Logo
|
Tuesday 30th April 2024
Logo

epaper

आज विश्व न्युरो सर्जन्स दिवसः आधुनिक न्यूरो सर्जरीका पिता हार्भे कुशिङलाई सम्झने दिन

न्यूरो सर्जरीका कयौं उपकरणको विकासकर्ता



हार्भे कुशिङ

नेपाल हेल्थ न्युज, काठमाडौँ । हार्भे कुशिङ आधुनिक न्यूरोसर्जरीका पिता हुन् । उनलाई आधुनिक युगका पहिलो न्यूरोसर्जन भन्दा पनि अतियुक्ति हुन्न । न्यूरोसर्जरीलाई अहिले देखिरहेको स्वरूपमा ल्याउनमा कुशिङको निकै ठूलो योगदान छ । हाल यस क्षेत्रमा प्रयोगमा आइरहेका कयौं सर्जिकल उपकरणहरूको विकासकर्ता पनि यिनै कुशिङ हुन् । उनले विकास गरेका कुशिङ फोर्सेप्स र कुशिङ भेन्ट्रिकुलर क्यानुला मध्ये केही उपकरणहरू रहेका छन् ।

सन् १९०४ मा कुशिङले न्यूरो सर्जरीमा आफ्नो सारा समय लगाउने घोषणा गर्दा सो क्षेत्रको अवस्था आशालाग्दो थिएन । अरु डाक्टरहरूले शल्यक्रिया गर्दा बिरामीको मृत्यु हुने सम्भावना ३० देखि ५० प्रतिशतसम्म थियो । तर कुशिङले भने मस्तिष्कको कठिनतम शल्यक्रियापछि पनि बिरामीहरू जीवित रहने दरमा उल्लेख्य सुधार ल्याउन सके ।

सन् १९१० सम्म आइपुग्दा कुशिङको मामिलामा भने यो दर झरेर १३ प्रतिशतभन्दा पनि तल आयो । यसबीच कुशिङले न्यूरोसर्जरीबारे लेखहरु लेखे । अमेरिका र क्यानडाभर चिकित्सकहरूलाई यसबारे पढाए पनि । इन्ट्राक्रेनियल प्रेसर (आईसीपी) को अवधारणा, आईसीपी नियन्त्रण गर्ने नविनतम तरिका र बृहतर रिफरल बेसका कारण पनि कुशिङले शल्यक्रिया गरेका बिरामीहरूको बाँच्ने सम्भावना उच्च बनेको हो ।

कुशिङको निधन भएकै ८४ वर्ष बितिसक्यो । तर न्यूरो सर्जरीको क्षेत्रमा उनको छाप अहिले पनि उत्तिकै गाढा छ । कुशिङले २० औं शताब्दीको शुरूमा मस्तिष्कको शल्यक्रियामा उपयोग हुने केही आधारभूत प्रविधिहरूको विकास गरेका थिए । यसैले उनलाई न्यूरोसर्जरीको क्षेत्रमा अग्रणी व्यक्तित्व र विज्ञको रुपमा स्थापित गरेको हो । कुशिङकै प्रभावले गर्दा न्यूरोसर्जरीको क्षेत्रमा नयाँ र स्वयत्त विधा बनेको हो भन्दा पनि अतियुक्ति हुन्न । २० औं शताब्दीको पहिलो दशकमा उनी न्यूरोसर्जरीका अग्रणी शिक्षक पनि हुन् ।

उनको तस्विर आफैं अमेरिकन न्यूरोलोजिकल सर्जन संघको ब्रान्ड हो । उनको परिवारमा बुबा, हजुरबुबा र जिजुबुबा सबै डाक्टर थिए । कुशिङ पुलित्जर पुरस्कार विजेता पनि हुन् । उनले विलियम ओस्लरबारे लेखेको मेडिकल बायोग्राफीले सन् १९२६ मा पनि जितेको छ । सर्जिकल विज्ञानमा दिएको योगदानका लागि कुशिङले कयौं पुरस्कारहरू पनि पाएका छन् ।

सन् १८६९ अप्रिल ८ मा जन्मिएका कुशिङको ७ अक्टोबर १९३९ मा न्यू हेभेन, कनेक्टिकटमा मायोकार्डियल इन्फेक्शनको जटिलताबाट निधन भयो । उनको जन्मदिनका अवसरमा हरेक वर्ष ८ अप्रिलमा विश्व न्युरो सर्जन दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्