Logo
|
Thursday 23rd January 2025
Logo

epaper

एचआइभी सङ्क्रमित भन्छन्,‘नियमित औषधी सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ’



नेपाल हेल्थ न्युज, काठमाडौँ । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिँदैन भन्ने डर । लागूऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उहाँमा एचआइभी देखिएको थियो ।

सङ्क्रमण पुष्टि भएको पाँच वर्षसम्म पनि उहाँ लागूऔषधबाट मुक्त हुन सक्नुभएन । २०६३ सालमा एक पुनः स्थापना केन्द्रको सहयोगमा उहाँ  दुर्व्यसनीबाट मुक्त हुनुभयो । त्यसयता खड्का विभिन्न सामाजिक संस्थामा आबद्ध भई सङ्क्रमितका हितमा वकालत तथा परामर्श दिँदै आउनुभएको छ । एचआइभी सङ्क्रमण भएकै कारण विभेद र लाञ्छना भोग्नुपरेको सङ्क्रमितसँग धेरै अनुभव छन् ।

२३ वर्ष अघि खड्काको एक दुर्घटनामा हात भाँचिएको थियो । उहाँ उपचारका लागि अस्पताल पुग्दा रिपार्टमा सङ्क्रमित भएको थाहा पाएपछि स्वास्थ्यकर्मीले ‘प्लास्टर’ गर्नुपर्नेमा ‘ब्यान्डेज’ मात्र गरेर पठाइदिएका थिए । जसले गर्दा उहाँको एउटा हात अझै राम्रो अवस्थामा छैन । खड्का एचआइभी सङ्क्रमितप्रतिको दृष्टिकोण पहिले र अहिलेमा आकाश जमिनको फरक रहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “मलाई सङ्क्रमण पुष्टि भएको त्यो समय र अहिले फरक छ । समाजमा लाञ्छना भोगिरहेका होलान् तर पहिले भन्दा निकै कम छ ।” उहाँकाअनुसार नियमित औषधि सेवन, स्वस्थ्य जीवनयापन तथा पौष्टिक आहारले एचआइभी सङ्क्रमित सक्रिय जीवन बाँच्न सक्छन् । उहाँ भन्नुहुन्छ, “एड्सबाट सुरक्षित रहन परिवार तथा समाजलाई सजग गराएको छु । सबैले सुरक्षित व्यवहार गर्नुपर्छ । मेरी श्रीमती र दुई जना बच्चा छन् । उनीहरू कसैमा पनि सङ्क्रमण छैन ।”

राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताउनुभयो । सङ्घले सङ्क्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ ।

२६ वर्षीया यशोदा तिमिल्सिना एचआइभी सङ्क्रमण पुष्टि भएपछि आफू जस्तै थुप्रै सङ्क्रमितलाई यसबारे पैरवी र परामर्श दिँदै आउनुभएको छ । उहाँको सुझाव छ,“पहिले यो रोगलाई प्राणघातकको रूपमा लिइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । सङ्क्रमण हुने बित्तिकै डराउनु र आत्तिनु पर्दैन किनकि लामो जीवनयापन गर्न औषधी उपलब्ध छन् ।” राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ ।

सन् २०२३ मा चार सय ५७ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । सन् २०२३ मा मात्रै दुई सय २१ व्यक्तिको एड्सका कारण मृत्यु भएको अनुमान गरिएको छ । नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा सुइँद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, जेलमा रहेका कैदी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि बिदेसिनेहरू छन् । यीमध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरू जोखिम समूहभन्दा उच्च छ ।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न ९५ प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधी उपचारमा पहुँच हुने र ती औषधी खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।

हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । यो वर्ष ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ ३७औँ एड्स दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । रासस

प्रतिक्रिया दिनुहोस्