Logo
|
Saturday 27th July 2024
Logo

epaper

भूकम्प पीडित बिरामी परेपछि स्वास्थ्यकर्मीको टोली घरघरमा



जनस्वास्थ्य सरोकार, सल्यान ।  भूकम्प प्रभावित सल्यानको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरू बिरामी पर्न  थालेका छन् । चिसोले पीडितहरू बिरामीहरू हुने थालेपछि घरैमा गएर स्वास्थ्य जाँच गर्न थालिएको छ । 

चिसोका कारण बालबालिका, सुत्केरी, बृद्धबृद्धा बिरामी परेपछि बिरामीको घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । 

अधिकांश भूकम्प पीडित त्रिपाल मुनि बस्दै आएका र तिनीहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको स्थानीय व्यवस्थापनमा स्वास्थ्य उपचार थालिएको हो ।

स्वास्थ्योपचारका लागि स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुन बुढामगर लगायत डाक्टर, स्वास्थ्यकर्मी र पालिकाको स्वास्थ्यकर्मीको सहित १४ जनाको टोली खटिएको छ । 

भौगोलिक विकटताका कारण पालिकाका सबैलाई समेट्न नसकिने र बिरामी परेकासमेत उपचारका लागि जान नसक्ने अवस्था सिर्जना भएपछि बिरामी परेकाको घरघरमा गएर स्वास्थ्योपचार गर्न थालिएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनु भयो ।

उहाँका अनुसार भूकम्पका कारण दार्माका झन्डै १ हजार १ सय बढी घर बस्नै नमिल्ने गरी क्षति भएका छन् भने १ हजार बढी आंशिक क्षति भएका छन् । जसका कारण दुई हजार बढी विस्थापित भएर घर नजिकैको खुला स्थानमा त्रिपाल टाँगेर बस्दै आएका छन् । खुला स्थानमा बस्नु पर्दा बालबालिकामा निमोनिया, सुत्केरी तथा अन्यमा ज्वरो र बूढाबूढीमा दमको समस्या बढी देखिएको छ ।

सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्या देखिएपनि त्यस्तो जटिल समस्या नदेखिएको डा. बुढा मगरले बताउनु भयो । चिसोले गर्दा बालबालिका, सुत्केरी तथा वृद्धाहरु समस्यामा परेका कारण कुनै पनि रोगको महामारीको रुप लिनमा नपाओस् भनि स्वास्थ्योपचार सेवा सञ्चालन गरेर उनीहरूलाई सचेत गराइएको बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्