Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

पाठेघरको मुखको क्यान्सरविरुद्ध लड्ने विश्व लक्ष्य प्राप्तिका लागि देशव्यापी खोप अभियान महत्वपूर्ण उपलब्धिः स्वास्थ्यमन्त्री पौडेल



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । 

इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना-माघ २२ गते दुई सातासम्म किशोरीहरूलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । 

‘यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीति मा महत्वपूर्ण उपलब्धि हुनेछ,’ मन्त्री पौडेलले बताउनुभयो ।  

गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्नेछ उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी तथा हैजाविरुद्धसमेत खोप कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिनुभयो । 

‘हामी यसबारे विमर्श गरिरहेका छौँ, नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ ।’ मन्त्री पौडेलले बताउनुभयो ।

नेपालमा खोप कार्यक्रम सञ्चालन गर्न कुल बजेटको कम मात्र अंश स्वास्थ्यका लागि विनियोजन हुनु तथा नयाँ संघीय व्यवस्थामा जनशक्ति अभावजस्ता समस्यासँग जुधिरहनुपरेको मन्त्री पौडेलले बताउनुभयो ।

हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरण सहायता क्षमता अभिवृद्धि सहायतामा तपाईँहरूबाट सहयोगको अपेक्षा गरेका छौँ, मन्त्री पौडेलले सम्बोधनका क्रममा भने, यस्तो सहयोगले नेपाल र नेपालजस्ता देशहरूका लागि खोपहरूको पहुँच र सुलभता महत्वपूर्ण हुनेछ । ‘कोही पनि पूर्ण खोप अभियानबाट बञ्चित नहुन् भन्नका लागि नेपालले विश्वव्यापी खोप अभियानसँग गर्ने साझेदारी महत्वपूर्ण हुनेछ,’ मन्त्री पौडेलले बताउनुभयो ।

 नेपालको खोप कार्यक्रमका लागि विश्वव्यापी खोप अलायन्स गाभीले ६५ प्रतिशत सहयोग गर्दे आइरहेको छ । नेपाल दक्षिण पश्चिम एसिया क्षेत्रमा खोप ऐन ल्याउने पहिलो देश भएको भन्दै मन्त्री पौडेलले राष्ट्रिय खोप कार्यक्रमबाट हरेक वर्ष ५ लाख लाभान्वित हुने गरेको सुनाउनुभयो ।

खोपबाट बचाउन सकिने १३ प्रकारका रोगविरुद्ध नेपालले खोप अभियान सञ्चालन गर्दै आइरहेको छ । मन्त्री पौडेलले नेपालको खोप कार्यक्रमले सबै लिंग, वर्ग तथा भौगोलिक क्षेत्रमा समान काम गरिरहेको भन्दै देश सन् २०१० मा पोलियोमुक्त बनेको तथा रुबेला संक्रमण नियन्त्रण गर्न सफलता पाएको उदाहरण दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्