मेरूदण्ड एक, समस्या अनेक
कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ ?
स्पाइन शरीरको एक महत्वपूर्ण संरचना हो । स्पाइनलाई नेपालीमा मेरूदण्ड भनिन्छ । मेरूदण्ड टाउकाको तल्लो भाग गर्धनदेखि तल पुच्छरसम्मको भाग हो । यो शरीरको एउटा खम्बा हो । मेरूदण्डले शरीरलाई सिधा राख्छ । यसले उभ्याउन र शरीरलाई सपोर्ट दिन मद्धत गर्छ । मेरुदण्डमा हुने एउटा महत्वपूर्ण नसा ‘स्पाइनल कर्ड’ लाई मेरुदण्डले सुरक्षा दिएको हुन्छ । स्पाइनल कर्डमा असर परेमा हातगोडा चल्न सक्दैन ।
मेरूदण्डमा जम्मा ३३ वटा हड्डीका टुक्रा रहेका हुन्छन्, जसलाई अंग्रेजीमा भर्टिब्रा भनिन्छ । ती मध्ये गर्धनमा (सेरेब्रल स्पाइन) ७ वटा, छातीको पछाडि बीचको ढाड (थोरासिस स्पाइन) १२ वटा, कम्मरमा (लम्बर स्पाइन) ५ वटा, तल्लो ढाड (सेक्रम) ५ वटा र पुच्छरमा (कोक्सीक्स) ४ वटा भर्टिब्रा हुन्छन् । स्पाइनमा समस्या देखिएमा मानिस सिधा हिँड्न र काम गर्न सक्दैन । त्यसकारण स्पाइनको माथिदेखि तलसम्मको कुनै पनि भागमा सानो समस्या देखिए पनि उचित उपचारको आवश्यकता पर्छ ।
स्पाइनमा कसरी समस्या आउन सक्छ ?
बस्ने तरिका नमिल्दा, अत्यधिक शारीरिक तौल, बढ्दो उमेरका कारण स्पाइनमा समस्या आउनसक्छ । यसलाई मेकानिकल (मस्क्युलोस्केलेटल) पेन भनिन्छ । यस प्रकारको समस्या धेरैलाई हुने गर्छ । बस्ने र काम गर्ने तरिका नमिलेका कारण ९५ प्रतिशत स्पाइनको समस्या लिएर आउने गरेका छन् । यसलाई जीवनशैली र फिजियोथेरापी छुटकारा दिलाउन मद्धत गर्छ । त्यो बाहेक चोटपटक, संक्रमण, बोनको क्षयरोग, ट्युमरले पनि स्पाइनमा समस्या देखिनसक्छ । ढाडको बाङ्गोपना पनि स्पाइनमा समस्या आउने कारक हो । त्यसलाई स्कोलियोसिस भनिन्छ । यस किसिमको समस्या जन्मजात पनि हुनसक्छ । उमेरका कारण नसा च्यापिँदा प्यारालाईसिस हुने हो कि भन्ने आशंकाले धेरै व्यक्ति आत्तिएको पाइन्छ ।
वास्तवमा नसा च्यापिएर कहिल्यै पनि प्यारालाइसिस हुँदैन । आजकल एकै ठाउँमा बसेर लामो समय कम्युटर र मोबाइल चलाउने प्रचलन बढेकाले घाँटी र ढाडकोे समस्या बढ्दै गएको पाइन्छ । बाइक चढ्नेहरुमा पनि समस्या देखिने गरेको छ । यस प्रकारको समस्यामा ८० देखि ८५ प्रतिशतसम्म दैनिकीमा सुधार ल्याएर ठीक पार्न सकिन्छ ।
कतिपय बालबालिकामा जन्मजात ढाडको बाङ्गोपना हुनसक्छ । यसलाई कन्जेनाइटल स्कोलियोसिस भनिन्छ । कतिपयमा १० वर्षको उमेरपछि पनि ढाड बाङ्गिन सक्छ । यसलाई इडियोप्याथिक स्कोलियोसिस भनिन्छ । यसका साथै सडक दुर्घटनामा ढाड र घाँटी भाँचिन सक्छ । स्पोर्टस् इन्जुरी हुनसक्छ । रुख र पहाडबाट खसेर चोट लाग्नसक्छ । जीवजन्तुले चिथोर्ने कारण पनि हाडजोर्नी र मेरुदण्डमा समस्या आउनसक्छ ।
कस्तो अवस्थामा शल्यक्रियाको आवश्यकता पर्नसक्छ ?
स्पाइनमा समस्या हुँदा शुरूमा ढाड र घाँटी दुख्नसक्छ । यो रातको समयमा धेरै हुन्छ । यसलाई नाइट पेन पनि भनिन्छ । हातखुट्टामा समस्या देखिन थाल्छ । हस्ताक्षर गर्न गाह्रो हुन्छ । लेख्दा अक्षर बिग्रन्छ । सर्टको टाँक लगाउन गाह्रो पर्छ जसलाई फाइन फङ्सन अफ दि ह्यान्ड भनिन्छ ।
तर एक्कासी पिसाब रोकिने वा चुहिने, हिँड्दा खुट्टा लत्रिने समस्या रेड फ्ल्याग साइन भित्र पर्दछन् । यस्तो अवस्थामा एम.आर.आइ., एक्स—रे, सिटी स्क्यानबाट समस्या पहिचान गरी सम्बन्धित चिकित्सकको राय र सल्लाहमा सफल शल्यक्रियाको जरूरत पर्नसक्छ ।
साथै हिँड्दा गोडा सन्तुलन नहुने, गोडाबाट चप्पल खुस्किने, हस्ताक्षर गर्न गाह्रो भएमा शल्यक्रियाको आवश्यकता पर्नसक्छ । सर्जरीको जरुरत तब हुन्छ जब नसा च्यपिने संकेत प्राप्त हुन्छ । यसरी ढाड भाँचिएको, मक्किएको, मेरुदण्डको संक्रमण र ढाडको ट्युमरले नशा च्याप्न लागेको अवस्थामा सर्जरीको जरुरत पर्छ । त्यसैले बिरामीको अवस्था छुट्याएर औषधि, उपचार र ब्रेसेस, व्यान्डेज र कर्सेट लम्बर लगाएर ठिक गर्ने कि शल्यक्रिया नै गर्ने भन्ने एकिन गर्नुपर्दछ ।
स्पाइन सर्जरीमा के—कस्ता प्रविधि प्रयोग हुने गरेका छन् ?
जटिल अवस्थामा चिरेर मेरुदण्डको शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । माइक्रोस्कोपबाट पनि स–साना शल्यक्रिया गर्न सकिन्छ । त्यस्तै, मिनिमल इन्भेजिभ सर्जरीबाट स–साना प्वाल बनाएर ढाडको फिक्सेसन, ढाडको नशा च्यापिएको खोल्ने गरिन्छ । त्यस्तै मेरुदण्डमा इन्डोस्कोपी मेसिन छिराएर क्यामेराको मद्धतले सानो प्वाल (१–२ सेन्टरमिटर) बनाएर दुई तीन लेवलमा सर्जरी गर्नुपर्ने हुनसक्छ । यस्ता प्रविधि नेपालमा आइसकेका छन् । त्यस्तै न्याभिगेशन सर्जरीराष्ट्रिय ट्रमा सेन्टरमा राखिए पनि प्रयोगमा आउन सकेको छैन । अहिले रोबोटिक सर्जरीको युग हो । नेपालमा चाँडै यो प्रविधि भित्रिने अपेक्षा गरेका छौं ।
स्पाइन सर्जरीमा जोखिम कति हुन्छ ?
हाडजोर्नी सम्बन्धित जुनसुकै शल्यक्रिया पनि जोखिमपूर्ण नै हुन्छ । हामीले जोखिम मोलेरै शल्यक्रिया गर्नुपर्छ । यसका लागि बिरामीका आफन्तसँग राम्रोसँग परामर्श गरेर अनुमति लिनुपर्छ । आवश्यक परेको वा एब्सुलुट इन्डिगेसन भएका बिरामीलाई छनोट गरेर गरिएको शल्यक्रिया सफल हुन्छ । शल्यक्रियाको नाममा शल्यक्रिया गर्ने, इन्डिकेशन नभएको घटनामा शल्यक्रिया गरेमा कम्लिकेशन आउने र शल्यक्रिया नअसफल हुने सम्भावना बढ्छ । अहिले नेपाली समाजमा ढाडको सर्जरी गर्दा झनै नशा च्यापिएर अपाङ्ग भइने हो कि भन्ने आशंका व्याप्त छ । त्यो कुरालाई पनि चिर्ने कोसिस गरिरहेका छौँ ।
कसरी सफलता प्राप्त गर्न सकिन्छ ?
आफूमा संयमता र विशेषज्ञता चाहिन्छ । कम्लिकेसन आएमा तुरुन्त ह्याण्डल गर्न सक्नुपर्छ । अनुभव लिएर गरिएको शल्यक्रिया सफल हुन्छ । शल्यक्रियापश्चात् पोष्ट अपरेटिङ केयर राम्रो हुन जरुरी छ । अन्यथा समस्या आउनसक्छ ।
शल्यक्रियापछि संक्रमण हुने जोखिम कतिको हुन्छ ?
यो सबैभन्दा डरलाग्दो पक्ष हो । हाडजोर्नीको शल्यक्रियापश्चात् संक्रमण भएमा बिरामी जीवन मरणको स्थितिमा पुग्नसक्छ । एकपटक बोनमा संक्रमण गढेपछि निस्किदैन । त्यसमाथि मेरुदण्डको हड्डीसहित नशाको संक्रमण भएमा बिरामीको ज्यान जानसक्छ ।
कतिपय अवस्थामा हात खुट्टा प्यारालाईसिस हुनसक्छ । यो संक्रमणले मस्तिष्क छोएमा मेनिन्जाइटिस र इन्सेफलाइटिस समेत हुनसक्छ । यस्तो अवस्थामा बिरामीको मृत्यु हुने जोखिम उच्च हुन्छ । त्यसैले यसलाई रोक्न सक्ने क्षमता हुनुपर्छ ।
अन्यथा यो घातक र भयानक कम्लिकेशन हो । बिरामीको छनोट र वर्गिकरण अनुसार ठिक समयमा शल्यक्रिया, ठिक एन्टिबायोटिक र सहि टेक्निक र स्टरलिटी मेन्टेन गरेमा शल्यक्रिया सफल हुन्छ । बिरामीले नयाँ जीवन पाउँछ ।
शल्यक्रियामा कति जति खर्च आउँछ ?
मेरुदण्डको शल्यक्रिया खर्चिलो उपचार हो । उपचारका लागि आवश्यक उपकरण महँगा हुन्छन् । ट्रमाका कारण मेरुदण्डको सर्भाइकल, लम्बर र डोरसल फ्याक्चर भएका विपन्न बिरामीलाई नेपाल सरकारले एक लाख उपचार खर्च दिँदै आएको छ । यसले बिरामीलाई धेरै राहत भएको छ । यो सेवा ढाड भाँचिएको, ढाडमा लगाउने इन्स्टु्रमेन्ट, स्क्रुु प्लेट निकै महँगा हुन्छन् । विदेशबाट आयात गनुपर्छ । बाङ्गो भएको ढाड सोझो बनाउन गरिने शल्यक्रिया कस्मेटिक हो । यसमा ५ लाख देखि ८ लाख सम्म खर्च लाग्न सक्छ । सामान्यतया मेरुदण्डको शल्यक्रिया खर्चिलो हुन्छ । सरकारले दिने रकमबाट उपचार खर्च नपुग्नसक्छ ।
शल्यक्रिया पश्चात् बिरामीले के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
सबैभन्दा पहिले जीवनशैलीमा ध्यान दिनुपर्छ । टिबी र क्यान्सर बाहेक अरु नशा सम्बन्धि समस्या जीवनशैलीकै कारण हुनसक्छ । शल्यक्रिया गरेपछि बस्ने, काम गर्ने, सुत्ने र सवारी साधन चलाउने तरिका सुधार नगरेसम्म रोगले पछ्याइरहन्छ । आफ्नो जीवनशैली र खानपिनलाई सन्तुलन गर्न सकेमा रोग निको हुन्छ । नशा च्यापिएको बिरामीले नियमित हिड्नु राम्रो मानिन्छ । शरीर जति चलायमान भयो त्यति नै नशा च्यापिने सम्भावना कम हुन्छ ।