Logo
|
Sunday 29th December 2024
Logo

epaper

खुर्सानीको पिरो स्वास्थ्यका लागि कति जोखिमपूर्ण, फाइदा कि बेफाइदा ?



 'राँगे खुर्सानी' पनि भनिने 'गोस्ट पेपर' वा 'भूत जोलोकिया'लाई सबैभन्दा पिरोमध्येको खुर्सानी मानिन्छ

युरोपका कतिपय देशहरूमा रामेन चाउचाउमा अत्यधिक मात्रामा खुर्सानीबाट निकालिएको रसायन ‘क्याप्सेइसिन’ पाइएको भन्दै प्रतिबन्ध लगाइएको छ। स्वास्थ्यका लागि के यो रसायन साँच्चै खतरनाक हो त? हालसालै डेन्मार्कको खाद्यान्न आयोगले दक्षिण कोरियाली ब्रान्डको तयारी रामेनमा रहेका केही मसलाहरूले ‘चरम विषाक्तता’ निम्त्याउन सक्ने भनेपछि यसबारे समाचारहरू बनेका थिए।

अर्को घटनामा स्वास्थ्य समस्याबाट ग्रसित अमेरिकाका एक युवकले पिरो खाना खाने प्रतियोगितामा भाग लिएपछि उनको मृत्यु भएको भन्दै समाचारमा चर्चा भएको थियो।

यी सबै चिन्ताको विषय ‘क्याप्सेइसिन’ हो, जुन खुर्सानीहरूलाई पिरो बनाउने एक सक्रिय तत्त्व हो। तर के डेन्मार्कका अधिकारीहरू सतर्क हुनु सही हो? के अत्यधिक पिरो खाँदा त्यो मानिसका लागि विष बन्न सक्छ ?

के हाे ‘क्याप्सेइसिन’?

क्यापसैसिन खुर्सानीलाई पिराे बनाउने याैगिक हाे। खुर्सानी खाँदा महसुस हुने जलन पनि यसैका कारण हुन्छ। यो ‘क्याप्सेइसिनोइड’ नामक याैगिक परिवारअन्तर्गत पर्छ।

हालसम्म खुर्सानीहरूमा २३ किसिमका ‘क्याप्सेइसिनोइड’हरू पाइएका छन्। ‘क्याप्सेइसिन’मा पिराेको मात्रा खुर्सानीहरूमा न्यून मात्रामा पाइने ‘डिहाइड्राेक्याप्सेइसिन’ कै स्तरकाे हुने भएता पनि यो सबैभन्दा शक्तिशाली याैगिकमध्येमा पर्छ।

यूकेको खाद्यान्न मापदण्ड आयोगले खानामा शुद्ध ‘क्याप्सेइसिन’ थप गर्नु असुरक्षित मान्दै खाद्यान्न उत्पादकहरूलाई यसो गर्नबाट प्रतिबन्ध लगाएको छ। तर खुर्सानीमा पाइने यसको प्राकृतिक रूपलाई कति मात्रामा प्रयोग गर्न पाइने भन्ने बारेमा कुनै सीमा ताेकिएको छैन।

‘क्याप्सेइसिन’ खाँदा के लक्षण देखिन्छन्?

खुर्सानीको अचार

‘क्याप्सेइसिन’ को उच्च मात्रा रहेको खानेकुराबारे सचेत गराउने पहिले देश डेन्मार्क हाेइन। जर्मनीको ‘फेडरल इन्स्टिच्यूट फर रिस्क असेस्मन्ट’ (बीएफआर) ले पनि ‘क्याप्सेइसिन’को अत्यधिक सेवनको विषयमा सचेत गराएको छ।

‘क्याप्सेइसिनोइड’ले ‘टीआरपीभी’ नामक दुखाई स्नायुकाेषलाई सक्रिय बनाइ पीडा महसुस गराउने र पोल्ने समस्या उत्पन्न गराउँछ।

यसले कैयौँ लक्षणहरू निम्याउँछ। ‘बीएफआर’का अनुसार अध्ययनहरूका अनुसार उच्च मात्रामा ‘क्याप्सेइसिनोइड’ खाँदा छाती पाेल्ने, रिफ्लक्स, वाक्वाकी, झाडापखाला र पेट तथा छातीमा दुख्नेजस्ता समस्या हुने देखाएको छ।

यससँगै यसको उच्च मात्रा सेवन गर्दा चिसो पसिना आउने, रक्तचापमा उतारचढाव हुने वा चक्कर लाग्ने पनि हुन सक्छ। तर कति मात्रामा सेवन गरेमा यस्ताे हुन्छ भन्ने स्पष्ट पार्न हालसम्म पर्याप्त जानकारी भने छैन।

“व्यक्तिको पिरो र पीडासँग सम्बन्धित बुझाइलाई प्रभाव पार्ने थुप्रै कारणहरू हुने र ‘क्याप्सेइसिनोइड’ तथा त्यसको मात्राका विषयमा सीमित विवरण मात्रै उपलब्ध भएकाले स्वास्थ्य समस्या भएका उपभाेक्ताहरूका लागि कुनै सामान्य सिफारिस गर्न सकिँदैन,” बीएफआरका एक प्रवक्ता भन्छन्।

तर मानव अध्ययनबाट प्राप्त जानकारीकाअनुसार ‘क्याप्सेइसिनोइड’को ०‍.५ मिलिग्रामदेखि १ मिलिग्राम वा साेभन्दा बढी मात्राले शरीर तातेको महसुस हुने, पेटको माथिल्लो भागमा दबाव महसुस हुने र छाती पाेल्नेजस्ता हल्का तर अवाञ्छनीय असर निम्त्याउँछ।

“यसको १७० मिलिग्रामजतिको सेवनले स्पष्ट प्रतिकूल प्रभावहरू हुन सक्छन्। झन्डै ६०० मिलिग्राम ‘क्याप्सेइसिनोइड’ सेवन गरेका एक बिरामीले अस्पताल भर्ना भएको घटना पनि दर्ता भएको छ,” बीएफआरले भनेको छ।

ती २७ वर्षे बिरामीले जर्मनीको बर्लिनमा भइरहेको खुर्सानी खाने प्रतियोगितामा भाग लिएका थिए। उनले चार वटा ‘राँगे खुर्सानी’ पनि भनिने ‘गोस्ट पेपर’ वा ‘भूत जोलोकिया’ र अन्य पिरो खानेकुरा खाएका थिए। भूत जोलोकिया वा ‘गोस्ट पेपर’ को पिरोको कुनै पनि वस्तुको पिरोपनको मापन गरिने ‘स्कोभिल स्केल’मा १० लाखदेखि १२ लाख ‘एसएचयू’ हुने अनुमान गरिन्छ। यसलाई विश्वकै पिरोमध्येको खुर्सानी मानिन्छ। तुलनाका लागि ‘टब्यास्को रेड सस’को मापन गर्दा २,५०० देखि ५,००० एसएचयूएस हुन्छ।

तर पिरो खाना खाएको करिब अढाई घन्टापछि उक्त व्यक्तिले पेट दुख्ने र फुल्ने समस्या महसुस गरेका थिए। पछि उनी आफैँ बर्लिन-बुचस्थित हेलियोस हस्पिटलको आपत्कालीन विभागमा भर्ना भए ।

चिकित्सकहरूले केही पनि समस्या भेट्टाउन सकेनन् र उनलाई केही दुखाइ कम गर्ने औषधि दिए, जसले केही राहत पनि भयो। खुर्सानी खाएको करिब १२ घन्टापछि उक्त व्यक्तिले बान्ता गरे र बिस्तारै उनको अवस्थामा सुधार हुन थाल्यो।

तर ‘क्याप्सेइसिन’ खाँदैमा लक्षणहरू देखिन्छन् भन्ने हाेइन। “छोटो समयमा ‘क्याप्सेइसिन’ले पोल्ने र असहज हुने गरी पीडा निम्याउन सक्छ,” अस्ट्रेलियाको बन्ड विश्वविद्यालयमा विज्ञान र चिकित्साका सहप्राध्यापक रहेका क्रिस्चन माेरो भन्छन्। “यदि आँखामा पर्‍यो भने अत्यधिक दुख्छ र धमिलो दृष्टि हुन सक्छ। यदि सास फेर्दा निलियो भने यसले लामो खाेकी र दमजस्ता रोगहरूलाई पनि सक्रिय बनाउन सक्छ।”

तर, ‘क्याप्सेइसिन’ खाँदा देखिने लक्षणहरूसँग डराउन नपर्ने माेरो बताउँछन्। “’क्याप्सेइसिन’ ले हाम्रा स्नायुहरूलाई सक्रिय बनाउँछ र त्यसैको कारण शरिरमा जलन महसुस हुन्छ। तर यो एउटा भावना मात्रै हो र यसले हामीलाई कुनै हानि गर्दैन,” उनी भन्छन्।

के कुनै लक्षण हानिकारक छन्?

उच्च मात्रामा उच्च मात्रा 'क्याप्सेइसिन' खाँदा छातीमा जलन, वाक्वाकी लाग्ने, पखाला चल्ने र पेट दुख्ने समस्या हुन सक्छ

बीएफआरले ‘क्याप्सेइसिन’को उच्च मात्राले बालबालिकामा ‘गम्भीर विषाक्तता’ निम्त्याउन सक्ने बताएको छ। तर त्यस्तो अवस्था निम्त्याउन सक्ने मात्रा कति हाे भन्ने थाहा छैन।

कतिपयले प्रतिकेजी शरीरको तौलबराबर ‘क्याप्सेइसिन’को ५०० देखि ५,००० मिलिग्राम मात्रा मानिसका लागि घातक हुने अनुमान गरेका छन्। यो भनेको शरीरको तौल ७० केजी भएको मानिसका लागि करिब ३५ हजार मिलिग्राम ‘क्याप्सेइसिन’ बराबर हो। अनि १०० ग्राम ‘यालेपिनो’ खुर्सानीमा १५ मिलिग्राम ‘क्याप्सेइसिन’ हुन्छ भने साेही मात्राको ‘स्कच बोनिट’ खुर्सानीमा २६० मिलिग्राम ‘क्याप्सेइसिन’ हुन्छ। त्यसै गरी १०० ग्राम ताजा ‘गोस्ट पेपर’मा करिब ४,००० मिलिग्राम ‘क्याप्सेइसिन’ हुन्छ।

तर मानिसमा ‘क्याप्सेइसिन’को मात्रा धेरै भएको घटना जानकारीमा नआएको मोरो बताउँछन्। एक १० वर्ष पुरानो अध्ययन ‘द टू फेसेस अफ ‘क्याप्सेइसिन’ मा मुसाहरूमा भएको परीक्षण उल्लेख गरिएको छ। यसले ‘क्याप्सेइसिन’ पेट र कलेजोमा हुने क्यान्सरसँग सम्बन्धित देखाएको थियो। अनि मानिसमाथि गरिएको अध्ययनमा ‘क्याप्सेइसिन’ले पेटभित्र हुने सूक्ष्म रक्तश्राव वा ‘ग्यास्ट्रिक माइक्रोब्लीडिङ’ निम्त्याउने पाइएको थियो। तर अन्य अध्ययनमा भने यस्ताे कुनै लक्षण देखिएको छैन।

सन् २०२२ को अर्को एक अध्ययनले पिरो खानेकुरा तथा खुर्सानीका राम्रा र नराम्रा दुवै किसिमका स्वास्थ्य प्रभावहरू अनिश्चित रहेको निष्कर्ष निकालेको थियो। साथै यस अध्ययनले यी प्रभावबारे निष्कर्ष निकाल्न लिइएका प्रमाणहरू पनि राम्रो गुणास्तरको नरहेको बताएको थियो।

“मलाई धेरै पटक ‘के एकदमै पिरो खुर्सानी खायो भने मरिन्छ’ भनेर साेधिएको छ। यसको जबाफ जीवनका धेरै कुराहरू जस्तै ‘हो’ पनि, ‘हाेइन’ पनि,” न्यू मेक्सिको स्टेट विश्वविद्यालयमा वनस्पति र वातावरण विज्ञानका रीजन्ट प्राध्यापक तथा खुर्सानीबारेमा विश्वकै एक अग्रणी विज्ञ पोल बोस्ल्यान्ड भन्छन्। “खुर्सानीले मृत्यु पनि निम्त्याउन सक्ने सम्भावना छ। तर प्राय मानिसको शरीर त्यो अवस्थामा पुग्नुभन्दा अघि नै धरमराउन थाल्छ।”

अर्को शब्दमा भन्दा हाम्रो शरीरले घातक मात्रामा पुग्नुअगावै खानासँगै ‘क्याप्सेइसिन’लाई बाहिर फ्याँक्छ। “(मर्नका लागि) कसैले पनि पसिना आउने, काँप्ने, बान्ता हुने र लगभग बेहोस हुने अवस्थालाई पार गर्ने गरी अत्यधिक पिरो खुर्सानी खानुपर्छ। त्यसैले एकदमै पिरो खुर्सानीले मान्छे मर्दैन भन्न सकिन्छ,” उनी भन्छन्।

के कसैमा त्यो पिरो ‘प्रतिरोध’ गर्ने क्षमता हुन्छ?

खुर्सानी

अन्य खाद्यान्न र पेय पदार्थमा जस्तै ‘क्याप्सेइसिन’लाई व्यक्तिको शरीरले कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरा मान्छेपिच्छे फरक हुन्छ। र यो धेरै कुरामा आधारित हुन्छ।

बीएफआरका अनुसार उदाहरणका लागि पिरो खानेहरूको तुलनामा कहिल्यै पिरो नखाने वा बालबालिकाहरू यसप्रति बढी संवेदनशील हुन सक्छन्।

एक अध्ययनले ‘इरिटबल बोअल सिन्ड्रोम’ (आईबीएस) नामको पेटसम्बन्धी समस्या भएका व्यक्तिहरूमा क्यापसैसिनले जलन हुन सक्ने पाएको थियो। तर अध्ययनका स्वस्थ सहभागीहरूमा भने केही भएन। अनुसन्धाताहरूले आईबीएस भएका २० जना र आईबीएस नभएका ३८ जनालाई साधारण वा पिरो वा क्याप्सुलमा २ ग्रामको खुर्सानी राखिएको खानामध्ये एकएक किसिमको खाना खुवाएका थिए। स्वस्थ सहभागीहरूमा पिरो खाना र खुर्सानीको क्याप्सुलसहितकाे खानाले मध्यम किसिमको असहजता मात्रै भएको थियो। तर आईबीएस‍ भएका सहभागीहरूमा भने असर गर्ने गरी पेट दुख्ने र जलन महसुस भएको थियो।

साथै पेट हुँडलिनेजस्ता आन्द्रा वा पेटसँग सम्बन्धित समस्या पहिल्यै रहेका भएका व्यक्तिहरूले ‘क्याप्सेइसिनोइड’को सेवन गर्दा र पेट वा आन्द्राको क्षेत्रमा यसको प्रवेश हुँदा यसले बढी प्रतिक्रिया देखाउन सक्ने बीएफआरले बताएको छ। अनि यसले मुटु तथा रक्तसञ्चारसँग सम्बन्धित राेग भएका व्यक्तिहरूलाई पनि बढी जाेखिम हुन सक्ने पाइएको छ।

खुर्सानी खाँदा हुने असरमा उक्त व्यक्ति पिरो खान कति अभ्यस्त छ भन्नेले पनि प्रभाव पर्ने बाेस्ल्यान्ड बताउँछन्। “हरेक मानिसमा ‘क्याप्सेइसिनोइड’ सहन सक्ने फरकफरक स्तर हुन्छ। त्यसैले कुनै व्यक्तिका लागि अत्यधिक पिरो लागेको कुरा अर्कोका लागि मध्यम हुन सक्छ,” उनी भन्छन्।

यति मात्रै नभएर नियमित रूपमा कुनै किसिमको खुर्सानी सेवन गरिन्छ भने मान्छे त्यसप्रति अभ्यस्त हुने उनी बताउँछन्। उदाहरणका लागि एक ताइवानी अध्ययनले नियमित रूपमा कसैले ‘क्याप्सेइसिन’को सेवन गर्छ भने उसको शरीरमा त्यसलाई सहने क्षमता बढ्ने र छाती पाेल्ने लक्षण कम हुने पाएको थियो।

“एक पटक मेरो प्रयोगशालाको भ्रमणमा दुई जना ‘खुर्सानी वैज्ञानिक’हरू थिए, एक जना चीन र अर्का भारतबाट,” बाेस्ल्यान्ड भन्छन्। “मैले उनीहरूलाई खाजा खुवाउन लगेँ। हामीले ‘एन्चिलाड’ (एक प्रकारको मेक्सिकन परिकार) खाइरहँदा चीनबाट आएका वैज्ञानिकले आफू भारतको भ्रमणमा रहँदा त्यहाँकाे परिकार चीनको भन्दा पिरो लागेको सुनाएका थिए।”

“भारतका वैज्ञानिकले पनि ‘मैले पनि चीन भ्रमण गर्दा त्यस्तै अनुभव गरेको छु’ भनेका थिए।” बाेस्ल्यान्ड पिरो खानेकुराका लागि चिनिने देशहरूबाट आएका दुई वैज्ञानिक भए पनि उनीहरूले आफ्नोभन्दा अर्काको देशमा परिकार बढी पिरो हुने साेचेको बताउँछन्।

स्वास्थ्यलाई फाइदा पनि छ?

डडेलुधुराको मुद्राड गाउँका महिलाहरू खुर्सानी खेतीमा
तस्बिरको क्याप्शन,डडेलुधुराको मुद्राड गाउँका महिलाहरूले हालै तीन तरिकाबाट भेडेखुर्सानी लगाउने तरिकाबारे विज्ञबाट बारीमै जानकारी लिएका थिए

इतिहासबाट नै खुर्सानीको प्रयोग स्वास्थ्य उपचारको रूपमा प्रयोग हुँदै आएको छ। आधुनिक चिकित्सामा पनि ‘क्याप्सेइसिन’को प्रयोग छ। खुर्सानीबाट निकालिने रसायनलाई दुखाइ कम गर्ने, माइग्रेन, टाउको दुखाइ र सराइअसिसलगायतको औषधि उत्पादनमा प्रयोग गरिन्छ।

अनुसन्धाताहरूले पेटको क्यान्सरको रोकथाम र थेरपीका लागि पनि ‘क्याप्सेइसिन’को सिफारिस गरिन्छ। यसको सम्भावित प्रतिकूल प्रभावबारे चिन्ता भए पनि कतिपय अध्ययनहरूले ‘क्याप्सेइसिन’मा भएका एन्टिअक्सिटन्ट र स्वास्थ्यलाई फाइदा गर्ने यौगिकहरूका कारण त्यसको नियमित सेवन गर्दा फाइदा हुन सक्ने पनि पाएको माेरो बताउँछन्।

केही अध्ययनहरूका अनुसार नियमित ‘क्याप्सेइसिन’को प्रयोगले उच्च रक्तचाप, ‘मेट्याबलिजम’सँग सम्बन्धित लक्षण र मोटोपनाजस्ता अवस्था आउने जोखिम वा त्यसतर्फको गति कम गर्न मद्दत गर्छ। कतिपय अवस्थामा यसले पेटको अल्सर निम्त्याउने साेचिए पनि ‘क्याप्सेइसिन’को सेवनले त्यसबाट बचाउन र यसको निदानका लागि सहयोग पुर्‍याउनेबारे प्रमाण छन्।

“खुर्सानी खानु भनेको हामीले नुन कम खाने अवस्था बन्नु पनि हो। त्यसैले यो धेरै परिकारहरूमा नुनको स्वस्थ्य र उत्कृष्ट विकल्प हाे,” माेरो भन्छन्।

त्यसो त ‘क्याप्सेइसिन’को उच्च मात्राले कतिपय मानिसमा प्रतिकूल असर गर्नेबारे केही चिन्ताहरू छन्। तर हाम्रो खानामा खुर्सानीको निश्चित मात्रा समावेश गर्नुले जलन महसुस हुनेबाहेक कुनै हानि हुन्छ भन्ने प्रमाणित छैन। यसको ठीकविपरीत खानामा केही मात्रामा ‘क्याप्सेइसिन’ हुनुले फाइदा हुन सक्नेबारे भने थुप्रै प्रमाणहरू छन्।

तर यी सबैका बीच पनि एउटा रहस्य भने रहस्यकै रूपमा रहन्छ। वास्तवमा भारत कि चीनको खाना बढी पिरो हुन्छ? सम्भवत यसको जबाफ तात्तातो बहसकै रूपमा रहने छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्