Logo
|
Saturday 27th July 2024
Logo

epaper

भरतपुर अस्पतालमा आइपुग्यो थ्री टेस्ला एमआरआई मेसिन

दैनिक २० वटासम्म रोगको परीक्षण गर्न सकिने



नेपाल हेल्थ न्युज, चितवन । चितवन जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो ।

अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको उक्त मेसिन अस्पताल ल्याइएको हो । ‘थ्री टेस्ला ६४ च्यानल’को उक्त उपकरण आधुनिक भएको भन्दै उहाँले मुटु, नसालगायत रोगको परीक्षणमा प्रभावकारी हुने बताउनुभयो ।

डा पौडेलले भन्नुभयो “अत्याधुनिक भएकाले सबै खालका परीक्षण गर्न सकिन्छ । योसँगै अस्पतालबाट बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छौँ ।” एमआरआई मेसिनबाट दैनिक २० वटासम्म रोगको परीक्षण गर्न सकिने उहाँको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार सबै सामग्री आइसकेकाले तीन साताभित्र सञ्चालनको तयारी भइरहेको छ । झन्डै १८ महिना पहिला सम्झौता गरेर अहिले उक्त उपकरण अस्पताल आइपुगेको उहाँले जानकारी दिनुभयो ।

“भरतपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू छ । अहिले एमआरआई नहुँदा बिरामी रिफर गरेर बाहिर पठाउनुपर्ने बाध्यता थियो”, डा तिवारीले भन्नुभयो “अब बीमा र अन्य बिरामीले अस्पतालबाटै सहज सेवा पाउने भएका छन् ।” निजीको तुलनामा सस्तोमा एमआरआई हुने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्