नेपालमा भारतको एमडीएच र एभरेस्ट ब्रान्डका साम्बर मसला, करी पाउडर र फिश करी मसला आयात नगर्न पत्राचार
हाल बजारमा भएका प्रतिबन्धित मसलाबारे भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मौन
नेपाल हेल्थ न्युज, काठमाडौँ । गुणस्तरबारे प्रश्न उठेपछि नेपालमा पनि केही भारतीय ब्र्यान्डद्वारा उत्पादित प्याकेटबन्द मसलामा तत्काल रोक लगाउन पत्राचार गरिएको बताएका छन्।
भारतका दुई चर्चित मसला कम्पनीहरूमाथि केही देशले प्रतिबन्ध र केहीले निगरानी गर्न थालेपछि नेपालले पनि ती कम्पनीका चार प्रकारका मसलाको आयातमा तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतका एमडीएच र एभरेस्ट ब्र्यान्डकका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा तत्काल रोक लगाउन सम्बद्ध सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ। “ती मसलाको आयात अनुमति जारी नगर्ने भनेर पत्राचार भइसकेको छ,” विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बताउनुभयो ।
विभागका अधिकारीहरूका अनुसार नेपालले आयात अनुमति रोक्न पत्राचार गरेका मसलाहरूमा एमडीएचबाट उत्पादित तीन प्रकारका मसला र एभरेस्टबाट उत्पादित एउटा मसला छन्। डोसा र इडलीसँगै खाइने दाल र तरकारीको परिकार बनाउन प्रयोग हुने एमडीएचको साम्बर मसला, तरकारीमा प्रयोग हुने मद्रास करी पाउडर र करी पाउडर मिक्स मसला छन्।
त्यस्तै एभरेस्टबाट उत्पादित माछाको परिकारमा प्रयोग गरिने फिश करीको आयातमा रोक लगाउन पत्राचार गरिएको अधिकारीहरूले बताए। नेपालमा भने ती मसलाहरूमा प्रतिबन्ध नभई तत्कालका लागि आयातमा रोक मात्रै लगाइएको अधिकारीहरूले बताएका छन्।
विभागले अन्य देशले निगरानीमा राखेका मसलायुक्त अन्य उत्पादनहरूको पनि गुणस्तर परीक्षण भइरहेको जनाएको छ। परीक्षणमा हानिकारक पदार्थ भेटिए अन्य मसलाहरूमा पनि प्रतिबन्ध लगाउनेबारे छलफल हुन सक्ने अधिकारीहरूले बताएका छन्। अब हुने आयातमा रोक लगाउने निर्णय गरेको पनि अहिले बजारमा भएका मसलाबारे भने विभागले केही भनिसकेको छैन।
आयातमा रोक लगाइनुको कारण
गत महिना सिङ्गापुर र हङ्कङले भारतीय कम्पनीहरू एमडीएच र एभरेस्ट का मसलामा एथलीन अक्साइड नामक क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ ठूलो मात्रामा पाइएको भन्दै आफ्नो देशमा बिक्रीमा रोक लगाएपछि कैयौँ देशमा ती ब्रान्डका मसलाहरूको गुणस्तर परीक्षण भइरहेको छ। माल्दिभ्स, बाङ्ग्लादेश र अस्ट्रेलियाका खाद्यपदार्थ नियमन गर्ने निकायहरूले पनि भारतीय मसलामाथि अनुसन्धान गरिरहेको विवरण सार्वजनिक भएका छन्।
भारतीय मसलाको ठूलो बजार चीन, अमेरिका र बाङ्ग्लादेशजस्ता देश भए पनि खानेकुराको संस्कृति र खुला सीमाका कारण नेपालमा पनि ठूलो मात्रामा भारतीय मसला आयात हुने गरेको छ। भन्सार विभागको चैत्र महिनासम्मको तथ्याङ्कअनुसार गत वर्षको नौ महिनामा चिया, कफीसँगै भारतबाट दुई अर्ब रुपैयाँको मसला आयात भएको छ।
नेपालका अधिकारीहरूले एथलीन अक्साइडको प्रयोगबारे संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ सङ्गठन र खाद्य तथा कृषि सङ्गठनले गठन गरेको ‘कोडेक्स एलिमेन्टारिअस कमिशन’ले बनाएको मापदण्डका आधारमा यस्तो रोक लगाइएको जनाएका छन्। सदस्यराष्ट्र भएकाले नेपालले पनि उक्त संस्थाले बनाएको मापदण्ड पालना गर्दै आएको छ।
यद्यपि ती मसलामा कुत तत्त्वको मिसावट कति मात्रामा भेटिएको थियो भन्ने विस्तृत जानकारी विभागले सार्वजनिक गरेको छैन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार खाद्य प्रविधि विभागले हालसम्म भारतीय मसलाको गुणस्तरबारे आफ्नो मातहतका निकायमा उजुरी नपरेको जनाएको छ।
तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने परीक्षणमा गुणस्तरमा कैफियत देखिएको अवस्थामा विभागले नेपालमा प्रतिबन्ध लगाउन सक्ने विभागका निर्देशक आनन्द पोखरेल बताउनुभयो । “नेपालमा पनि ती उत्पादनमा समस्या देखियो र रोक्नुपर्छ भनेर पत्र आयो भने विभागले रोक लगाउँछ,” उहाँले भन्नुभयो। नेपालको खाद्यसम्बन्धी कानुनमा हालै भएको संशोधनले गुणस्तर कायम गर्नुपर्ने विषयलाई थप कडाइ गरेको अधिकारीहरू बताउँछन्।
नेपाली मसलाहरूको अवस्था के छ
नेपालमै उत्पादित बेसारमा लीड भनिने अखाद्य पदार्थको मिसावट तोकिएको सीमाभन्दा धेरै भएकोबारे पटकपटक प्रश्न उठ्ने गरेको छ। तर नेपालमा उत्पादन भएका मसलाहरूबारे हालसम्म उजुरी नपरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक पोखरेलले बताउनुभयो । “बरु हाम्रोमा आयुर्वेदिक औषधिले स्वास्थ्यमा असर गर्यो भनेर उजुरी परेको छ तर मसलाका कारण असर पुग्यो भनेर उजुरी आएको छैन,” उहाँले भन्नुभयो । बीबीसी