Logo
|
Saturday 28th September 2024
Logo

epaper

‘मेरो जीवनको सफलताः धैर्यता, लगनशीलता र सहनशीलता’




प्रा.डा बज्राचार्य अर्थो स्पाइन सर्जन हुनुहुन्छ । हाल उहाँ किष्ट मेडिकल कलेज शिक्षण अस्पतालको मेडिकल डाइरेक्टर, हाडजोर्नी विभाग प्रमुख र कलेजको क्लिनिकल को—अर्डिनेटर हुनुहुन्छ । अहिले उहाँ एसोशियसन अफ स्पाइन सर्जन अफ नेपालको महासचिव पनि हुनुहुन्छ । उहाँ यसको संस्थापक सदस्य पनि हो । यसैगरी डा.बज्राचार्यले नेपाल अर्थोपेडिक एसोसियसनको कार्यकारी सदस्य हुँदै कोषाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले एसोसिएसनको साइन्टिफिक मेम्बर भएर दुई वर्ष काम गर्नुभयो । डा. बज्राचार्यले बि.सं. २०५६ सालमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गर्नुभएको हो । उहाँ प्रतिष्ठानको पहिलो व्याचको विद्यार्थी हुनुहुन्छ । यहाँ २०५१ सालबाट एमबीबीएस अध्ययन शुरु भएको थियो । एमबीबीएस अध्ययन पश्चात् प्रतिष्ठानको स्कलरशीपमा अर्थोपेडिक्समा ३ वर्षे मास्टर्स इन सर्जरी (एमएस) कोर्ष गर्नुभयो । सो क्रममा उहाँलाई प्रतिष्ठानमा सिनियर रेजिडेन्ड, एसिस्टेन्ट प्रोफेसरसम्म बन्ने अवसर मिल्यो । बि.सं. २०६७ मा जापान, जर्मनी र न्युजिल्याण्डमा दुई वर्षको स्पाइन सर्जरी पढ्ने स्कलरसिप पाउनुभयो डा. बज्राचार्यले ।

न्युजिल्याण्डमा पिआरको अवसर मिलेको थियो । तर आफ्नै देशमा आएर काम गर्ने सोच बनाएकाले उहाँलाई त्यहाँ बस्न मन लागेन । नेपाल फर्किएपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उप—प्राध्यापकका लागि दिनुभएको जाँचमा सफल हुुनुभयो ।

त्यसपछि अर्थोपेडिक विभागमा इन्चार्जको जिम्मेवारी पाउनुभयो । त्यो बेला उहाँको काम इन्टर्नहरु हेर्ने र विद्यार्थी पढाउने थियो । बि.सं.२०७० सालमा सह–प्राध्यापकमा बढुवा हुनुभयो । त्यसपछि हाडजोर्नी विभागको प्रमुखको जिम्मेवारी पाउनुभयो । साथै डा. बज्राचार्यलाई एमबीबीएस कार्यक्रमको क्लिनिकल को–अर्डिनेटरको पनि जिम्मेवारी दिइयो । त्यो बेला उहाँ अस्पतालको उप–निर्देशक हुनुहुन्थ्यो । बि.सं.२०७६ सालमा प्राध्यापक हुनुभयो ।

डा. बज्राचार्यको घर ठमेलको थैंटि ग्वावाल हो । लैनचौरको आदर्श माध्यमिक विद्यालय (हाल आदर्श योगहरी) मा पढ्नुभयो । पढाइमा अब्वल हुनुहुन्थ्यो । कक्षामा जहिले पनि उत्कृष्ट अंक ल्याउनुहुन्थ्यो । बि.सं.२०४७ सालको एसएलसीमा सेभेन्थ वोर्ड हुनुभयो । यो देखेर बुबा आमाले सेन्टजेभियर्स कलेजमा भर्ना गरिदिनुभयो । सेन्जेभियर्समा त्यति धेरै टफ कम्पिटिसन हुँदा पनि पहिलो र दोस्रो वर्षमा फस्ट हुनुभयो । बोयोलोजीमा टप गर्नुभयो । आइएस्सीमा वायोमा बोर्ड सेकेन्ड हुनुभयो । आईएस्सी सकेपछि डाक्टर पढ्ने मनस्थिति सृजना भयो । त्यति बेला अवसर धेरै कम थियो । त्यो बेला इन्स्टिच्युट अफ मेडिसिन मात्र थियो । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भर्खर खुलेको थियो । जाँच दिएको नाम निस्कियो ।

दैनिकी कसरी बितिरहेको छ ?
म प्राज्ञिक र प्रशासनिक सँगै आध्यात्मिक मान्छे पनि हो । हरेक दिनको सुरुवात् शारीरिक अभ्यास, पूजापाठ र ध्यानबाट हुन्छ । बज्राचार्यले गर्नुपर्ने जप ध्यान नियमित गर्छु । सम्पूर्ण नित्यकर्म सकिएपछि ब्रेकफास्ट गरेर आफ्नो टाइममा मेडिकल कलेज जान्छु । कलेजमा बाँकी सम्पूर्ण प्रशासनिक काम जस्तोः नियमित नर्सिङ र प्रशासनिक मिटिङ, नयाँ डाक्टर र नर्सलाई इन्डक्ट गर्ने,पोष्ट ग्र्याजुएट विद्यार्थीलाई पढाउने लगायतको व्यवस्थापन गर्नुपर्छ । सातामा दुईवटा स्पाइन सर्जरी गर्छु । आफ्नो प्रशासनिक काम भ्याइसकेपछि हरेक दिन दिउँसो ३ देखि ४ बजेसम्म अपोइन्टमेन्ट बेसिसका ओपिडीमा बिरामी जाँच गर्छु । । साँझ ५ बजेपछि आफ्नो निजी क्लिनिकमा ३–४ घण्टाको समय बिरामीसँग बिताउँछु ।

आफ्नो कामप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
लगावका साथ आफ्नो काम गर्ने व्यक्ति जहिले पनि ह्याप्पी नै हुन्छ । कर–बरले जबर्जस्ती काम गर्दा मन नलाग्न सक्छ ।

मेरो विषय नै बिरामीको सेवा हो । त्यसैले अर्थोपेडिक र स्पाइनका बिरामीको उपचार छोड्न सक्दिन । म अहिलेपनि बिरामी त्यति नै हेर्छु । नियमित शल्यक्रिया गर्दै आएको छु । प्रशासनिक काममा पनि रमाइरहेको छु । यसले मनमा शान्ति र काममा उर्जा प्राप्त हुन्छ ।

कतिको सन्तुष्टी मिलेको छ ?
स्पाइन र अर्थोपेडिकमा आफूले दिनुपर्ने प्राज्ञिक र सर्जरी सेवा दिइरहेको छु । धेरै बिरामी खुशी छन् । सफल सर्जरी गरेको छु भन्ने लाग्छ । धेरै डाक्टर, आफ्ना आफन्त, पुराना शिक्षकहरुले विश्वास गरेर उपचारका लागि आउनुहुन्छ ।

अब्बल डाक्टरमा हुनुपर्ने गुण के के हुन् ?
समयखेर फाल्ने गरी काम गर्नुहुँदैन । लगनशील हुनुपर्छ । समयमा काम गर्नुपर्छ । आफ्नो उद्देश्य प्राप्तिका लागि निरन्तर लागिरहनुपर्छ ।

मेरो जीवनको सफलता भनेकै धैर्यता, लगनशीलता, सहनशीलता, विनम्रता, मौनता र कृतज्ञता हो । कसैले आफ्नो लागि केहि काम गरिदिएमा ‘थ्याङ्क यू’ भन्नुपर्छ । बिरामी र जुनियर कलिगसँग नम्र भएर बोल्नुपर्छ ।

उर्जा प्राप्त गर्न के गर्नुहुन्छ ?
भगवान बुद्धले आफ्नो चित्तशुद्ध राख्नुपर्छ भन्नुभएको छ । आफ्नो शरीर र चित्त शुद्ध भएमा संसार जित्न सकिन्छ । जबसम्म आफू शुद्ध भइँदैन तबसम्म अरुलाई शुद्ध बनाउन सकिँदैन । यद्यपी आफ्नो मन, कर्म र सोच शुद्ध हुनुपर्छ । त्यसपछि मात्र आफ्नो प्रतिभा प्रस्फोटित हुन्छ । अरुलाई दुःख र हानी पुर्याउने काम गर्न हुँदैन । बिरामीको पीडा बुझेर, मायाको भाव देखाएर, दुइ शब्द नम्र बोलेर उसलाई ठिक गर्न सकिन्छ । डाक्टरको अनुहार र व्यवहार देखेर ५० प्रतिशत रोग ठिक हुन्छ भनिन्छ । भगवान बुद्धले दिनुभएको उपदेश हरेक दिन पढ्छु । त्यसबाट उर्जा प्राप्त भएको महसुस हुन्छ ।

चिकित्सकको धर्म के हो ?
आजकल डाक्टर बन्न र डिग्री पाउन पढ्ने प्रचलन छ । त्यसको पछि नलाग्नुहोस् । यो समय, समर्पण र योगदान दिने विषय हो । त्यो भावसहित पढाइ सुरु गरेमा लक्ष्य प्राप्त गर्न सकिन्छ । मेडिकल शिक्षा अध्ययन गर्दै रहेका विद्यार्थीले छनोट गरेको विषय ठिक छ कि छैन ? यस क्षेत्रमा के गर्न सकिन्छ वा सकिदैन ? भन्नेबारे आत्मनिरीक्षण गरेर अघि बढ्न जरुरी हुन्छ ।

धेरै खर्च गरेर पढेकाले कमाउनुपर्छ भन्ने सोच बोकेको अवस्थामा कहिल्यै सफल भइँदैन । त्यसैले आफूले पढेका कुरालाई समाज र व्यक्तिमा समर्पण गर्ने भावले काम गर्नुपर्छ । चिकित्सा शिक्षा मानव समवेदनासँग नजिकिएको विषय हो । यसलाई चानचुने रुपमा लिन हुँदैन । प्रोफेसनको गरिमा बढाउन धेरै संयमित भएर काम गर्नुपर्छ ।

बिरामीको विश्वासिलो भएर रोग निको बनाउन सक्ने अवस्थामा आफूलाई उभ्याउन सक्नुपर्छ । आफूले नसक्ने र आफ्नो विषयभन्दा बाहिरका बिरामीलाई स्पेशलाईज डाक्टरकोमा रिफर गर्नुपर्छ । यो हाम्रो धर्म हो ।

प्रतिक्रिया दिनुहोस्