Logo
|
Thursday 9th January 2025
Logo

epaper

‘मस्तिष्क खाने परजीवी अमीबा’ का कारण मृत्युको मुखमा पुगेर बाँचेका भारतीय किशोर



नेपाल हेल्थ न्युज, काठमाडौँ । भारतको केरलाका एक १४ वर्षे विद्यार्थी मस्तिष्क खाने अमीबाको सङ्क्रमण भएको भए पनि बाँच्न सफल भएका छन्। मस्तिष्कमा हानि पुर्‍याउने परजीवीबाट हुने सङ्क्रमण प्रायः घातक हुन्छ। उनलाई त्यसरी मृत्युको मुखमा परेर बाँच्न सफल विश्वकै नवौँ व्यक्ति ठानिएको छ।

त्यसको श्रेय सामाजिक सञ्जालमा भएको एउटा जनचेतनामूलक अभियानलाई जान्छ। त्यसका आधारमा ती विद्यार्थीका पिताले उनलाई समयमै अस्पताल पुर्‍याएका थिए। केरलाको स्थानीय पोखरीमा पौडी खेल्न गएका बेला गत जुनमा १४ वर्षीय अफनान जसिम उक्त एककोषीय परजीवीबाट सङ्क्रमित भएको ठानिएको छ।

त्यसपछि २२ दिन कोझिकोडको अस्पतालमा बसेर उपचारपछि निको भएर जसिम घर फर्कनुको मुख्य कारण रोगको पहिचान समयमै हुनु हो।

उच्च मृत्युदर
वैज्ञानिक नाम नेग्लेरिया फाउलेरी भएको अमीबा‍ दूषित पानीबाट जसिमको शरीरमा पसेको हुन सक्ने चिकित्सकले बताए। यो रोगलाई प्राइमरी अमीओबिक मेनिन्गोएन्सेफलाइटिस (पीएएम) भनिन्छ। यसको सङ्क्रमण हुनेमध्ये लगभग ९७ प्रतिशतको मृत्यु हुने गरेको छ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शनका अनुसार सन् १९७१ र सन् २०२३ को बीचमा विश्वभरिमा यो रोग लागेका जम्मा आठ जना मात्रै बाँच्न सफल भएका छन्। उनीहरू अस्ट्रेलिया, अमेरिका, मेक्सिको र पाकिस्तानका हुन्।

यी सबै घटनाहरूमा लक्षणहरू सङ्क्रमण भएको नौ घण्टादेखि पाँच दिनको बीचमा पत्ता लागेका छन्। लक्षण कहिले पहिचान गरिन्छ भन्ने कुराले उपचार हुने र सङ्क्रमित व्यक्ति बाँच्ने कुरामा मुख्य भूमिका खेल्ने गर्छ।

रोकथाम र उपचार
विज्ञहरूका अनुसार यो रोगको उपचारको मुख्य उपाय भनेको समयमै उपचार गर्नु हो। पीएएम भएकाहरूमा टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने, मूर्च्छा पर्ने, भ्रमित हुने, घाँटी कडा हुने लगायत लक्षणहरू देखिन्छन्। अमीबा मानव शरीरमा नाकको प्वालबाट प्रवेश गर्ने र मस्तिष्कमुनि रहेको क्रिब्रिफर्म प्लेट हुँदै मस्तिष्कमा पुग्छ।

‘यो परजीवीले विभिन्न रसायनहरू निकाल्छ र दिमागमा क्षति पुर्‍याउँछ,’ अफनानको उपचार गर्ने डाक्टर अब्दुल रउफले भने।धेरैजसो बिरामीको टाउकोमा अत्यधिक दबावका कारण मृत्यु हुन्छ। डाक्टर रउफका अनुसार अमीबा सामान्यतया हल्का तातो तर नुनिलो नभएको पानी हुने तालमा भेटिन्छ।

“मानिसहरू पानीमा हाम फाल्न हुँदैन। यसो गर्दा अमीबा शरीरमा पक्का प्रवेश गर्छ। यदि पानी सङ्क्रमित छ भने अमीबा मानिसको नाक हुँदै शरीरमा पस्छ’ उनले भने।

उनका अनुसार सबैभन्दा उत्तम उपाय भनेको सङ्क्रमित पानीमा नजानु हो। स्विमिङ पुलमै पनि आफ्नो अनुहार पानीको सतहभन्दा माथि राख्न उनी सुझाउँछन्। ‘पानीको स्रोतमा क्लोरिन हाल्न एकदमै महत्त्वपूर्ण छ,’ डा रउफले भने।

कर्नाटक राज्यमा प्रकाशित एउटा अनुसन्धानपत्रका अनुसार भारतको स्थानीय स्तरमा होस् वा नाइजिरियामा यो रोग लाग्नेहरू नुहाउने पानीबाट सङ्क्रमित भएको पाइएको छ।

सन् १९६५ यता पीएएम बाट विश्वभरि करिब ४०० बिरामी भएको पाइन्छ। भारतमा भने अहिलेसम्म ३० भन्दा कम छन्। ‘केरलामा सन् २०१८ र २०२० मा पीएएमका बिरामी देखिएका थिए। यो वर्ष पाँच जना बिरामी देखिए,’ चिकित्सकले भने।

अफनानको उपचार कसरी भयो?

कोझिकोड जिल्लामा रहेको एउटा स्थानीय पोखरीमा पौडी खेल्न गएको पाँच दिनपछि अफनानमा लक्षणहरू देखिएका थिए। उनले आफूलाई अत्यधिक टाउको दुखेको गुनासो गर्थे र मूर्च्छा पर्थे।

उनका आमाबुवाले उनलाई चिकित्सककोमा देखाउन लगे तर सुधार भएन। तर भाग्यवश उनका ४६ वर्षीय बुवा एमके सिद्धिकीले आफूले सामाजिक सञ्जालमा पढेका लक्षणहरूसँग छोराको लक्षण दाँज्न दिमाग पुर्‍याए।

दूध किसान रहेका सिद्धिकीले आफूले निपा भाइरसका असरहरू र त्यसका कारण आफ्नो राज्यमा एक जना केटाको मृत्यु भएको सामाजिक सञ्जालमा पढिरहँदा घातक मस्तिष्क खाने अमीबा बारेको सूचना देखेका थिए। ‘सङ्क्रमणका कारण मूर्च्छा परेको भन्ने कुरा पढेँ। अफनान मूर्च्छा पर्नेबित्तिकै मैले नजिकैको अस्पताल लगेँ,’ सिद्धिकीले भने।

जब मूर्च्छा हुने क्रम रोकिएन, उनले छोरालाई अर्को अस्पताल लगे। तर त्यहाँ स्नायुविशेषज्ञ थिएनन्। अन्तिममा आफ्नै जिल्लास्थित बेबी मेमोरिअल हस्पिटलमा उनीहरू गए। त्यहाँ बालरोग विशेषज्ञ डाक्टर रउफ भेटिए।

रउफ यसको श्रेय सिद्धिकीलाई दिन्छन् किनकि उनले अफगानले नजिकैको पोखरीमा पौडी खेलेको र लक्षणहरूबारे जानकारी दिए। त्यसले गर्दा चिकित्सकहरूलाई रोगबारे पत्ता लगाउन सजिलो भयो। अफनानलाई अस्पताल लैजानुअघि केरलामै यो रोगका कारण तीन जनाको मृत्यु भइसकेको थियो।

त्यसपछि हामीले सरकारलाई जनस्वास्थ्यसम्बन्धी यो मुद्दाबारे बतायौँ र जनचेतनामूलक अभियान सुरु भयो, ‘डाक्टर रउफले भने। यही जनचेतनामूलक अभियानका कारण सामाजिक सञ्जालमार्फत् सिद्धिकीले लक्षणहरूबारे थाहा पाएका थिए।’

त्यसपछि चिकित्सकहरूले अफनानमा परीक्षणहरू गर्दा त्यसले उनको मस्तिष्क र मेरुदण्डमा भेटिने सेरेब्रोस्पाइनल फ्लूइडमा अमीबा देखिएको थियो। त्यसपछि उनको स्पाइनमा एन्टिमाइक्रोबाइअल औषधि दिइएको थियो। उपचारमा मिल्टेफोलेसाइन नामक औषधि पनि समावेश गरिएको थियो। यो औषधि भारतमा उपलब्ध नभएपछि जर्मनीबाट मगाइएको थियो।

‘यस्तै खालका बिरामीहरू देखिएपछि सरकारले आयात गरेको थियो। यो औषधि भारतमा दुर्लभ रोगहरूमा प्रयोग गरिन्छ, तर त्यति धेरै महँगो भने छैन,’ डाक्टर रउफले भने। ‘पहिलो दिन, मूर्च्छा परेका कारण बिरामी त्यति होसमा थिएनन्। तर तीन दिनपछि अफनानको अवस्था बिस्तारै सुध्रिन थाल्यो,’ उनले भने।

त्यसको एक सातापछि चिकित्सकहरूले परीक्षण दोहोर्‍याए र अफनानको शरीरमा अमीबा भेटिएन। तर उनले अर्को महिनासम्म औषधि लिने छन् र त्यसपछि मात्रै पढाइलाई निरन्तरता दिने छन्। यो अनुभवको अफनानमा एकदमै गहिरो प्रभाव परेको छ। उनी अब आफूलाई नर्सिङ पढ्न मन लागेको बताउँछन्। बिरामीका लागि नर्सहरूले एकदमै कठिन काम गर्छन्, उनले डाक्टरलाई भने, सिद्धिकीले भने। बीबीसी

प्रतिक्रिया दिनुहोस्