Logo
|
Thursday 17th October 2024
Logo

epaper

त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा सुरु



नेपाल हेल्थ न्युज, नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा सिटी स्क्यान सेवा सुरु भएको छ ।बागमती प्रदेश सरकारको आर्थिक लगानीमा जडान गरिएको सिटी स्क्यान उपकरण मार्फत बिरामीको जाँच तथा परीक्षण सुरु भएको त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभयो । उहाँको अनुसार यसअघि जिल्लामा सिटी स्क्यान सेवा सञ्चालन नहुँदा उक्त उपकरणको सहायताले पत्ता लगाउनुपर्ने रोगका बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता अब अन्त्य भएको छ ।

“जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ ।” निर्देशक लामाले भन्नुभयो “बिरामीको रोग पत्ता लगाउन सहज भएसँगै अस्पतालले प्रवाह गर्ने सेवा र अस्पताल प्रतिको विश्वास समेत बढाउन उल्लेख्य सहयोग पुग्नेछ ।”

शरीरको भित्री अङ्गका रोग तथा चोटपटक थाहा पाउन अतिनै महत्वपूर्ण मानिने सिटी स्क्यान उपकरणले मस्तिष्क, टाउको, घाटी, छाती, पेट, आन्द्रा, नशा लगायत शरीरको भित्र अङ्गका रोगको पहिचानको लागी सहज हुने छ । सघन प्रकृतिका रोगको पहिचान र उपचारले अस्पतालले प्रवाह गर्ने सेवाको विस्तार र गुणस्तरमा समेत वृद्धि गराउन सकिने निर्देशक लामाको भनाई छ ।

सिटी स्क्यान सेवा उपभोगको लागी रोगका प्रकृति र जाँच गर्नुपर्ने अवस्था हेरेर अस्पतालले तीन हजार देखि आठ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । उक्त शुल्कमा बीमा गरेका बिरामीहरूले १० प्रतिशत मात्रै नगद भुक्तानी गरे हुने भएकाले बिरामीले एक हजार रुपैयाँ भन्दाकम शुल्कमा नै सिटी स्क्यानको सबै सुविधा उपभोग गर्न पाइने छ ।रेडियोनेपाल

प्रतिक्रिया दिनुहोस्