Logo
|
Thursday 5th December 2024
Logo

epaper

विप्लवको न्युट्रास्युटिकल र कस्मास्युटिकल यात्रा

न्युट्रास्युटिकल व्यवसाय सुरु गरेयता रोग लागेर उपचार गराउनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय जस्तो लाग्छ




विप्लव रञ्जित-अध्यक्ष, नेपाल न्युट्रास्युटिकल कस्मेस्युटिकल एसोसिएसन

रञ्जित नेपाल न्युट्रास्युटिकल कस्मास्युटिकल एसोसिएसन (एनएनसिए) को अध्यक्ष हुनुहुन्छ । हाल न्युट्राकिङ फर्मुलेसन र टाटाललना इन्टरप्राइजेजको प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँको करियर एमआरबाट शुरू भएको हो । २०५७ सालतिर रञ्जित भारतको बैङ्गोरस्थित एङ्लो फ्रेन्च ड्रग उद्योगमा एमआर हुनुहुन्थ्यो । बि.सं. २०५९ सालमा नेपालका लागि ट्रान्सफर हुनुुभयो । नेपालमा काठमाडौ, पोखरा, चितवन लगायतका क्षेत्र हेर्नुहुन्थ्यो । बि.सं. २०६१ सालसम्म एमआर भएर काम गर्नुभयो । त्यसपछि प्रोमोसन भएर कन्ट्री म्यानेजरको पोष्ट पाउनुभयो । उहाँ कामप्रति वफादार र मिलनसार हुनुहुन्छ । जागिर गर्दै जाँदा उहाँमा आफैं केही गरौं भन्ने सोच पलायो र सन् २०१० देखि नेपालमा न्युट्रिस्युटिकल्स व्यवसाय सुरू गर्नुभयो । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ वैशाख २३ गते प्रमाणीकरण गर्नुभएको छ । सो विधेयक २०८० चैत २१ गते प्रतिनिधिसभाको वहुमतले पारित गरी राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । राष्ट्रपटिबाट प्रमाणिकरण भएको मितिले नियमावली बनाएर ९१ औँ दिनदेखि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८० का रूपमा कार्यान्वयनमा आउने छ । यो सँगै आहारपूरक, न्युट्रास्युटिकल, प्रोपाइटरीलगायतका खाद्य पदार्थको नियमन गर्ने, खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास गर्ने तथा खाद्य पदार्थ सम्बन्धि मापदण्ड निर्धारण गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भएको छ । न्युट्रास्युटिकल्समा पहिचान बनाएका रञ्तिको कथा उहाँको आफ्नै शव्दमा ।

त्यतिबेला न्युट्रास्युटिकल्स दर्ता हुने निकाय थिएन । भन्सार विभागमा भ्याट तिरेर सिधै ल्याइन्थ्यो र डाक्टरको सिफासिरमा बिक्री गरिन्थ्यो । कतिपय न्युट्रास्युटिकल ट्याबलेट र क्याप्सुल रुपमा आउने भएकाले औषधि जस्तै देखिएपनि काम छुट्टै गर्छ । औषधि व्यवसायमा काम गर्दा औषधोपचार गरेर रोग निको पार्नु ठूलो कुरा जस्तो लाग्थ्यो । तर अहिले न्युट्रास्युटिकल व्यवसाय सुरु गरेयता रोग लागेर उपचार गराउनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय जस्तो लाग्छ । नेपालमा कोराना महामारी र डेङ्गु फैलदा औषधि थिएन । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने र पौष्टिक आहारयुक्त खानेकुरा खाएर रोगसँग लड्ने क्षमता बढाउनुबाहेक विकल्प थिएन । न्युट्रास्युटिकल शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने आहारपूरक खाद्य हो ।


छानेर खरीद गर्न सक्ने वातावरण हुनुपर्छ


विदेशतिर फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सबै हेर्ने गर्छ । फार्मेसी पसलमा कस्मास्युटिकल र न्युट्रास्युटिकलका सामान छुट्टा छुट्टै ¥याकमा राखिएको हुन्छ । आफूलाई मन पर्ने कम्पनीको क्रिम, सन–प्रोटेक्सन खरिद गर्न सकिन्छ । न्युट्रास्युटिकल र कस्मास्युटिकलका उत्पादनहरू उपभोक्ताले छानीछानी खरिद गर्न सक्छन् । तर नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टा छुट्टै छ । यसले समस्या सिर्जना गरेको छ । । आम उपभोक्ताहरूले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिन सक्ने व्यवस्था गर्नुपर्छ ।

इम्युनिटी बुस्ट गर्न चिकित्सकको सिफारिस


विकसित मुलुकमा न्युट्रास्युटिकलको व्यापार ४ सय गुणाले बढेको छ । यो अधिकांशले प्रयोग गर्छन् । नेपालको सन्दर्भमा न्युट्रास्युटिकल भर्खरै आएको हो । नेपाली आम–उपभोक्तालाई त्यति ज्ञान छैन । चिकित्सकले बिरामी हुनाको कारण पहिचान गरेर निकट भविष्यमा पुनः बिरामी नहोस् भनेर एक दुइ महिनाका लागि न्युट्रास्युटिकल प्रेस्क्राइब गर्ने गरेका छन् । कतिपय न्युट्रस्युटिकल्स रोगको उपचारसँगै दिइन्छ । मिर्गौला, क्यान्सरका बिरामीहरुको कपाल झर्ने, जलन, कमजोरीपना, शरीर सुकेर जाने इत्यादि जटिल समस्या देखिन सक्छ । बिरामीको शरीरलाई चाहिने जति पौष्टिक तत्व दाल, भात, तरकारी र मासुले मात्र पुग्दैन । यस्तो अवस्थामा न्युन्ट्रास्युटिकलले आहारपूरक खाद्यको पूर्ति गर्दछ । बिरामीलाई स्वस्थ राख्न सहयोग गर्छ । बिरामीको इम्युनिटी बुस्ट गर्न चिकित्सकहरूले सिफारिस गर्छन् ।


गुणस्तरीय भएपछि मात्र भन्सार पास हुन्छ


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता हुने व्यवस्था नहुनेबेलासम्म त्यति कडाइ थिएन । बि.सं.२०७२ सालमा विभागले दर्ता प्रक्रिया शुरू गर्यो। भन्सार विभागमा चेकिङसुरू हुन थाल्यो । २०७४ सालपछि चेकिङमा कडाइ भएको पाइन्छ । नेपाल सरकारको तर्फबाट न्युट्रास्युटिकल आयात गर्नेबेला नै भन्सार विभागमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर जाँच गर्छ । प्रमाणपत्रमा उल्लेख भएबमोजिम गुणस्तर पाइएमा मात्र सामान नेपाल भित्रिन्छ । गुणस्तरहीन सामान ल्याइएको अवस्थामा भन्सार पास हुन पाउँदैन । खाद्य सुरक्षा ऐन २०८० आएपछि गुणस्तरमा झनै कडाइ हुन्छ ।


उद्देश्य खुलाएर छुट्टा छुट्टै तरिकाले डिस्प्ले गरेर बेच्ने

विप्लव रञ्जित-अध्यक्ष, नेपाल न्युट्रास्युटिकल कस्मेस्युटिकल एसोसिएसन


नेपालको सन्दर्भमा फर्मास्युटिकल्स, कस्मास्युटिकल्स र न्युट्रास्युटिकल्स एउटै डिस्प्लेमा राखेर विक्री वितरण गरेको पाइन्छ । यसले समस्या सिर्जना गरेको छ । यसमा औषधि व्यवस्था विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग, उत्पादक कम्पनी, आयातकर्ता कसैको पनि गल्ती देख्दिनँ । औषधि पसलबाट न्युट्रास्युटिकल्स, कस्मास्युटिकल्स र सर्जिकल सामान बेच्न चाहने व्यवसायीहरूले वाणिज्य विभाग, स्थानीय सरकार र वडा कार्यलयमा उद्देश्य खुलाएर छुट्टा छुट्टै तरिकाले डिस्प्ले गरेर बेच्न सक्छन् ।

फार्मेसी पसललाई व्यवस्थित बनाउन जरूरी


औषधि व्यवस्था विभागले नियमित औषधिको अनुगमन गरिरहेको छ । विभागले न्युट्रास्युटिकललाई हस्तक्षेप गरेको छैन । एउटै ठाउँमा औषधि, न्युट्रास्युटिकल्स र कस्मास्युटिकल मिसाएर नबेच्न पटक पटक अनुरोध गरेको छ । फार्मेसी पसललाई व्यवस्थित बनाउन जरूरी छ


व्यवस्थित हुने कुरामा पूर्ण विश्वास


न्युट्रास्युटिकलको क्षेत्रमा त्यति समस्या देख्दिनँ । बितेका दिनमा औषधि व्यवस्था विभागले फार्मेसी पसलहरूमा न्युट्रास्युटिकल्स बिक्री वितरण गर्न नदिने कुरा चलेको थियो । अन्य क्षेत्रबाट कुनै समस्या छैन । हामीले बि.सं.२०७२ सालदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गरेर न्युट्रस्युटिकल्सको व्यवसाय गरिरहेका छौँ । अहिले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८० चैत २१ गते प्रतिनिधिसभाको वहुमतले पारित गरिसकेकाले अझ व्यवस्थित हुने कुरामा पूर्ण विश्वस्त छौं ।

प्रतिक्रिया दिनुहोस्