Logo
|
Saturday 27th July 2024
Logo

epaper

शरीरको कुनै अङ्ग चाँडै बूढो भएको पत्ता लगाउन सकिन्छ ?

अङ्ग छिटो बूढो हुँदा रोग लाग्ने जोखिम र १५ वर्षपछि मृत्यु हुने सम्भावना उच्च हुने वैज्ञानिकको भनाई



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मानिस जति वर्ष बाँचेको छ त्यो नै उसको उमेर हो भन्ने मान्यता छ। तर मानिसका केही अङ्गहरूमा वास्तविक उमेरको तुलनामा चाँडै बुढ्यौलीको लक्षण देखिन सक्ने वैज्ञानिकहरू बताउँछन्।

अङ्गहरू कुन गतिमा छिप्पिँदै छन् भन्ने पत्ता लगाउन रगत परीक्षण उपयोगी हुन सक्छ। त्यस्तो परीक्षणको सहयोगमा भविष्यमा कुन अङ्ग समस्यामा पर्न सक्छ भन्ने अनुमान गर्न सकिने विश्वास गरिएको छ।

स्ट्यान्डफर्ड यूनिभर्सिटीको एउटा टोलीले मानिसको मुटु, मस्तिष्क र फोक्सोसहित विभिन्न ११ वटा अङ्गको निगरानी गर्न सकिने बताएको छ। उक्त वैज्ञानिक टोलीले यस्तो परीक्षण हजारौँ मानिसमा गरिसकेको छ। तीमध्ये अधिकांश अधबैँसे र पाको उमेरका हुन्।

अध्ययनको नतिजाले ५० वर्षमाथिका प्रत्येक पाँच जनामध्ये एक स्वस्थ व्यक्तिको कम्तीमा एउटा अङ्गमा अरू अङ्गमा भन्दा छिट्टै बुढ्यौली लाग्ने गरेको देखाएको थियो। अनि १०० जनामध्ये एकदेखि दुई जनाका शरीरका कैयौँ अङ्गहरू जन्मको आधारमा गणना गरिएको उमेरभन्दा बूढो भएको पाइयो।

सबै अङ्गको परीक्षण गर्ने कुरा सुन्दा डरलाग्दो हुन सक्छ। तर अनुसन्धाताहरूले यस्तो परीक्षण हाम्रा केही अङ्गहरूमा तीव्र गतिमा हुने बुढ्यौली रोक्ने अवसर हुने बताएका छन्।

नेचर जर्नलमा प्रकाशित विवरणमा अनुसन्धाताहरूले निश्चित अङ्गमा देखिएको तीव्र क्षयले कस्तो स्वास्थ्य समस्या आउन सक्छ भन्ने थाहा हुने उल्लेख गरेका छन्।

अङ्गहरूको बुढ्यौलीमा अन्तर
उदाहरणका लागि, उमेरभन्दा चाँडै बुढ्यौलीले छोएको मुटुले हृदयाघातको जोखिम बढाउँछ। त्यसै गरी तीव्र गतिमा बूढो भइरहेको मस्तिष्कका कारण ुडिमेन्शु अर्थात् विस्मृतिको जोखिम हुन्छ।

यो अध्ययनका अनुसार एउटा वा त्योभन्दा बढी अङ्ग छिटो बूढो हुँदा केही रोग लाग्ने जोखिम हुन्छ र १५ वर्षपछि मृत्यु हुने सम्भावना पनि उच्च हुन्छ।

वैज्ञानिकहरूले परीक्षण गरेका अङ्गहरू यी हुन्

  • मस्तिष्क
  • मुटु
  • कलेजो
  • फोक्सो
  • आन्द्रा
  • मिर्गौला
  • बोसो
  • रक्तनली (धमनी)
  • प्रतिरक्षा तन्तु
  • मांसपेशी
  • प्यान्क्रिअस (अग्न्याशय)

परीक्षणबाट के देखिन्छ ?
यो परीक्षणमा मानिसको रक्तप्रवाहमा पाइने हजारौँ प्रोटीनको मात्रा मापन गरिन्छ। त्यसबाट कुन अङ्ग कुन गतिमा छिप्पिरहेको छ भन्ने सङ्केत प्राप्त हुन्छ।

परीक्षणमा देखिने प्रोटीनका ढाँचाहरू छुट्टाछुट्टै अङ्गका लागि छुट्टाछुट्टै हुन्छन्। अनुसन्धाताहरूले धेरै रगत परीक्षण र बिरामीका अन्य विवरणका आधारमा मशीन लर्निङ एल्गरिदमको प्रयोग गरेर अङ्गको बुढ्यौलीबारे निधो गर्छन्।

एक जना अनुसन्धाता डा. टोनि भीस–कोरे भन्नुहुन्छ–‘हामीले प्रत्येक व्यक्तिका प्रत्येक अङ्गको जैविक उमेर गम्भीर रोग नलागेका धेरै मानिसका अङ्गहरूसँग तुलना गर्‍यौँ। त्यसमा ५० वर्ष वा त्यसभन्दा माथिका १८.४ प्रतिशत मानिसको कम्तीमा एउटा अङ्ग औसतभन्दा चाँडै बूढो भइरहेको पाइयो।’

‘अनि हामीले ती व्यक्तिहरू अर्को १५ वर्षमा सोही अङ्गका कारण बिरामी पर्न सक्ने उच्च जोखिममा रहेको पनि पत्ता लगायौँ।’

स्ट्यान्डफर्ड यूनिभर्सिटीले यो परीक्षणको प्रतिलिपि अधिकार लिने प्रक्रिया थालेको छ। भविष्यमा यो परीक्षण उपयोगी ठहरियो र यसको व्यावसायिक प्रयोग भयो भने प्रतिलिपि अधिकार उक्त विश्वविद्यालयका लागि महत्त्वपूर्ण हुने छ।

अब के हुन्छ ?
डा वीस–कोरे भन्नुहुन्छ–‘यदि ५०,००० वा एक लाख जनाबाट पनि यही निष्कर्ष निस्कियो भने हामी स्वस्थ मानिसका केही अङ्गले शरीरमा बुढ्यौलीको गति बढाएको पत्ता लगाउन र मानिस बिरामी पर्नुअघि नै उपचार गर्न सक्षम हुन्छौँ।’

ग्लास्गो यूनिभर्सिटीका प्राध्यापक पोल शील्सका अनुसार निश्चित अङ्गको मात्रै नभई पूरै शरीरकै अध्ययन गर्न जरुरी छ। त्यसो भए मात्रै व्यक्तिको स्वाथ्यबारे सबैभन्दा भरपर्दो नतिजा देखा पर्ने उहाँ बताउनुहुन्छ ।

एज यूके नामक परोपकारी संस्थाकी क्यारोलिन अब्राम्स विज्ञानले बढ्दो उमेरसँगै देखा पर्ने गम्भीर रोगहरू पत्ता लगाउँदै गर्दा यो ज्ञान थाहा पाएका मानिसहरूले कस्तो महसुस गर्छन् भन्नेबारे पनि ध्यान दिनुपर्ने बताउनुहुन्छ । यद्यपि अङ्गहरूको उमेर वा स्वास्थ्यस्थितिबारे निधो गर्नु उचित हो भन्ने बुझ्न थप अनुसन्धान हुनुपर्छ।

डा वीस–कोरले यसअघि आफ्ना अनुसन्धानबाट अङ्गहरूको जैविक बुढ्यौली दर एकनासको नहुने देखिएको छ। यस्तो दर मानिसको उमेरको निश्चित कालखण्ड जस्तै ३० को दशकमा, ६० को दशकको सुरुमा र ७० दशकको अन्त्यतिर तीव्र दरमा हुने यसअघिका खोजहरूले देखाएका छन्।

लन्डनस्थित क्वीन मेरी यूनिभर्सिटीमा उमेरसम्बन्धी स्वाथ्य र रोगसम्बन्धी विषयका प्राध्यापक जेम्स टिमन्सले पनि जैविक उमेरको ब्लड मार्करबारे अध्ययन गरिरहनुभएको छ । उहाँको अनुसन्धान प्रोटीनमा हुने परिवर्तनभन्दा पनि पहिचान गर्न सकिने आनुवंशिक परिवर्तनमा बढी केन्द्रित छ।

उहाँ डा वीस–कोरेले पत्ता लगाएका कुराहरू निकै प्रभावकारी रहेको तर तिनलाई अझै धेरै मानिसमा मान्य देखिनुपर्ने ठान्नुहुन्छ । विभिन्न जातीय समूहका तन्नेरीहरूमा पनि अध्ययन पुष्टि हुनुपर्ने उनको धारणा छ।

‘यो बुढ्यौली हो कि उमेरसँगै देखा पर्ने रोगहरू पत्ता लगाउने नयाँ मापक होरु लेखकले पहिलो तर्कलाई साथ दिएका छन् तर पछिल्लोलाई पनि अस्वीकार गरेका छन् जस्तो मलाई लाग्दैन,’ उहाँले भन्नुभयो । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्