Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

बिरामी हुँदा अस्पतालसम्म पुर्‍याउने मान्छेको समस्या, बसाईसराइले गाउँ रित्तियो



नेपाल हेल्थ न्युज, बागलुङ । मङ्सिर २२ गते । बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् । बसाइँ नसरेकाले पनि आफ्नो परिवारलाई सहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बुढापाकाबाहेक अन्यलाई भेटाउन सकिन्न ।

काठेखोला जिल्लामै धेरै बसाइसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा, जापान, कोरिया र अस्ट्रेलियामा छन् भने उनीहरूको परिवार बागलुङ, पोखरा, काठमाडौँ र चितवन बसाई सरेका छन् । बसाइसराइले गाउँमा हरेक वृद्धवृद्धालाई बिरामी हुँदा अस्पतालसम्म पुर्‍याउने मान्छे समय–समयमा समस्या पर्ने गरेको छ ।

गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको समस्या बढ्दै गएको छ । यसले स्थानीय त्रसित बनेका छन् । गाउँमा वृद्धवृद्धा र महिला मात्रै रहेको हुँदा हिँडडुल गर्न पनि डर हुने स्थानीय मैना सुवेदीले गुनासो गर्नुभयो । श्रमशक्तिको अभावमा खेतबारीमा खेती गर्नसमेत छोडिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मान्छेहरू सबै बजार झरे, गाउँमा बस्नै छोडे, पहिले कति रमाइलो थियो यो ठाउँ अहिले विरक्त लाग्ने भएको छ, यहाँ वरपरका सबै घर खाली छन्, अर्मपर्म गरेर खेतीपाती गर्नलाई मान्छे पाइँदैनन्, पहिले मुरीका मुरी धान, मकै, कादो फल्ने बारीमा अहिले बनमारा पलाएको छ ।”

स्थानीय चिरञ्जीवी कँडेलले राज्यले बसाइसराइलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । बसाइसराइ गरेर जानेर घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने उहाँको भनाइ छ । अहिले गाउँमा निस्किने बाटोसमेत बनमारा र झाडीले पुरिएको कँडेल बताउनुहुन्छ । पहिलेको तुलनामा धेरै विकास भए पनि बसाइसराइ नरोकिएको उहाँको भनाइ छ ।

युवा शक्ति विदेश पलायन भएका छन् । गाउँका हुने खानेहरू सेवा सुविधाको खोजी गर्दै बसाइसराइ गरेर बजार झरेपछि गाउँमा न्यून वर्गका मानिसहरू मात्रै छ । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्दै गए पनि बसाइसराइ रोकिएको छैन । काठेखोलाको करलिम मात्र होइन जिल्लाको अन्य धेरै ठाउँबाट बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान भएका छन् ।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बसाइसराइ रोक्नका लागि नागरिकलाई उद्यमसँग जोड्ने र व्यावसायिक बनाउने खालका कार्यक्रम ल्याएको बताउनुभयो । धेरैजसो गुणस्तरीय स्वास्थ्य र शिक्षाका लागि बसाइसराइ गरेको भन्दै पालिकाले अहिले ती क्षेत्रमा लगानी गरिरहेको उहाँको भनाइ छ । गाउँमै बस्ने वातावरण तयार गर्नका लागि आफूहरू गम्भीर भएर लागेको उपाध्यक्ष थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्