Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

स्वस्थ्य भावी पुस्ता बनाउने हाम्रो लक्ष्य: स्वास्थ्यमन्त्री पौडेल



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई निरोधात्मक पक्षमा ध्यान दिँदै चेतनाको अभिवृद्धिमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल जनस्वास्थ्य सङ्घले आज आयोजना गरेको कार्यक्रममा उहाँले स्वस्थ नेपाल र स्वस्थ भावी पुस्ता बनाउने कुरामा लागिपर्नुपर्नेमा जोड दिनुभएको हो । 

“बिरामी हुँदा उपचार गर्ने राज्यको दायित्व हो । तर बिरामीको सङ्ख्या बढ्दै जाँदा सबैको निःशुल्क उपचार गर्न नसकिने अवस्था पनि हुन्छ”, उहाँले भन्नुभयो, “सबैलाई कसरी निरोगी बनाउने र कम खर्चमा कसरी सेवा गर्न सकिन्छ त भन्ने मुख्य कुरा हो ।” उहाँले जनस्वास्थ्य क्षेत्रको उपस्थितिले यी लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य अधिकृतको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “स्रोत व्यवस्थापन गर्न सकियो भने सबै  स्थानीय तहमा जनस्वास्थ्य अधिकृत चाहिन्छ, स्वास्थ्य ऐन छुट्टै चाहिएकै छ । बनाउने क्रममा छौँ । जनस्वास्थ्यकर्मीको दक्षता नीति निर्माणमा चाहिएको छ ।”

सङ्घका उपाध्यक्ष तेजप्रसाद दुलालले जनस्वास्थ्य विषयका महत्व तथा यस क्षेत्रका सवाललाई उजागर गरेर राज्यका विभिन्न निकाय तथा सरोकारवालालाई यसको प्राथमिकताबारेमा सचेतना गर्ने उद्देश्यले दिवस मनाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामी दशौँ हजारको सङ्ख्यामा छौँ तर अझै पनि सबै सङ्गठित हुन सकेका छैनौँ । नीति बनाउँदा जनस्वास्थ्यको विषयलाई पनि ध्यान दिनुपर्छ । उत्पादन भइरहेको छ तर जनशक्तिलाई कसरी काममा लगाउने सोच्नुपर्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुन बाट रोक्नुपर्छ ।”

नेपाल जनस्वास्थ्य सङ्घ २०४७ साल मङ्सिर २३ गते स्थापना भएको हो । सङ्घले यस वर्ष ‘जनस्वास्थ्य लगानी गरौँ, स्वस्थ राष्ट्र निर्माण गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी सातै प्रदेशमा दिवसको अवसरमा कार्यक्रम सञ्चालन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्