Logo
|
Saturday 11th January 2025
Logo

epaper

नेपालमा औषधि सेवन गर्ने ५० प्रतिशतको मात्र रक्तचाप नियन्त्रणमा

४७ लाखमध्ये १० लाखलाई मात्र आफ्नो उच्च रक्तचापबारे जानकारी



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुमान गरेको छ । तीमध्ये १० लाखलाई मात्र आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको छ । ४ लाखले औषधि सेवन गर्ने गरेका छन् । औषधि सेवन गर्नेमध्ये दुई लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको महाशाखाले जानकारी दिएको छ ।

वयस्कहरु उच्च रक्तचापको जोखिममा
विश्व स्वास्थ्य संगठनको हालै सार्वजनिक तथ्यांक अनुसार, विश्वभर ३०—७९ वर्ष उमेर समूहका करिब १ अर्ब २८ करोड वयस्कहरूलाई उच्च रक्तचाप छ । यसमध्ये दुई तिहाइ कम र मध्यम आय भएका देशहरूमा बस्ने गर्छन् । उच्च रक्तचाप भएका करिब ४६ प्रतिशत वयस्कहरूलाई उच्चरक्तचाप भएको पत्तै हुँदैन ।

उच्च रक्तचाप भएकामध्ये आधाभन्दा कम अर्थात ४२ प्रतिशतवयस्कले मात्र निदान र उपचार सेवा प्राप्त गरिरहेका छन् । उच्च रक्तचाप भएका ५जना वयस्कमध्ये लगभग १ जना (२१ प्रतिशत) ले मात्र यो नियन्त्रणमा राख्न सकेका छन् ।

उच्च रक्तचाप विश्वभर समयपूर्व हुने मृत्युको प्रमुख कारण हो । सन् २०१० र २०३० को बीचमा उच्च रक्तचापको प्रकोप ३३ प्रतिशतले घटाउने विश्वव्यापी लक्ष्यहरू मध्येको एक हो ।

जटिल रुप लिनसक्ने
रक्तचाप १४०/९० पुगेमा उच्चरक्तचाप मानिन्छ । यो रक्तनलीहरूमा दबाब बढेपछि हुने समस्या हो । तर समयमा उपचार नगरेमा यसले जटिल रुप लिनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । कतिपयले उच्च रक्तचाप भएको पत्तै पाउँदैनन् । रक्तचाप दुई संख्यामा लेखिएको हुन्छ । पहिलो (सिस्टोलिक) नम्बरले मुटुको धड्कन हुँदा रक्तनलीहरूमा भएको दबाबलाई जनाउँछ । दोस्रो (डायास्टोलिक) नम्बरले धड्कनको बीचमा मुटु आराम गर्दा नसाहरूमा भएको दबाबलाई जनाउँछ ।

जोखिम कारक
परिमार्जनयोग्य जोखिम कारकहरूमा अस्वस्थ्यकर आहार (जतैः नुन खपत, संतृप्त फ्याट र ट्रान्स फ्याटको उच्च आहार, फलफूल र तरकारीहरूको कम सेवन, शारीरिक निष्क्रियता, सुर्ती र रक्सीको खपत र अधिक तौल वा मोटोपना) रहेका छन् । परिमार्जन गर्न नसकिने जोखिम कारकहरूमा उच्च रक्तचापको पारिवारिक इतिहास, ६५ वर्षभन्दा माथिको उमेर र मधुमेह वा मिर्गौला रोग रहेका छन् ।

उच्च रक्तचापका कारण हुने अनियमित मुटुको धड्कनले अचानक मृत्यु निम्त्याउन सक्छ । उच्च रक्तचापले मस्तिष्कमा रगत र अक्सिजन आपूर्ति गर्ने धमनीहरू पनि फुट्न वा अवरुद्ध गर्न सक्छ जसले स्ट्रोक निम्त्याउँछ ।

लक्षण
उच्च रक्तचाप भएका अधिकांशले कुनै लक्षण महसुस गर्दैनन् । धेरैउच्च रक्तचापले टाउको दुख्ने, धमिलो दृष्टि, छाती दुख्ने लगायतका लक्षण निम्त्याउन सक्छ। रक्तचाप उच्च भएमामिर्गौला, मुटु रोग र स्ट्रोक जस्ता समस्यादेखिनसक्छ।धेरै उच्च रक्तचाप (सामान्यतया १८०/१२० वा त्यो भन्दामाथि)भएकाहरूमा गम्भीर टाउको दुखाइ, छातीको दुखाइ, चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, बान्ता आउने, धमिलो दृष्टि वा अन्य दृष्टि परिवर्तन,कानमा आवाज गुन्जिरहने, नाकबाट रगत बग्ने, असामान्य मुटु हल्लिने आदि हुनसक्छ ।

उपचार र रोकथाम
विश्व स्वास्थ्य संगठनका अनुसार, यसको एक मात्र उपाय बेलाबेलामा रक्तचाप जाँच गराउनु नै हो । कतिपयले स्वचालित यन्त्रहरू प्रयोग गरेर आफै पनि रक्तचाप मापन गर्न सक्छन् ।

जीवनशैली परिवर्तनले उच्च रक्तचाप कम गर्न मद्दत गर्छ। संगठनका अनुसार, स्वस्थ आहार, सुर्तीजन्य पदार्थ त्याग्ने र बढी सक्रिय हुने गर्नाले रक्तचाप कम गर्न मद्दत गर्छ । तर कतिपयलाई उच्चरक्तचाप नियन्त्रणका लागि चिकित्सकको सिफारिसमा औषधिसमेत सेवन गर्नुपर्ने हुनसक्छ ।

रक्तचाप १३०/८० भन्दा कम राख्न सकेमा मुटुु रोग वा स्ट्रोक, मधुमेह, दीर्घमिर्गौला रोगजस्ता समस्या न्युनिकरणमा लक्ष्य हाँसिल गर्न सकिन्छ । अधिकांशले १४०/९० भन्दा कम रक्तचाप राख्ने लक्ष्य लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्