनसक्छ ।
बेनाइन ट्युमरमा शल्यक्रियापश्चात् सामान्य जीवनयापनमा फर्काउन सकिन्छ । ढाडको ट्युमर निकालिसकेपछि ढाड कमजोर हुने भएकाले रडहरू राखेर बलियो बनाउनुपर्छ । धेरैजसो ढाडका ट्युमर ज्यानलेवा हुँदैनन् । मानिसहरू ट्युमरको प्रारम्भिक लक्षणमा वेवास्ता गर्दछन् र नसाको लक्षण नदेखिएसम्म चिकित्सककहाँ पुग्दैनन् ।
पुनःस्र्थापना
दुखाइ कम गर्न, शल्यक्रिया अघि र पछि मांसपेशीको तागत पुनःप्राप्त गर्न फिजियोथेरापी अपरिहार्य हुन्छ । बिरामी हिँड्न, मांसपेशीको ताकत र मोबिलिटी पुनःप्राप्त गर्न फिजियोथेरापी आवश्यक पर्छ । नसा नै बिग्रिएर खुट्टा प्यारालाइसिस भइसकेको बिरामीलाई छुट्टै पुनःस्थापनाको जरूरत पर्छ । । शल्यक्रियापछि पनि बिरामी चिकित्सकको निगरानीमा निरन्तर रहनुपर्छ । कुनै प्रकारको ट्युमरहरू भविष्यमा पुनः पलाउन सक्दछ । समयमा नै यसको पहिचान गर्न सकेमा उपचार शुरू गर्न सकिन्छ र हुनसक्ने खतरालाई रोक्न वा कम गर्न सकिन्छ ।
(लेखक धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ ।)