Logo
|
Friday 27th December 2024
Logo

epaper

दुखाई व्यवस्थापनमा अब्वल




डा. अनुज जङ्ग रायमाझी पेन म्यानेजम्यान्ट /क्रिटिकल केयर/ एनेस्थेसियोलोजी स्पेशलिष्ट हुनुहुुन्छ । १४ वर्षदेखि दुखाई व्यवस्थापनमा काम गर्दै आउनुभएका डा. रायमाझी हाल सिभिल सर्भिस हस्पिटल र महाराजगञ्ज चोकमा अवस्थित एस एण्ड एस पेन क्लिनिक एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ । जानौं, दुखाई व्यवस्थापनसम्बन्धि डा. रायमाझीको अनुभव आफ्नै शव्दमा ।

एक दुई वर्ष एनेस्थेसियामा अभ्यास गरेँ । त्यसपछि दुखाइतिर रूचि जाग्न थाल्यो । शुरूका दिनमा एक्युट दुखाई अभ्यास गरेँ । यसमा भिडियो एक्सरे हेरेर नशाहरुलाई नदुख्ने बनाउने आदि गर्नुपर्छ । आजकल क्रोनिक दुखाई व्यवस्थापनमा व्यस्त छु ।
एनेस्थेसिया, क्रिटिकल केयर र पेन मेडिसिन एउटै विषय हो । तर पहिला डाक्टरहरूको कमीका कारण एनेस्थेसियाबाट निस्कनै पाइँदैन थियो । विगतमा ढाड दुखेकाहरू इन्जेक्सन लगाउन आउने गर्थे, यो पनि अर्थोपेडिक डाक्टरहरूले सिफारिस गरेको अवस्थामा मात्र ।

क्रोनिक दुखाईमा के के पर्छन् ?
क्रोनिक दुखाइ दीर्घकालीन हुन्छ जुन सामान्य रिकभरी अवधि भन्दा बाहिर हुन्छ । औषधि सेवन गरेको १० दिनसम्म पनि सञ्चो नहुने समस्यालाई क्रोनिक दुखाइमा राखिन्छ ।

धेरैलाई हुने ढाडको नसा च्यापिने, घुँडा खिइने, शल्यक्रिया गर्दा पनि सञ्चो नहुने, जनै खटिराको दुखाई, ट्राइजिमिनल न्युरलजिया (अनुहारको नशा झमझम गर्ने ), पेटको मांशपेशी, पैताला, फ्रोजन सोल्डर (हात नचल्ने) दुःखाई क्रोनिक दुुखाईमा पर्छन् । क्यान्सरका कारण हुने दुखाई व्यवस्थापन भने सम्बन्धित क्यान्सर विशेषज्ञले नै हेर्दा राम्रो हुन्छ ।

कतिको बिरामी आइरहेका छन् ?
आजकल ओपिडिमा दैनिक १२ देखि १५ जनासम्म बिरामी हेर्ने गर्छु । फलोअपसमेत गरेर महिनामा २४० जनासम्म क्रोनिक दुखाइका बिरामीलाई सेवा दिँदै आएको छु । इन्जेक्सनको माध्यमबाट गर्ने प्रक्रिया सबैभन्दा धेरै ९२ वटासम्म गरेको छु । विगतमा ३ महिनामा एकजना बिरामी पाउन पनि हम्मे पर्दथ्यो ।

के के कुरामा ध्यान दिनुपर्छ ?
म कहाँ रोग भन्दा पनि कण्डिसन (अवस्था) लिएर धेरै बिरामी आउने गरेका छन् । जस्तोः ओस्टियोआर्थराइटिस पनि कन्डिसन हो । घुँडा खिइने, यूरिक एसिड, चोटपटक, मोटोपन आदि जीवनशैलीसँग सम्बन्धित हुन्छन् । गाउँघरमा खाना पकाउँदा टुक्रुुक्क बसेर खाना पकाउँदा घुँडाको दुुखाई हुनसक्छ । यस्तो अवस्थामा घुँडाको एक्स–रे रिपोर्ट हेरेर पीआरपी हाल्ने वा सुन्निन कम गर्ने औषधि दिने वा हाइलोरिक एसिड (चिप्लोपदार्थ) प्रयोगमध्ये के गर्ने भन्ने निर्णय गर्नुपर्छ । कतिपय अवस्थामा शल्यक्रियाको पनि जरुरत पर्नसक्छ । कतिपय बिरामी ढाड दुखेर हिड्न नसक्ने पनि हुनसक्छन् । उनीहरुलाई पनि इन्जेक्सन लगाउनुपर्ने हुनसक्छ ।

दुखाई व्यवस्थापन कतिको प्रभावकारी देखिएको छ ?
एकसय जनाको उपचार गर्दा ८० प्रतिशत ठिक हुन्छ । १५ प्रतिशतमा सञ्चो नहुन सक्छ । ५ प्रतिशतमा पुनः समस्या आउन सक्छ । अहिलेसम्मको अनुभवमा करिब ७० देखि ८० प्रतिशत बिरामीले राम्रो भएको बताएका छन् ।

दुःखाई व्यक्तिगत अनुभव भएकाले सामान्यत ६० देखि ७० प्रतिशत दुखाइ कम भएको अवस्थालाई प्रभावकारी मानिन्छ ।

दुखाई व्यवस्थापन हो कि उपचार हो ?
दुखाई व्यवस्थापन उपचार हो । एकपटक दुखाई कम भएपछि अर्कोपटक बल्झिन पनि सक्छ । जस्तोः जनै खटिरा आएको बिरामीलाई दुईपटकसम्म उपचार आवश्यक पर्छ । त्यस्तै ढाडको शल्यक्रिया गर्नुपूर्व इन्जेक्सन लगाएर हेरिन्छ । इन्जेक्सन प्रभावकारी नभएमा मात्र शल्यक्रिया आवश्यक पर्नसक्छ । कतिपय अवस्थामा डाक्टरले बन्देज गर्न लगाएको काम गरेमा पनि दुखाई बल्झिनसक्छ । त्यस्तै घुँडाको पीआरपी थेरापी प्रत्येक वर्ष गराउनुपर्छ । कहिलेकाँही घाँटीको फ्यासेट जोइन्ट, ढाड दुख्ने समस्यामा आरएफ (रेडियो फ्रिक्वेन्सी एब्लेसन) इन्जेक्सन दिनुपर्छ । आवश्यक औषधि राखेर इन्जेक्सन दिएपछि जिन्दगीभर भ्याउन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्