Logo
|
Saturday 28th September 2024
Logo

epaper

मनसुन र भाइरल समस्या: वर्षायामका १० खतरनाक रोग र बच्ने उपाय



वास्तवमा वर्षायाममा निम्तो नआएका पाहुनाले झैँ रोगले पनि ठक्कर दिन्छ । वर्षाका कारण धेरै ठाउँमा पानी जम्ने र फोहोर जम्मा हुने भएकाले लामखुट्टे र खतरनाक ब्याक्टेरियाको जन्म हुने गर्छ । पानी र हावाको माध्यमबाट यी ब्याक्टेरिया खाना र शरीरमा पुग्छन् र हामी ज्वरो, फ्लू जस्ता रोगमा फस्छौं । तर केही सावधानी अपनाएमा यस्ता रोगबाट बच्न सकिन्छ । मनसुनमा लाग्ने रोगलाई तीन वर्गमा विभाजन गरेर हेर्न सकिन्छ ।

सामान्य ज्वरो र चिसो
भाइरल ज्वरो मौसम परिवर्तनसँगै वातावरणमा आउने कीटाणुबाट हुने ज्वरो हो । तिनीहरू हावा र पानी मार्फत् फैलिन्छन् । सामान्य ज्वरो भाइरसको प्रकारमा निर्भर गर्दछ । यी फरक प्रकारका भाइरसहरू परीक्षण गर्न धेरै प्रविधिहरु उपलब्ध छैनन् ।

यसमा ज्वरो मात्र आउँछ । तर कतिपयमा खोकी र जोर्नी दुख्ने समस्या हुनसक्छ । तर तिनीहरू फ्लू, डेंगु वा चिकनगुनिया होइनन् । यसमा ज्वरो तीनदेखि सात दिनसम्म रहन्छ । यसको अवधि भाइरसमा निर्भर गर्दछ ।

बच्ने उपाय
सरसफाई नै रोकथामको उत्तम उपाय हो । खाना खानुअघि राम्रोसँग हात धुन अति आवश्यक हुन्छ । पौष्टिक आहार, ताजा खाना र फलफूल सेवन गर्न जरुरी हुन्छ । बाहिरका र बासी खानेकुरा खान हुँदैन ।

फ्लू
यस समयमा धेरैजसो फ्लू देखिनसक्छ जसलाई इन्फ्लुएन्जा पनि भनिन्छ । मनसुनको समयमा स्वाइन फ्लु पनि फैनिसक्छ । यो एक प्रकारको फ्लू हो तर यो बढी घातक हुनसक्छ । सामान्य रुघाखोकी हो कि स्वाइन फ्लु हो भन्ने अनुसन्धानपछि मात्र थाहा हुन्छ । यसले रुघाखोकी, उच्च ज्वरो र जोर्नी दुख्नसक्छ । यसका लागि सास फेर्ने मेसिन पनि आवश्यक पर्नसक्छ ।

धेरैजसो मानिसहरूलाई रुघाखोकी र घाँटीको समस्या आउने गर्छ जुन सामान्य फ्लूको लक्षण पनि हो । सामान्य फ्लू पाँचदेखि सात दिनसम्म रहन्छ । औषधि खाए पनि निको हुन धेरै समय लाग्नसक्छ । रुघाखोकी निको हुन १० देखि १५ दिन लाग्नसक्छ । स्वाइन फ्लुको ज्वरो पनि लामो समयसम्म रहनसक्छ । तर निमोनिया हुने खतरा हुन्छ ।

बच्ने उपाय
यी रोगहरु हरेक वर्ष आउने भएकाले खोप लगाएर बच्न सकिन्छ । भ्याक्सिनले फ्लुको प्रभाव कम गर्न मद्धत गर्छ । त्यसैले यो समयमा भीडभाडमा जान हुँदैन । जाँदा पनि मास्कको प्रयोग गर्नुपर्छ किनभने बिरामीले खोक्दा वा हाछ्युँ गर्दा अन्य व्यक्तिलाई पनि संक्रमण हुनसक्छ । फ्लू स्पर्शबाट पनि सर्नसक्छ ।

लामखुट्टेको टोकाइ
चिकुनगुनिया र डेंगु पनि भाइरसबाट लाग्ने रोग हुन् । तर ती लामखुट्टेको टोकाइबाट लाग्ने भेक्टर बोर्न रोग हुन् । यसमा जोर्नीको दुखाइसँगै उच्च ज्वरो आउँछ । साथै बान्ता हुने र टाउको दुख्ने समस्या पनि हुनसक्छ । डेंगुमा सुरुमा उच्च ज्वरो आउनसक्छ । आँखा पछाडि टाउको दुखाइ महसुस हुने गर्दछ । चिकुनगुनियामा जोर्नी दुखाइ बढी हुन्छ । सुरुको दुई वा तीन दिनसम्म धेरै ज्वरो आउनसक्छ । डेंगुमा प्लेटलेट्स कम भएका कारण शरीरमा दागहरू देखा पर्नसक्छन् जसलाई चकलेट भनिन्छ ।

बच्ने उपाय
नेपालमा चिकुनगुनिया र डेंगुको कुनै खोप छैन । डेंगुविरुद्धको खोपको विदेशमा परीक्षण भइरहेको छ । त्यसैले बच्नका लागि घर सफा राख्ने, कुलर, भाँडा, खाडल, र टायर आदिमा लामो समयसम्म पानी जम्मा हुन नदिनुहोला । तिनीहरूमा लामखुट्टेको प्रजनन हुने गर्दछ । खासगरी बालबालिकाहरुले फूल बाहुला भएको लुगा लगाउन जरुरी हुन्छ ।

वर्षायामका १० खतरनाक रोगबाट बच्नुस्
मनसुनको समय छ । यस मौसममा हामीले यी १० रोगहरूबाट आफूलाई बचाउन आवश्यक छ ।
डेंगु – विगत केही वर्षयता वर्षायाममा सबैभन्दा बढी डेंगुको प्रकोप देखिएको छ । यो रोग एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । टाउको दुख्ने, थकान हुने, जोर्नी दुख्ने, प्लेटलेट्स कम हुनु आदि डेंगुका लक्षण हुनसक्छन् ।

पहेंलो ज्वरो – एडिस एजिप्टाई लामखुट्टे पहेंलो ज्वरोको कारण मानिन्छ । यो ज्वरोमा बिरामी भित्र जन्डिसका लक्षण पनि देखिन थाल्छन् । तर यो ज्वरो नेपालमा विरलै देखिने गरेको छ । यसमा ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने, टाउको दुख्ने जस्ता समस्या हुने गरेको पाइन्छ ।

औलो –वर्षाका कारण ठूलो संख्यामा औलोका बिरामी देखिने गरेका छन् । यो रोग संक्रमित पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट सर्छ । यसमा पनि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिन्छन् ।

चिकनगुनिया–डेंगु र पहेंलो ज्वरो बोक्ने लामखुट्टेको टोकाइबाट पनि चिकुनगुनिया सर्नसक्छ । यस रोगका लक्षणहरुमा ज्वरो आउने, जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि पर्दछन् ।

लाइम रोग– यो रोग मुख्यतया बोरेलिया बर्गडार्फेरिक ब्याक्टेरियाबाट लाग्ने गर्छ । जो संक्रमित कालो खुट्टा भएको कीराको टोकाइबाट सर्छ । नेपालमा यस रोगका बिरामीहरु विरलै देखिने गरेका छन् ।

चिसो र फ्लू– वर्षायाममा धेरै ब्याक्टेरिया र भाइरसहरू वातावरणमा जीवित रहने भएकाले नाक, मुख वा आँखाबाट हाम्रो शरीरमा प्रवेश गरी शरीरलाई रोगी बनाउँछन् । यसले रुघाखोकी, ज्वरो जस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

हैजा– भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण हैजा लाग्न सक्छ । यो दूषित खाना र पानीको सेवनबाट सर्ने गर्छ । पहिला झाडापखालाका लक्षणहरू देखा पर्न थाल्छन् र पखाला लाग्ने, खुट्टामा कडाइ हुने र बान्ता हुने गर्दछ ।

लेप्टोस्पाइरोसिस– यो रोग मनसुन (मनसुन) को समयमा धेरै बढ्छ । यसका बिरामीहरु भारतमा २०१३ मा देखिएका थिए । जनावरको पिसाब र दिसामा लेप्टोस्पाइरा नामक ब्याक्टेरियाको उपस्थितिका कारण यो रोग लाग्ने गर्छ जुन संक्रमित जनावरको पिसाब दिसाको सम्पर्कमा आएर मानिस वा अन्य जनावरमा सर्छ । यस रोगको मुख्य लक्षणमा भोक नलाग्ने, कम्मर दुख्ने, खोकी लाग्ने आदि पर्दछन् ।

हेपाटाइटिस ए– हैजाजस्तै हेपाटाइटिस पनि दूषित पानी वा खानाको सेवनले हुन्छ । यो रोगका कारण कलेजो सबैभन्दा बढी प्रभावित हुन्छ । यसमा ज्वरो आउने, बान्ता हुने जस्ता समस्या हुने गर्दछ ।

टाइफाइड– वर्षायाममा टाइफाइड ज्वरोका बिरामीहरु बढ्छन् जुन साल्मोनेला टाइफी ब्याक्टेरियाको कारणले हुने गर्दछ । यस रोगका कारण शरीरमा टाउको दुख्ने, ज्वरो आउने, भोक नलाग्ने, कब्जियत, पखाला आदि समस्या हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्