Logo
|
Sunday 22nd December 2024
Logo

epaper

मुलुकभर १० हजार जनस्वास्थ्यविद्, जनस्वास्थ्य व्यवस्थापकको दरबन्दी कायम नहुँदा स्वास्थ्य प्रणालीको कार्यक्षमतामा असर

जनस्वास्थ्यविद् सगुन पौडेल भन्नुहुन्छ— संघको प्रतिनिधित्व सुनिश्चित हुने गरी सरकारहरुसँग सहकार्य हुन जरुरी



नेपाल हेल्थ न्युज, काठमाडौं । आज राष्ट्रिय जनस्वास्थ्य दिवस । हरेक वर्ष मंसिर २३ गते नेपाल जनस्वास्थ्य संघको स्थापना भएको दिनलाई राष्ट्रिय जनस्वास्थ्य दिवसका रुपमा मनाउने गरिएको छ । संघ २०४७ मंसिर २३ गते स्थापना भएको थियो ।

यसवर्ष ‘जनस्वास्थ्यमा लगानी गरौं, स्वस्थ राष्ट्र निर्माण गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनस्वास्थ्य दिवस मनाइएको छ ।


नेपाल जनस्वास्थ्य संघ देशभरका १० हजार भन्दा बढी जनस्वास्थ्यविद्हरुको छाता संगठन हो । हालसम्म संघमा २ हजार ५ सय जनस्वास्थ्य विज्ञ आवद्ध हुनुहुन्छ ।

जनस्वास्थ्यलाई आफ्नै ढङ्गबाट विभिन्न तरिकाले व्याख्या गरिन्छ । जनस्वास्थ्य भनेको स्वास्थ्य सेवा ऐनले निर्धारण गरेको हेल्थ इन्स्पेक्सन समूह वा अधिकृत र सोभित्र अटाउन सक्ने जनशक्ति मात्रै हुन् भन्ने कतिपय स्वास्थ्यकर्मीलाई लाग्नसक्छ ।
‘कोही चिकित्सक, नर्स, फार्मेसी, ल्याव, स्वास्थ्य शिक्षा, आयुर्वेद विषय अध्ययन पश्चात् थप जनस्वास्थ्यमा स्नातकोत्तर नै अध्ययन गरेपनि म जनस्वास्थ्यकर्मी हुँ भनेर खुलेर वकालत गर्न सकिरहेका छैनन् ।’—नेपाल जनस्वास्थ्य संघका आजिवन सदस्य जनस्वास्थ्यविद् सगुन पौडेल बताउनुहुन्छ । उहाँ हाल लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन र लण्डन स्कूल अफ ईकोनमिक्स एण्ड पोलिटिकल साइन्स, बेलायतमा हेल्थ पोलिसी, प्लानिङ एण्ड फाइनान्सिङ विषयमा अध्ययन पनि गर्दै रहनुभएको छ ।
‘आफ्नो पृष्ठभूमिको पेशालाई प्राथमिकताभित्र राख्नु स्वभाविक नै हो । यद्यपि राज्यले परिभाषित गरेको जनस्वास्थ्यको दायराले ठूलो प्रभाव पारिरहेको छ ।’—जनस्वास्थ्यविद् पौडेलले स्पष्ट पार्नुभयो ।

दैनिक प्रशासन सञ्चालन गर्ने, जनस्वास्थ्यकै विषयवस्तुहरूमा छलफल गर्ने तर आफ्नो पृष्ठभूमिको पेशाको कारणले जनस्वास्थ्य भन्ने शब्द उच्चारण गर्न अप्ठ्यारो मान्ने जनशक्तिहरूको पनि कमी छैन । यसमा हामीले कसरी जनस्वास्थ्यलाई परिभाषित गरेका छौं भन्ने विषयले ठूलो प्रभाव पारिरहेको छ ।

सगुन पौडेल-जनस्वास्थ्यविद्

अर्काेतर्फ पृष्ठभूमि अध्ययन फरक किसिमको विषयमा गरेका तर जनस्वास्थ्यविदले तय गरेका जनस्वास्थ्यका परिभाषाहरू भित्र नपर्ने जनशक्तिहरूले समेत जनस्वास्थ्यको क्षेत्रमा अध्ययन, अनुसन्धान, विधि र विकासमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् । त्यसैले जनस्वास्थ्यलाई पेशाको पद भन्दा केही माथि उठेर जनताको स्वास्थ्यलाई जोड्ने विश्वव्यापी प्रचलित अभ्यासलाई आत्मसाथ गर्दै पूर्ण रूपमा परिभाषित गर्न जरुरी भएको पौडेलले बताउनुभयो ।
नयाँ संविधानले कोरेको खाका अनुसार बनेको संघीय संरचना अनुसार स्वास्थ्य सेवा प्रवाह र व्यवस्थापनमा सोचेअनुरुप व्यवस्था हुन सकेको छैन ।

स्वास्थ्य क्षेत्रको तत्कालीन संरचना केन्द्रदेखि समुदायस्तरसम्म रहेको छ । अहिलेको संरचनाले सबै तहहरुलाई प्रत्यक्ष जोड्न र कार्य सम्पादनमा एकरुपता ल्याउन सकेको छैन । विगतमा भएका नेटवर्क खारेज भएकाले स्वास्थ्य कार्यक्रमहरुमा गुणस्तर सुनिश्चितता, प्रभावकारीता, श्रोत सुनिश्चितता र गतिशील रुपमा कार्यक्रम सञ्चालन हुन सकेको छैन ।

स्वास्थ्य संस्था हस्तान्तरण एवं कर्मचारी समायोजनपश्चात् स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी खटनपटनमा राजनीतिक हस्तक्षेप भइरहेको छ । त्यसैले स्वास्थ्य जनशक्तिको स्थानीय तहमा आकर्षण घट्दै गइरहेको देखिन्छ ।

स्थानीय कार्यपालिकामा रहेर स्वास्थ्य सम्बन्धी नीति, योजना, बजेट तर्जुमा, अनुगमन, मूल्याङ्कन , प्रदेश तथा संघीय सरकारका कार्यक्रमहरुलाई स्थानीय तहमा कार्यान्वयन गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने जनस्वास्थ्य अध्ययन गरेका व्यवस्थापकको दरबन्दी कायम हुनसकेको छैन । यसले स्वास्थ्य प्रणालीको कार्यक्षमतामा ठूलो असर परिरहेको पौडेलले बताउनुभयो ।

संघीयतापछि देखापरेका समस्या र चुनौतीलाई सुधार गर्न खुला वहस, वृहत् छलफल र स्वास्थ्य क्षेत्रको पुनर्संरचना पारदर्शी गर्न अपरिहार्य भएकोसमेत उहाँले स्पष्ट पार्नुभयो ।
म कहाँ रहने ? मेरो पद कहाँ हुने ?, मेरो भूमिका कसरी वलियो पार्ने ?, मेरो समुह कहाँ रहने ? भन्ने व्यक्ति केन्द्रीत सोच भन्दा एक दुई कदम माथी उठेर प्रणाली केन्द्रीत, जनता केन्द्रीत स्वास्थ्य प्रणालीको खाका तय गर्न गर्न वर्तमान नीति निर्माता तथा सरोकारवालाहरुले प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी छ ।

‘हेल्थ पोलिसी, प्रोसेस एण्ड पावर’ विषयमा अध्ययन गर्दै रहँदा पब्लिक हेल्थ र पोलिटिक्स एक आपसका परिपूरक हुन् भन्ने स्पष्ट छ । तर नेपालमा जनस्वास्थ्य भित्र राजनीति हुने तर जनस्वास्थ्य राजनीतिको एजेण्डा बन्न सकिरहेको अवस्था छैन । त्यसैले स्वास्थ्यलाई राजनीति र राजनीतिकर्मी अर्थात् जनप्रतिनिधि (संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरु), राजनीति दलका केन्द्रीय समितिलाई संघीय सरकारले, प्रदेश समितिलाई प्रदेशले, स्थानीय समितिलाई स्थानीयले नियमित जोड्ने, वहस, पैरवी र वकालत गर्दै जनस्वास्थ्यको अवधारणा राजनीतिकर्मीहरुलाई बुझाउन र सहभागी गराउन खोप कार्यक्रम, पोषण कार्यक्रम भनेजस्तै प्राथमिकता भित्रै राखेर जनस्वास्थ्य बुझाउन जरुरी छ ।


जनस्वास्थ्यविद् पौडेलका अनुसार, राष्ट्रिय जनस्वास्थ्य दिवस अब नेपाल जनस्वास्थ्य संघको मात्रै होइन यसलाई सरकारको आफ्नो क्यालेन्डरमा राख्न जरुरी छ ।

ब्रेन गेन को अवधारणा अनुसार विदेशमा रहेका नेपाली जनस्वास्थ्यकर्मीहरुलाई समेट्न विभिन्न देशहरुमा संगठन विस्तार गर्नुपर्छ । स्वास्थ्यका अन्य पेशागत संस्थाहरुसँग साझा धारणा र एजेण्डाहरुमा सँगै सहकार्य गर्न जरुरी छ । साथै अन्य देशका जनस्वास्थ्यका पेशागत संघहरुसँग सम्झौता गरी प्रोफेसनल एक्सचेञ्ज कार्यक्रम, फेलोसिप, स्कलरसिपहरु ल्याउन आवश्यक छ ।
सरकारलाई तथ्यमा आधारित पोलिसी डेभलप्मेन्टमा प्राविधिक सहयोग बढाउन संघका टेक्निकल एक्सपर्ट परिचालन गर्न आवश्यक देखिन्छ । साथै जनस्वास्थ्यका विभिन्न विधाहरुमा विज्ञ समूह गठन गर्ने र तीनै तहका सरकारलाई सहयोग गर्ने, संघ, प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य प्राविधिक समितिहरुमा संघको प्रतिनिधित्व सुनिश्चित हुने गरी सरकारहरुसँग सहकार्य हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्