Logo
|
Wednesday 19th June 2024
Logo

epaper

औँलो रोग फैलिन नदिन ‘जीन’ फेरिएको र नटोक्ने लामखुट्टे छाडियो

वंशाणु फेरिएको लामखुट्टेले कसरी औलो रोग रोक्न सक्छ ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । मलेरिया अर्थात् औलो रोग सार्ने मिचाहा प्रकारको लामखुट्टे फैलिन नदिन एक अफ्रिकी मुलुक जिबूटीमा जीएमओ अर्थात् आनुवंशिक परिवर्तन गरिएको लामखुट्टे ठूलो सङ्ख्यामा छोडिएको छ। यूकेको बायोटेक्नोलजी कम्पनी अक्सिटेकुले वंशाण परिवर्तन गरेको अनोफलीज स्टेफन्सी प्रजातिका भाले लामखुट्टेहरूले मान्छेलाई टोक्दैनन्। बरु तिनबाट जन्मेका पोथी सन्तान कलिलै उमेरमा मर्छन्।

पोथी लामखुट्टेले मात्र मान्छेलाई टोक्छन्। तिनैले औलो तथा अन्य भाइरल रोग फैलाउँछन्। पूर्वी अफ्रिकामा औलो नियन्त्रण गर्ने उद्देश्यले पहिलो पटक त्यस्ता लामखुट्टे प्रयोग गरिएको हो। अफ्रिकामा भने यो दोस्रो अवसर हो।

यो विधिले कसरी काम गर्छ ?
ब्रजिल, केइमन आइल्यान्ड्स, प्यानमा र भारतमा यो विधि सफल भएको रोग नियन्त्रण तथा रोकथाम गर्ने अमेरिकी निकाय सीडीसीले जनाएको छ। सीडीसीका अनुसार सन् २०१९ पछि विश्वभरि वंशाणुमा परिवर्तन गरिएका एक अर्ब वटाभन्दा बढी लामखुट्टे छोडिएको छ। जिबूटीको एउटा सहरमा लामखुट्टेको पहिलो खेप बिहीवार छोडिएको हो। अक्सिटेक लिमिटेड, जिबूटी सरकार र असोसिएशन म्यूचालिस नामक गैरसरकारी संस्थाको साझेदारीमा यो नमुना परीक्षण सञ्चालन गरिएको हो।

प्रतिरोधात्मक क्षमता बढेको मलेरिया परजीवी एशियामा फैलिँदै
‘हामीले मान्छेलाई नटोक्ने र रोग नसार्ने राम्रो लामखुट्टे बनाएका छौँ। अनि हामीले बाहिर छोडेपछि यी मित्रवत् लामखुट्टे जङ्गली लामखुट्टेका पोथी खोज्न थाल्छन् र समागम गर्छन्’, अक्सिटेकका ग्रे फ्र्यान्ड्सनले बीबीसीलाई बताए।

प्रयोगशालाबाट उत्पादित ती लामखुट्टेमा एउटा यस्तो जीन हुन्छ जसले आफूबाट जन्मेका पोथी सन्तानलाई वयस्क होउन्जेलसम्म जीवित रहन दिँदैन। भाले सन्तान मात्र बाँच्छन् तर अन्ततः ती मासिने यो योजनामा संलग्न वैज्ञानिकहरूको दाबी छ। बुर्किना फासोमा सन् २०१८ मा अर्कै प्रजातिका भाले लामखुट्टे छोडिएको थियो। तिनले प्रजनन गर्न सक्दैनथे।

जिबूटीमा अनोफलीज स्टेफन्सी लामखुट्टे सन् २०१२ मा पहिलो पटक देखा परेको थियो। दुई वर्षअघि उक्त बाहिरिया र मिचाहा जातको लामखुट्टेलाई फैलिन नदिन एउटा कार्यक्रम सुरु गरियो। सोही कार्यक्रमअन्तर्गत नै अहिले आनुवंशिक परिवर्तन गरिएको सोही प्रजातिको लामखुट्टेका भालेहरू प्रयोग गरिएको हो।

जिबूटी औलो निर्मूल पार्ने बाटोमा थियो। तर उक्त प्रजातिको लामखुट्टे देखा परेपछि औलोका ३० बिरामी फेला परे। त्यसपछि सन् २०२० सम्म बिरामीको सङ्ख्या ह्वात्तै बढेर ७३,००० पुग्यो। उक्त प्रजातिको लामखुट्टे अहिले अरू अफ्रिका देश इथिओपिया, सोमालिया, केन्या, सुडान, नाइजिरिया र घानामा पाइन्छ।

के हो अनोफलीज स्टेफन्सी ?
अनोफलीज स्टेफन्सी प्रजातिको लामखुट्टे एशियाबाट अन्यत्र फैलिएको हो। यो लामखुट्टे नियन्त्रण गर्न निकै गाह्रो हुन्छ। यसलाई सहरिया लामखुट्टे पनि भनिन्छ। यो लामखुट्टे मानिसले नियन्त्रण प्रयोग गर्ने तरिका छल्न सक्षम भइसकेको छ। यसले राति मात्र हैन, दिउँसो पनि टोक्छ। यो लामखुट्टे रासायनिक कीटनाशक प्रतिरोध गर्न सक्ने भइसकेको छ। यो लामखुट्टेले औलोको परजीवी र अरू रोग लगाउने भाइरस मानिसलाई सार्छ। औलो घातक रोग हो। यसले प्रत्येक वर्ष विश्वभरि छ लाखभन्दा बढी मानिसको ज्यान लिन्छ।

जीएमओबारे प्रश्न
अफ्रिकामा आनुवंशिक परिवर्तन गरिएको जीव (जीएओ) को प्रयोग सधैँ विवादमा पर्ने विषय हो। पर्यावरणवादी समूह र अभियानकर्ताहरूले तिनबाट पारिस्थितिक प्रणाली र विद्यमान खाद्यचक्रमा नराम्रो प्रभाव पर्न सक्ने चेतावनी दिएका छन्। अक्सिटेकका फ्र्यान्ड्सनले आफ्नो कम्पनीले विकसित गरेको लामखुट्टेका कारण १० वर्षमा पर्यावरण र मानिसको स्वास्थ्यमा कुनै दुष्प्रभाव पुगेको नदेखिएको बताएका छन्।

‘हामीले पर्यावरणमा छोड्ने जीवबाट हानि नपुगोस् र त्यो निकै प्रभावकारी हुन्छ भन्ने सुनिश्चित गर्न हामी ध्यान दिन्छौँ। पर्यावरणमा कुनै प्रभाव पर्दैन। ती लामखुट्टे हानिरहित छन् र कुन प्रजातिलाई निसाना बनाउने भन्ने कुरा छुट्टिएको छ,’ उनले भने।

आनुवंशिक परिवर्तन गरिएको जीन लामखुट्टेको मुखबाट निस्किने तरल पदार्थमा नपाइने अक्सिटेकले जनाएको छ। ती लामखुट्टेले टोकिहाले भने पनि उक्त जीनले मानिसमा कुनै प्रभाव पार्दैन। यो उपाय विवादास्पद हुन सक्छ तर यसले भोलिको बाटो निर्धारण गर्छ, जिबूटीको राष्ट्रपतिका स्वास्थ्य मामिलाका सल्लाहकार डा. अब्दुलिलाह अमहद अब्दीले भने। यो चरण सफल भयो भने जिबूटीमा थप परीक्षण गरिने छ अनि अर्को वर्षसम्मै जीएमओ लामखुट्टे प्रयोग गरेर औलो नियन्त्रण गर्ने अभियान सञ्चालन हुने छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्