Logo
|
Saturday 14th December 2024
Logo

epaper

भूकम्प प्रभावित क्षेत्रमा आजदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रमा बिहिबार (आज) देखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भूकम्प प्रभावित जिल्लामा बिहीबारदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप ती दुई जिल्ला जाजरकोट र पश्चिम रुकुमसहित सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्लामा सञ्चालन गरिने छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले दादुरा–रुवेलाविरुद्धको खोप छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई र टाइफाइडविरुद्धको खोप १६ वर्षदेखि ४५ वर्षसम्मका सबैलाई लगाइने छ ।

“भूकम्पपछि महामारी हुनसक्ने सम्भावना रहन्छ, तीमध्ये सबैभन्दा बढी दादुरा–रुवेला र टाइफाइड हुनसक्ने सम्भावना रहन्छ”, उहाँले भन्नुभयो–, “ती ठाउँका बालबालिकामा पोषण पनि कम भएको होला, दूषित पानी पनि खाएका होलान्, त्यसैले हामीले दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछौँ ।”

छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको सङ्ख्या छ लाख ५० हजार रहेको छ । खोप अभियान यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्