Logo
|
Monday 16th September 2024
Logo

epaper

अफिनको २६औं स्थापना दिवस सम्पन्न, स्वास्थ्यमन्त्रीले केक काटे, र भने— ‘निजी अस्पताल नविकरणका लागि प्रधानमन्त्रीलाई अवगत गराइसकेँ ’

निजी अस्पतालको समस्या समाधानका लागि राज्यले गम्भीर भएर भूमिका निर्वाह गरिदिन अफिन अध्यक्ष डा. पदम खड्काको आग्रह




नेपाल हेल्थ न्युज, काठमाडौं । निजी अस्पतालहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इस्टिस्च्युएसन अफ नेपाल (अफिन) को २६ औं स्थापना दिवस राजधानीमा भव्यताकासाथ मनाइएको छ । अफिन २०५५ साल भदौ २१ गते स्थापना भएको थियो ।

ललितपुरको हिमालयन होटलमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले केक काटेर कार्यक्रमको समुद्घाटन गर्नुभएको हो । सो अवसरमा स्वास्थ्य क्षेत्रका विभिन्न समस्या चुनौति र अवसरहरुबारे छलफल भएको थियो ।

आम नागरिकको उपचार सेवामा निजी क्षेत्रको महत्वपूर्ण योगदानको चर्चा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले हाल सञ्चालित अस्पतालहरुलाई सहज तरिकाले नविकरण गर्ने प्रक्रियामा आफू लागिपरेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो—‘नागरिकको स्वास्थ्य सेवामा निजी अस्पतालको महत्वपूर्ण भूमिका छ । हाल सञ्चालित अस्पतालहरु बन्द हुँदैनन् । कानुनले बाँध्न हुँदैन । निजीको काम पनि नागरिकलाई स्वास्थ्य सेवा सुविधा दिने नै हो । त्यसैले निजी स्वास्थ्य क्षेत्रलाई कमजोर गराउने सरकारको नीति छैन ।’

निजीको सामाजिक प्रतिष्ठा र नाफा दुवै जोडिएकाले मन्त्री पौडेलले जनतालाई दिने सेवा सुविधाबारे पारदर्शीता अपनाउन आग्रह गर्नुभयो ।

मन्त्री पौडेलका अनुसार, सरकारी अस्पतालमा गरिएको सरकारको लगानी बालुवामा पानी हालेको जस्तै भएको छ । स्वास्थ्य सेवाले सामाजिक प्रतिष्ठा कमाउने भएकाले निजी अस्पतालले विपन्नलाई दिने भनिएको १० प्रतिशत निःशुल्क सेवा कसैको निर्देशनमा नभई आफैंले पोलिसी बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्कता औल्याउनुभयो ।


कानुनभित्र रहेर संस्थाको विकास गर्न जरुरी भएको आवश्यकता औंल्याउनुभयो ।


आफूले निजी अस्पतालहरुको नविकरणका लागि प्रधानमन्त्रीलाई पनि भेटेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमाको दायरा ५ लाखसम्म बढाउनुपर्ने, निजी स्वास्थ्य संस्थालाई पनि बीमावापत् उपचार गर्न दिनुपर्ने, कसैले फेक भुक्तानी दावी गरेमा कारवाही गरिनुपर्नेलगायत । बीमाको सुविधाका लागि एकिकृत कार्यान्वयनका लागि जोड दिनुभयो । उहाँले औषधिमा २५ औं गुणा बढी मूल्य लिने गरेको उल्लेख गर्दै औषधिको मूल्यमा सिलिङ तोक्नुपर्ने बताउनुभयो ।


सो अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्कीले निजी अस्पतालहरुले डाक्टरहरुलाई समयमा तलब नदिएको गुनासो गर्नुभयो । उहाँले स्वदेशी औषधि कम्पनिहरुलाई प्रतिस्पर्धामा लैजान सकेमा आयातित औषधि विस्तापित हुँदै जाने धारणा राख्नुभयो ।


अफिनका अध्यक्ष डा. पदमबहादुर खड्काले निजी स्वास्थ्य संस्थाको समस्या समाधानका लागि राज्यले गम्भीर भएर भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्