मंकिपक्स महामारीः के संक्रमण रोकथामका लागि पर्याप्त खोप उपलब्ध छ?
नयाँ भेरिअन्टको एमपक्स भाइसरका कारण डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा सयौँको ज्यान गएको छ भने उक्त भाइरस मध्य तथा पूर्वी अफ्रिकामा फैलिएको छ। यसै महिनाको सुरुमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एमपक्सको प्रकोपलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट घोषणा गरेको थियो। अहिलेको प्रकोपका कारणका रूपमा धेरै सङ्क्रामक मानिएको “क्लेड १बी’ भेरिअन्टलाई मानिएको छ।
एमपक्सका लक्षण के हुन्?
यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन्। जब ज्वरो उच्च हुन्छ त्यसपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र पैतालामा बढी देखिन्छ।
बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ। यसको सङ्क्रमणबाट आउने बिमिरा १४ देखि २१ दिनमा आफैँ निको भएर जाने हुन्छन्। गम्भीर बिरामीहरूमा शरीरभरि नै बिमिराहरू आउने हुन्छन्। मुख, आँखा र यौनाङ्गमा बिमिरा बढी फैलने र दु:ख दिने हुन्छ।
डब्लूएचओले यो प्रकोपलाई नियन्त्रण गर्नका लागि प्रभावित भएका र आवश्यक परेका क्षेत्रमा खोप उपलब्ध हुने कुरा सुनिश्चित गरेको जनाएको छ। एमपक्सविरुद्धको खोपबारे हामीलाई के थाहा छ र यस्तो खोप कसले लगाउनु पर्छ?
एमपक्सका लागि खोप उपलब्ध छ?
पहिले मङ्कीपक्स भनेर चिनिने एमपक्सका लागि डब्लूएचओले दुई प्रकारका खोपहरू सिफारिस गरेको छ। तर धेरै देशहरूले यी खोप लगाउन स्वीकृति दिएका छैनन्।
डब्लूएचओले एमभीए-बीएन (MVA-BN) वा एलसी१६ (LC16) खोपहरू सिफारिस गरेको छ र अन्य खोप उपलब्ध नभएको अवस्थामा एसीएएम२००० (ACAM2000) खोप लगाउन उसले सुझाव दिएको छ।
यसै महिनाको सुरुमा उक्त सङ्गठनले एमपक्स खोपहरूको आकस्मिक प्रयोगसम्बन्धी सूची बनाउने काम थालेको थियो। उसले न्यून आय भएका देशहरूलाई सहयोग गर्नका निम्ति त्यसो गरेको भए पनि अझैसम्म उक्त प्रक्रियाले औपचारिक रूपमा पूर्णता पाउन सकेको छैन।
त्यस्तो वर्गीकरणको अर्थ के हो भने यूनिसेफ र गाभीजस्ता संस्थाहरूले खोप भेला पार्ने र वितरण गर्ने काम गर्न सक्छन्। डब्लूएचओले अहिले नै आमरूपमा खोप लगाउन सिफारिस गरेको छैन।
उसले सङक्रमणको जोखिममा रहेका, सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा रहेका र प्रकोप फैलिएको देशमा रहेकाहरूलाई खोप लगाउन सुझाव दिएको छ। डब्लूएचओका अनुसार यदि स्वास्थ्य सेवा प्रदायकले तपाईँको आगामी यात्रा योजनाका कारण तपाईँ यो सङ्क्रमणको जोखिममा हुनुहुन्छ भन्ने ठान्छन् भने तपाईँले खोप लगाउन सक्नु हुन्छ।
गत साता युरोपियन सेन्टर फर डिजिजेज् प्रिभेन्सन एन्ड कन्ट्रोल (ईसीडीसी)ले सङ्क्रमण प्रभावित अफ्रिका भ्रमणको योजना बनाइरहेका व्यक्तिहरूलाई खोप लगाउन सुझाव दिएको छ। पहिले नै एमपक्सको खोप लगाएकाहरूले एउटा मात्रा खोप लगाउँदा हुन्छ भने अन्य व्यक्तिहरूले दुई मात्रा खोप लगाउनु पर्छ।
यदि कुनै पनि व्यक्ति लगातार रूपमा जोखिममा छन् तथा यस्तो सङ्क्रमण भएका व्यक्तिको आसपासमा रहन्छन् भने उनीहरूलाई दुईदेखि १० वर्षमा ‘बुस्टर’ मात्रा लगाउन सिफारिस गरिएको छ।
बिफरविरुद्धको पुरानो खोपले एमपक्सलाई काम गर्छ?
एमपक्स बिफर परिवारकै भाइसरका कारणले सङ्क्रमण हुने रोग हो। कैयौँ पाका मानिसहरूले बिफरको खोप लिएका छन् र त्यसले उनीहरूलाई केही मात्रामा सुरक्षा प्रदान गर्छ।
डब्लूएचओले बिफरलाई सन् १९८० मा उन्मुलन भएको घोषणा गरेको थियो। उक्त संस्थाले उन्मुलनको घोषणा गरेको एउटै मात्र सङ्क्रामक रोग पनि बिफर हो। त्यसैले गर्दा बिफरविरुद्धको खोपलाई विगत चार दशकदेखि निरन्तरता दिइएको छैन।
एमपक्सको खोप पर्याप्त छ?
अफ्रिका सेन्टर्स फर डिजिजेज् कन्ट्रोल एन्ड प्रिभेन्सनले सन् २०२५ सम्ममा उक्त महादेशका लागि एक करोड मात्रा खोप प्राप्त गर्ने “स्पष्ट योजना रहेको” बताएको छ। डीआरसी र नाइजिरियाले आगामी साताबाट खोप लगाउन सुरु गर्दै छन्। डीआरसीले अमेरिका र जापानबाट प्राप्त भएको खोप प्रयोग गर्नेछ भने नाइजिरियाले अमेरिकाबाट प्राप्त खोप लगाउने छ।
डीआरसी कङ्गोका स्वास्थ्यमन्त्री रोजर काम्बाले सुरुवाती चरणमा सङ्क्रमण धेरै पाइएका १५ वर्षमुनिका बालबालिकाहरूलाई खोप लगाइने बताए। अफ्रिका सेन्टर्स फर डिजिजेज् कन्ट्रोल एन्ड प्रिभेन्सनले अफ्रिकी महादेशमा उसको प्रविधि प्रयोग गर्न तथा उत्पादन गर्नका लागि डेनिश उत्पादक बावारिअन नोर्डिकसँग एउटा समझदारीमा पुगेको बताएको छ।
डब्लूएचओले हालै औपचारिक अनुमति नपाएका भए पनि आकस्मिक प्रयोगका लागि खोप उत्पादन गर्न उत्पादकहरूलाई आग्रह गरेको छ। नाइजिरियाले मङ्गलवार अमेरिकाबाट पहिलो खेपमा १० हजार मात्रा खोप प्राप्त गर्ने अपेक्षा गरेको जनाएको छ। डीआर कङ्गोले अमेरिकाले ५० हजार र जापानले ३५ लाख मात्रा खोप दिने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
एमपक्सविरुद्धको खोपले काम गर्छ कि गर्दैन?
डब्लूएचओले एमपक्सविरुद्धको खोपले “गम्भीर सङ्क्रण” हुनबाट रोक्ने बताएको छ। युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक डा हान्स क्लुगले यसै साताको सुरुमा “यो नयाँ कोभिड होइन” भनेका थिए।
उनले नयाँ भेरिअन्ट आए पनि भेदभाव नहुने खालका जनस्वास्थ्यसम्बन्धी मापदण्डहरू लागु गर्नुका साथै खोपमा समान पहुँच स्थापित गरेर यसलाई नियन्त्रण गर्न सकिने बताए। डब्लूएचओले खोप लगाए पनि एमपक्सबाट सङ्क्रमित हुन नदिनका लागि सुरक्षात्मक उपायहरू अपनाउन पर्ने जनाएको छ।
एमपक्सविरुद्ध खोप लगाएपछि पनि प्रतिरक्षा विकास हुनका लागि कैयौँ हप्ता लाग्न सक्ने भएकाले उसले त्यस्तो गर्न भनेको हो। केही मानिसहरूमा खोपको असर नदेखिन पनि सक्छ। खोप लगाएपछि कसैलाई एमपक्स सङ्क्रमण भयो भने पनि त्यसलाई घातक हुन नदिन र अस्पताल जानुपर्ने अवस्थामा नपुर्याउन खोपले मद्दत गर्ने बताइन्छ।