Logo
|
Sunday 28th April 2024
Logo

epaper

सेरेब्रल पाल्सीको एउटा उपचारः सेलेक्टिभ डोर्सल राइजोटोमी शल्यक्रिया

सेरेब्रल पाल्सी सेन्टरहरूसँग समन्वय गरेर शल्यक्रिया सुरू गर्ने सोच



हातखुट्टा आंशिक चले पनि राम्रोसँग नचल्ने, कक्रक्क पर्ने, कैचीजस्तो भएर हिँड्न अप्ठेरो हुने अवस्थाको सेरेब्रल पाल्सीमा ‘सेलेक्टिभ डोर्सल राइजोटोमी’ सर्जरी गर्न सकिन्छ । तर बिरामीको मानसिक वृद्धि–विकास, क्लास पफरमेन्स, आइक्यू र अन्य डेभलभमेन्टल माइलस्टोन राम्रो हुन जरूरी हुन्छ ।

डा. प्रत्युस श्रेष्ठ-न्युरो सर्जन

यो शल्यक्रिया गर्न ५ देखि ६ घण्टाको समय लाग्न सक्छ । यो शल्यक्रिया गरेपछि ओछ्यानमा बस्न बाध्य बिरामीलाई लठ्ठी टेकेर हिँड्नसक्ने र लठ्ठी टेकेर हिँड्नेलाई आफैँ हिँड्नसक्ने बनाउन सकिन्छ । शल्यक्रिया गर्ने बित्तिकै भोलिपल्ट नै बिरामी हिँड्नसक्ने भन्ने हुँदैन । बिरामीलाई राम्रोसँग जाँच गरेर फाइदा हुने वा नहुने भन्नेबारे अध्ययन गर्नुपर्छ । यो मल्टी–डिसिल्पिनरी उपचार हो । यसमा पेडियाट्रिक न्युरो सर्जन, न्युरो सर्जन, फिजियोथेरापिष्ट, समाजसेवीलगायत ठूलो टिमको संलग्नता आवश्यक पर्छ ।


सेरेब्रल पाल्सी शिशु जन्मनुअघि, जन्मने क्रममा र जन्मिएपछि उत्पन्न हुने समस्या हो । विदेशतिर सेरेब्रल पाल्सी आनुवांशिक अवस्था र जन्मिनुअघिका समस्याका कारण हुने गरेको पाइन्छ । गर्भवतीको पोषण तथा स्वास्थ्यमा ध्यान नदिने, घरमै प्रसुती गराउने, मातृशिशु स्याहार र उपचार नपाउने, नवजात शिशुलाई जन्डिसलगायतका समस्याले शिशुको मस्तिष्क विकासमा विकार हुनु चाँही नेपाल लगायत विकासोन्मुख देशहरूमा सेरेब्रल पाल्सीको कारण रहेको पाइन्छ । यी कुरामा ध्यान पुर्याई धेरैभन्दा धेरै सेरेब्रल पाल्सी हुन नदिन सकिन्छ ।

सेरेब्रल पाल्सी भएका बच्चा राम्रोसँग हिँड्न र बोल्न सक्दैनन् । मस्तिष्कको हातखुट्टा चलाउने केन्द्रमा असर गरेमा शरीरको एक पाटो चलाउन समस्या हुन्छ । मस्तिष्कको दायाँ भागमा हुने ‘बेजल ग्याङ्गलिया’मा समस्या भएमा देब्रे पट्टीको हातखुट्टा पूर्ण रूपमा नचल्ने हुन्छ । यसलाई ‘हेमिप्लेजिक टाइप अफ सेरेब्रल पाल्सी’ भनिन्छ । यस प्रकारको समस्यालाई शल्यक्रियाबाट सुधार गर्न सकिदैन ।

कति खर्चिलो ?
‘सेलेक्टिभ डोर्सल राइजोटोमी’ सर्जरी अलि खर्चिलो उपचार प्रकृया हो । बेलायतमा सेरेब्रल पाल्सी भएका बिरामीको शल्यक्रियाबापत्को खर्च सरकारले बेहोर्छ । तर नेपालमा यो व्यवस्था छैन । तर हामीकहाँ सेरेब्रल पाल्सीको क्षेत्रमा लागेका धेरै गैरसरकारी संस्था छन् । ती सबै संस्था एकजुट भएर सेवामा सहकार्य गर्न जरूरी छ ।


कहाँ पुग्यो तयारी ?
बेलायत, अमेरिकातिर यो सर्जरी गरेर धेरै मानिसलाई राम्रो भएको छ । बेलायतका धेरै सेन्टरमा उपचार भइरहेको छ । नेपालका केही अस्पतालमा यस्तो शल्यक्रियाको नियमित सुविधा छैन । अतः नेपालमा त्यति वास्ता नगरिएको शल्यक्रिया हो । नेपालमा भएका सेरेब्रल पाल्सी सेन्टरहरूसँग समन्वय गरेर शल्यक्रिया सुरू गर्ने सोच बनाएको छु । अस्पतालमा न्युरो मोनिटरिङको सुविधा अपग्रेड गर्न पनि खोजिरहेका छौँ । मैले बेलायतमा प्रोफेसरसँग सिकेर आएको ज्ञानलाई पूर्ण रूपमा प्रयोग गरेर सेवा दिन सक्ने आत्मविश्वास लिएको छु ।
(बेलायतको लिड्स जनरल अस्पतालबाट सेरेब्रल पाल्सीका बिरामीलाई गरिने ‘डोरसल राइजोटोमी शल्यक्रिया’ सिकेर आउनुभएको छ । हाल डा. श्रेष्ठ उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्