Logo
|
Saturday 6th July 2024
Logo

epaper

एक वर्षकी बालिकाको मिनिपिसिएनएलबाट मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया

मिर्गौलामा पत्थरी हुनमा ८० प्रतिशत कारण व्यक्तिको आफ्नो रसायनिक प्रक्रियामा निर्भर



नेपाल हेल्थ न्युज, ललितपुर । वरिष्ठ इन्डोयुरोलोजिष्ट डा. संजय खड्गीले मिनिपिसिएनएल पद्धतिबाट एक वर्षकी बालिकाको मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया गर्नुभएको छ ।

धनगढीकी १ वर्षीया बालिका कायरा खड्काको कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीमा मिनिपिसिएनएल पद्धतिबाट १७ गते डा. खड्गी, एनेस्थेसियोलोजिष्ट प्रा.डा. बाबुराजा श्रेष्ठलगायतको टोलीले मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया गरेको हो । कायराको देब्रे मिर्गौलामा ११.७ एमएम साइजको पत्थरी थियो । पत्थरीका कारण मिर्गौला सुन्निएको थियो ।

‘शल्यक्रियापश्चात् अहिले बच्चाको अवस्था सामान्य छ । एक्सरे गरेर हेर्दा मिर्गौलामा कुनै पनि पत्थरी बाँकी छैन ।’— डा. खड्गीले भन्नुभयो—‘१८ गतेसम्म उनको मुत्रनलीमा पाइप हालिएको थियो । मुत्रनलीमा राखिएको पाइप पनि १९ गते निकालियो । हामीले ४८ घण्टासम्म एन्टिबायोटिक दिएका थियौं । बच्चा सामान्य अवस्थामा छ । असार २० गते एक डोज दिएर बच्चा डिस्चार्ज गरिएको छ ।’

मिनिपिसिएनएलमा मिर्गौला नजिकैको भागमा ५ मि.मि प्वाल बनाएर दूरबीन भित्र पठाएर पत्थरी फोड्ने र सबै बाहिर निकाल्ने) गर्नुपर्छ । यसलाई अहिलेको भरपर्दो प्रविधि मानिन्छ ।

वरिष्ठ इन्डोयुरोलोजिष्ट डा. संजय खड्गी

डा. खड्गीले अहिलेसम्म कुल १३ हजारको मिनिपिसिएनएल पद्धतिबाट मिर्गौलाको पत्थरी निकालेको बताउनुहुन्छ । यसमध्ये एक वर्षको बच्चाको गरेको यो दोस्रो हो । केही वर्षअघि डा. खड्गीले एक वर्षको बच्चाको शल्यक्रिया गरिसक्नुभएको छ ।
‘बच्चाहरुको शल्यक्रिया जटिलभन्दा पनि स्ट्रेसफूल हुन्छ किनभने बच्चामा रगतको मात्रा कमी हुन्छ । नसामा परेर ब्लिडिङ भएमा बिरामी क्रिटिकल अवस्थामा पुग्नसक्छ । त्यसो भएकाले बच्चालाई हरेक चिजबाट सुरक्षित गरेर शल्यक्रिया गर्नुपर्छ ।’ डा. खड्गीले भन्नुभयो ।

ठूला मान्छेलाई आधा वेहोस बनाएर गर्न सकिन्छ । त्यति टेन्सन हुँदैन । बच्चाहरुलाई पुरै वेहोस बनाउनुपर्छ । मिर्गौलामा पाइप हाल्दा पनि बच्चाको शल्यक्रिया पूर्व र शल्यक्रिया पश्चात् कम्प्लिकेसन आउन दिन हुँदैन । कुनै पनि मिर्गौलामा भएको पत्थरी एकपटक निकाली सकेपछि ५ वर्षमा आउनसक्ने सम्भावना ५० प्रतिशत हुन्छ ।

डा. खड्गीका अनुसार, बच्चाहरुमा ८० प्रतिशत मेटाबोलिक डिस्अर्डर (आफ्नो शरीरको रसायन प्रक्रिया) बाट मिर्गौलामा पत्थरी आउँछ । अहिले बच्चाका हर्मोन लेबल सामान्य छ । फलोअपमा आउने बेलामा यसको कारण के हो भन्ने कुरामा ध्यान दिने डा. खड्गीले जानकारी गराउनुभयो ।

शल्यक्रिया गरिएकी एक वर्षीया बालिका कायरा खड्का बुबा जयबहादुर खड्का र आमा सृजना धरालाका साथ

बच्चा बेलाबेलामा रुने, उल्टी गर्ने कारण धनगढीस्थित स्थानीय सञ्जिवी हस्पिटलमा अल्ट्रासाउन्ड गर्दा मिर्गौलामा पत्थरी पहिचान भएपछि थप उपचारका लागि बुबा जयबहादुर खड्का र आमा सृजना धरालाले बालिकालाई काठमाडौं ल्याउनुभएको थियो ।
बालबालिकामा मिर्गौलाको पत्थरी हुने सम्भावना १ वा त्यो भन्दा पनि कम प्रतिशत हुने सम्भावना रहन्छ । मिर्गौलामा पत्थरी हुनमा ८० प्रतिशत कारण व्यक्तिको आफ्नो रसायनिक प्रक्रियामा भर पर्छ । २० प्रतिशत कारण पानी कम पिउने, वंशाणुगत, प्याराथाइरोइड ग्रन्थीको बृद्धि, लामो समयसम्म झाडापखाला, जन्मजात मिर्गौलाको नलीमा अवरोध आदि हुन् ।

मिर्गाैलामा पत्थरी भएका कतिपय व्यक्तिमा लक्षण नदेखिन पनि सक्छ । तर कतिपयमा दायाँ भागको मिर्गौलामा पत्थरी भएमा मन्द दुःखाई हुनसक्छ । पिसाबमा रगत देखिनसक्छ । मिर्गौला सुन्निने कारण ज्वरो आउनसक्छ । शरीरमा इन्फेक्सन देखिनसक्छ । यसरी पत्थरी दायाँ वा वायाँ, नलीमा वा पिसाब थैली कहाँ छ भन्ने कुरा लक्षणका आधारमा थाहा पाउन सकिन्छ ।

खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीमा विपन्न वर्गका बिरामीका लागि न्युनतम शुल्कमा मिनिपिसिएनएल पद्धतिबाट सेवा उपलब्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्