Logo
|
Saturday 27th July 2024
Logo

epaper

 यार्सा खोज्न जाँदा मृत्युसँग पौँठेजोरी: न स्वास्थ्यकर्मी न औषधि



नेपाल हेल्थ न्युज,काठमाडौँ । सुर्खेतमा कानुन विषय पढिरहेका छोराको अध्ययन खर्च जुटाउन बारेकोट– ५, नायकवाडा जाजरकोटका मानबहादुर सिंह बर्सेनि कमाइ गर्न कहिले कालापार ९भारत० त कहिले भोट (पाटन) पुग्ने गर्छन्।

कोठा भाडा, खाना र अध्ययन खर्च गरी उनले हरेक महिना कम्तीमा २०,००० रुपैयाँ छोरालाई पठाउनुपर्छ। यो खर्च जुटाउन उनको न कुनै जागिर छ, न त आम्दानीको अरू कुनै गतिलो स्रोत नै छ।

कमाइका लागि कालापार र यार्सा टिप्न पाटन जानुपर्ने बाध्यतामा रहेका उनी यसपालि भने यार्सा टिप्न डोल्पा जाँदा मृत्युको मुखमा परेर उम्किएको बताउँछन्।

ऋण लिनुपर्ने बाध्यता
यार्सा टिप्न डोल्पाको ग्यालबारा पाटन पुगेका उनी जेठ १८ गते राति एक्कासि बिरामी परे। सास फेर्न गाह्रो र टाउको निकै दुख्न थालेपछि कमाइको माया मारी अस्पताल भर्ना भएर बाँच्न सकेको उनी बताउँछन्।

तीन दिनदेखि जिल्ला अस्पताल डोल्पामा उपचार गराइरहेका उनले बीबीसीसँग भनेः “सायद लापरवाही गरेको भए मरिन्थ्यो होला। समयमै सावधानी अपनाउँदा बाँचेँ।” छिमेकीसँग ऋण लिएर राम्रो कमाउने आशाले यार्सा टिप्न पाटन पुगेका उनी कमाइ गर्नुको साटो उल्टै ऋण थपेर घर फर्किनुपर्ने बाध्यता आइलागेको सुनाए। घर पुगेर केही समयपछि फेरि कालापार जाने योजना बनाएका उनी कानुन पढ्दै गरेका छोरा र गाउँमै ११ कक्षामा पढ्दै गरेकी छोरीलाई राम्रो शिक्षा दिन चाहन्छन्।

यार्सा टिप्न डोल्पाको टाक्सी पाटन पुगेका रुकुप पश्चिमको आठबीसकोट नगरपालिका-५,गोतमकोटका गङ्गाराम विक पनि मुस्किलले कालबाट बचेको बताउँछन्। आर्थिक अवस्था कमजोर भएका उनी तीन छोराछोरीको पढाइ खर्च जुटाउन र घरव्यवहार चलाउन श्रीमतीसहित यार्सा टिप्न डोल्पाको टाक्सी पाटन पुगेका थिए।

अब कीरा टिप्न आउँदैनौँ
पाटन पुगेकै दिन लेक लागेर बिरामी भएपछि मान्छेलाई बोक्न लगाएर श्रीमती सुनिता पाटनबाट तल झरिन्। बाटोमा मान्छे, अटो, घोडा र मोटरसाइकबाट मुस्किलले चार दिनमा उनलाई अस्पताल पुर्‍याइएको उनले बताइन्।

गाउँकै सहकारीबाट ५०,००० रुपैयाँ ऋण गरेर श्रीमान्‌सँगै यार्सा टिप्न पुगेकी सुनिता भन्छिन्, “ठूलो कालबाट बचेर आउनुभयो। बरु मागेर खाऔँला, अब त कहिल्यै कीरा टिप्न आउँदैनौँ। जीवन छ त सबथोक छ, जीवन छैन त केही पनि छैन।”

ऋण गरेर लगेको सबै रुपैयाँ उनले श्रीमान्‌लाई अस्पताल पुर्‍याउनमा खर्च गरेको बताइन्। अहिले उनी जिल्ला अस्पताल दुनैमा उपचार गराइरहेका छन्। श्रीमतीका कारण नयाँ जीवन पाएको बताउने उनी शायद श्रीमती साथमा नभएको भए बाँच्न गाह्रो हुने बताउँछन्। पाटनमा लेक लाग्छ भनेर सजग भए पनि लेक लाग्दा औषधिले कामै नगरेको उनी बताउँछन्।

दुःखैदुःख
गङ्गाराम विकले बीबीसीसँग भनेः “राम्रो कमाइको आशामा यार्सा टिप्न आएको थिएँ। उल्टै ऋणको भारी बोकेर फर्किनुपर्ने बाध्यता आइलाग्यो। हुन त बाँचियो भने ऋण तिरिहालिन्छ होला।”

झन्डै आठ वर्षदेखि लगातार यार्सा टिप्दै आएका त्रिपुरासुन्दरी नगरपालिका-८, डोल्पाका विष्णुबहादुर बुढा पनि यसपालि मृत्युलाई जित्न सफल भएको बताउँछन्।

यार्सा टिप्न डोल्पाकै बाउलीगाड पाटन पुगेको चार दिनमा उनलाई लेक लागेको थियो। “केही हुँदैन भनेर पचाउन खोजेको भए ज्यानै जाने रहेछ। टाउको दुख्न, रिँगटा लाग्न र सास फेर्न गाह्रो हुन थालेपछि तुरुन्तै फर्केर बाँचेँ,” उनले भने।

डोल्पासहित, जुम्ला, मुगु, जाजरकोट, रुकुम पश्चिम र पूर्वबाट दशौँ हजार मानिस यार्सा टिप्न डोल्पाका विभिन्न पाटनहरूमा पुगेका छन्। उनीहरूमध्ये कतिपय बाटोमा जाँदाजाँदै र कतिपय पाटनमा पुगेपछि लेक लागेर बिरामी हुने गर्छन्।

बहुमूल्य जडीबुटी यार्सा टिप्न पाटन जाने अरू पनि उनीहरूले जस्तै समस्या र दुःख झेल्ने गरेको बताउँछन्। कमाइ गर्ने आशामा पाटन पुगेकाहरू लेक लागेर बिरामी भएपछि निराश हुँदै घर फर्किने गरेको गुनासो गर्छन्।

लेक लागेर घर फर्किएका जाजरकोटका लोकेन्द्र बादी पहिलाको जस्तो यार्सा पनि नभेटिएको र लेक लागेर बिरामी हुँदा उल्टै २०,०००/२५,००० रुपैयाँ ऋण लागेर घर फर्किनुपरेको बताउँछन्।

न स्वास्थ्यकर्मी न औषधि
विशेषतः डोल्पाका टाक्सी, बागनारा, ग्यालबारा, मिर्कु, बाउलीगाड, भाङका, भोक्का, कागमारा, कुनास, ठाग, प्यारीगुफा, नाउरे, फूलबारी, सागर, माटे पाटनहरूमा लेक लाग्छ। उच्च जोखिमपूर्ण पाटनहरूबाट बिरामी भएर डोल्पा सदरमुकामसम्म पुग्न कम्तीमा पनि तीन दिन लाग्छ।

बिरामीलाई पाटनमा लेक लाग्यो भने उपचार गर्ने न त स्वास्थ्यकर्मी हुन्छन्, न त औषधि नै पाइन्छ। उनीहरूलाई अस्पताल पुर्‍याउन पनि निकै कठिन हुँदा कतिपयको ल्याउँदाल्याउँदै बाटोमै ज्यान जाने गर्छ। बिरामी पर्नेबित्तिकै तल झर्नेहरू बाँच्न सफल हुन्छन् भने ढिलो झर्ने र लापरवाही गर्नेहरूलाई थप जटिलता आउन सक्ने चिकित्सकहरू बताउँछन्।

जिल्ला अस्पताल डोल्पाका प्रमुख डा अखण्ड उपाध्यायले यार्सा टिप्न पाटन जाँदा लेक लागेर गम्भीर बिरामी भएका ११ जनालाई बचाएको र अहिले केही बिरामीको उपचार भइरहेको बताए। उनका अनुसार अहिले पनि लेक लागेर उपचारका लागि डोल्पाका विभिन्न स्वास्थ्यसंस्था र अस्पतालमा आउने क्रम जारी नै ‍छ।

उनी कतै नबसेर एक्कासि पाटन पुग्दा लेक लाग्ने सम्भावना धेरै हुने भएकोले पाटनको फेदबाट कम्तीमा पनि दुई दिन लगाएर यार्सा टिप्ने ठाउँमा पुग्दा जोखिमबाट बच्न सकिने सुझाव दिन्छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार डोल्पाका पाटनमा लेक लागेर यो वर्ष कम्तीमा पाँच जनाले ज्यान गुमाएका छन्। उनीहरू सबैको उपचारका लागि ल्याउँदाल्याउँदै बाटोमै ज्यान गएको हो।

पाटन पुगेकामध्ये कम्तीमा पनि २० प्रतिशत मानिस बिरामी परेर, यार्सा नपाएर, ज्यान जोखिममा पर्ने डरले गर्दा पाटन पुगेको एक/दुई दिनमै ऋणको भारीसहित घर फर्किने गरेको बताउँछन्। यसरी घर फर्किनेहरूले सरकारले कर असुल्नुबाहेक आफूहरूलाई समस्या पर्दा नहेरेको अनभूति गरेका छन्।
बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्