Logo
|
Friday 27th December 2024
Logo

epaper

‘स्वदेशी औषधिको मूल्य समायोजन गर्न आवश्यक छ’—स्वास्थ्य मन्त्री प्रदिप पौडेल

‘३० वटा स्वदेशी औषधिमा मुलुकलाई आत्मनिर्भर गराउने योजना कता पुग्यो ?’—एपोन अध्यक्ष महेश प्रधान



नेपाल हेल्थ न्युज काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वदेशी औषधिको मूल्य समायोजन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

नेपाल औषधि उत्पादक संघ (एपोन) को ३० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले डलर र कच्चा पदार्थको मूल्य हरेक वर्ष बढ्ने कारण लामो समयदेखि हुन नसकेको स्वदेशी औषधिको मूल्य समायोजन गर्नुपर्ने आवश्यकता औंल्यानुभएको हो ।

स्वदेशी औषधिलाई प्रोत्साहन गर्न आफ्नो पूर्ण साथ र सहयोग हुने उल्लेख गर्दै मन्त्री पौडेलले आवश्यक छलफलका लागि आउन स्वदेशी औषधि कम्पनि सञ्चालकहरुलाई आव्हान गर्नुभयो ।

मन्त्री पौडेलेले भन्नुभयो—‘औषधि सर्वसुलध र पहुँचयोग्य हुनुपर्छ, जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ । यो सरकारको नीति हो ।’ उहाँले औषधिमा कमिसनतन्त्र न्यूनिकरण गरिनुपर्ने, औषधि कम्पनिहरुले कानुनको परिधिभित्र बसेर काम गर्नसमेत आग्रह गर्नुभयो ।


सो अवसरमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले दिनप्रतिदिन धेरै औषधि कम्पनिहरु धरासायी भएर बन्द हुने अवस्थामा पुगेकाले सरकारको पूर्ण सहयोग भएमा स्वदेशी औषधि निर्यात गरेर राज्यलाई राम्रो आम्दानी दिनसक्ने उल्लेख गर्नुभयो ।

हाल स्वदेशी औषधि कम्पनिहरु ८२ बाट घट्दै केही कम्पनि बन्द हुने अवस्थामा पुगेको, एउटा औषधि स्थापना गर्न ८० करोडदेखि १ अर्ब रुपियाँसम्म लाग्ने, स्वदेशी औषधि कम्पनिले स्वदेशमा खपत हुने औषधिमध्ये ५० प्रतिशत अर्थात ३५ अर्बको बार्षिक बिक्री गर्ने भएपनि यो प्रतिशत घट्दै २९ अर्ब रुपियाँमा झरेको अध्यक्ष प्रधानले बर्तमान तितो यथार्थ प्रस्तुत गर्नुभयो ।


औषधि उत्पादनमा गुणस्तरका विभिन्न मापदण्ड बढाइरहेकाले लागत बढिरहेको उल्लेख गर्दै अध्यक्ष प्रधानले विगत १६ वर्षदेखि धेरै औषधिको मूल्य बृद्धि हुन नदिएको जानकारी गराउनुभयो ।

उहाँले गगन थापा स्वास्थ्य मन्त्री हुँदा ३० वटा स्वदेशी औषधिमा मुलुकलाई आत्मनिर्भर गराउने योजना अहिले कता पुग्यो ? भन्दै स्वास्थ्य सचिव डा. रोशन पोख्रेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाललाई प्रश्न गर्नुभयो । उहाँले बीमाबाट प्रदान गरिने औषधि स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, आयातित औषधि दर्तामा कडाइ गरिनुपर्नेसमेत उल्लेख गर्नुभयो ।


नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा.चोपलाल भुसालले ३० औं वार्षिक साधारण सभाको शुभकामना दिँदै नेपाली औषधि उद्योगहरुले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।


नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले प्रभावकारी औषधि ऐन बनाउनुपर्ने खाँचो औल्याउनुभयो ।
सो अवसरमा उपस्थित वक्ताहरुले औषधिमा अनइथिकल प्राक्टिस रोक्नुपर्ने, राम्रो गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने र उपभोक्ताले गुणस्तरीय औषधि उपभोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्