Logo
|
Sunday 19th May 2024
Logo

epaper

थालेसिमियाका बिरामीका लागि भरतपुर अस्पतालमा ‘डे केयर सेन्टर’ सञ्चालन



जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार तीन शय्याको डेकेयर सञ्चालन गरिएको छ । बच्चा वार्डमा थालेसिमियाका बिरामीलाई असहज भएको गुनासो आएपछि छुट्टै सेन्टर खोलेको उहाँले बताउनुभयो ।

नवलपुरकी देवी दराईले छुट्टै डेकेयर सुरु भएपछि सेवा लिन सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो “पहिले बच्चा वार्डमा जाँदा कहिलेयता जानु कहिले उता जानु भन्नुहुन्थ्यो अहिले सिधै यहाँ आए हुन्छ ।” उहाँले बिरामी धेरै भएकाले शय्या सङ्ख्या थपेमा थप प्रभावकारी हुने सुझाव दिनुभयो । थालेसिमियाका बिरामीका लागि आवश्यक औषधि काठमाडौँमा मात्र पाइने समस्या पनि रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालले पहल गरेर यही औषधि उपलब्ध भए काठमाडौँ गइरहनुपर्ने झन्झट हुने थिएन ।”

अस्पतालबाट नियमित ५४ जनाले सेवा लिइरहेका छन् । अस्पतालको बालरोग विभागका प्रमुख डा नारायणबहादुर थापाले थालेसिमियाका बिरामीलाई समय समयमा रगत चढाउनुपर्ने भएपछि गत पुस २४ गतेदेखि सेन्टरबाट सेवा दिन थालिएको बताउनुभयो । थालेसिमिया आणुवंशिक अर्थात् वंशाणुगत रुपमा सर्ने रोग रहेको भन्दै उहाँले, “यो रोगका कारण शरीरमा हेमोग्लोबिन (रातो रक्त कोषिका) निर्माण हुन समस्या हुन्छ ।” निर्माण भएको कोशिका पनि लामो समय रहन नसक्ने हुँदा बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने डा. थापाको भनाइ छ ।

यस्ता बिरामीलाई रगतमा आइरन घटाउने औषधि दिनुपर्ने हुन्छ जुन औषधि काठमाडौँमा मात्रै उपलब्ध छ । नेपालमा दर्ता नभएकाले त्यो औषधि नियमित रूपमा नपाइएको डा थापाले जानकारी दिनुभयो। डा थापाका अनुसार भरतपुर अस्पतालमा एक सयजना थालेसिमियाका बिरामी दर्ता भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्