Logo
|
Saturday 27th July 2024
Logo

epaper

अतिविपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा



नेपाल हेल्थ न्युज, बनियानी (झापा) । झापाको कचनकवल गाउँपालिकाले यहाँका पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

गाउँपालिकावासीमा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको हो । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले पालिकाको नीति तथा कार्यक्रममै बजेट विनियोजन गरेर चालु आर्थिक वर्षमा पाँच सय परिवारको निःशुल्क बीमा गरिएको जानकारी दिनुभयो ।

“अघिल्लो वर्ष एक हजार परिवारको बीमा गरेका थियौँ”, उहाँले भन्नुभयो “यहाँ आर्थिक रूपले विपन्न परिवारको बसोबास धेरै छ, उहाँहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ ।”

गत वर्ष गरिएका एक हजार परिवारले नवीकरण गर्दा बीमा शुल्कको २५ प्रतिशत रकम बुझाउनुपर्ने उहाँले बताउनुभयो । कचनकवलले अतिविपन्नसँगै पालिकाभित्रका गर्भवती महिलाको समेत निःशुल्क स्वास्थ्य बीमा गर्ने गरेको छ ।

कचनकवल गाउँपालिकामा वार्षिक सामाजिक सुरक्षा भत्तामार्फत पाँच करोड ९५ लाखभन्दा बढी खर्च हुने गरेको अध्यक्ष राजवंशीले बताउनुभयो । गाउँपालिकामा चार हजार तीन सय चारजनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । चालु आवको चौथो त्रैमासिकसम्ममा सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या चार हजार तीन सय चार पुगेको गाउँपालिकाले जनाएको छ ।

सरकारले प्रदान गर्ने आठवटा ‘क्लस्टर’का एक हजार सात सय ४१ पुरुष र दुई हजार पाँच सय ७३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्