सगरमाथा क्षेत्रका महिलामा देखिन थाल्यो स्वास्थ्य समस्या, कारण के ?
नेपाल हेल्थ न्युज, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ। उहाँको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौंमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्या पुनः दोहोरिन थाल्यो।
‘यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ,’ उहाँले बताउनुभयो । प्रजननमै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाउनुभयो ।
उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य जस्तै हुँदै गएको छ। खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार धेरैजसो महिलाहरू स्वास्थ्य संस्था पुग्दा प्रजनन्सम्बन्धी समस्या लिएर आउने गरेका छन्। कतिपय महिलाहरू आफ्नो समस्या चुपचाप सहेर बस्छन् भने केहीले मात्र जाँच गराउन आइपुग्छन्।
महिनावारीको अवधि लम्बिने, असामान्य रगतस्राव हुने र गर्भधारणमा समस्या उत्पन्न हुने घटना बढिरहेको शेर्पाले बताउनुभयो ।
‘पहिले मेरो महिनावारी नियमित थियो तर अहिले महिनावारी अनियमित भइसकेको छ। यो परिवर्तन जलवायु परिवर्तनकै कारण भएको जस्तो लाग्छ,’ सगरमाथा क्षेत्रकै अर्का एक शेर्पा थरकी महिलाले परिचय नखुलाउने शर्तमा भन्नुभयो– ‘यस्तो हुँदैन थियो तर पछिल्लो १५ वर्षमा यहाँको परिवर्तनले हामी महिलालाई धेरै असर गरेको छ। मेरो मात्रै होइन, मेरा धेरै साथीहरूको पनि प्रजनन्मा समस्या भइरहेको बताएका छन्। उनीहरूको महिनावारी समयमा नहुने, रगत धेरै बग्ने, गर्भपतन हुने जस्ता समस्या यहाँका लागि सामान्य जस्तै भइसकेको छ। पुरुषहरूलाई खासै असर नगरे पनि महिलाहरूलाई यसको असर बढी छ।’
हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ।
महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेका छन्। लबुचेका संगम राई भन्नुहुन्छ– ‘पछिल्लो केही वर्षयता चैत–वैशाखमा धेरै हिमपात हुने क्रम बढिरहेको छ। यो हिमपात पुस–माघमा हुनुपर्ने हो। अब समय त धेरै फेरियो।’
हिमालमा यस्ता परिवर्तनका असरहरू देखिने क्रम बढ्दो छ। जलवायु परिवर्तनले सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा अनपेक्षित चुनौती थपेको छ। सगरमाथा क्षेत्रको खुम्बु हिमनदी छोटिँदै गएको र आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरूले बताएका छन्।
आरोहीहरूद्वारा छोडिएका सामग्री र फोहोरका कारण तापक्रममा थप असर परिरहेको छ। पर्यटन व्यवसायी साङ्गे शेर्पा भन्नुहुन्छ, ‘आधार शिविर वर्षैपिच्छे खाल्डोमा परिणत हुँदैछ। यो राम्रो संकेत होइन।’
यसले स्थानीय पर्यावरण मात्र नभई महिलाहरूको जीवनशैली र स्वास्थ्यमा समेत असर पु¥याएको अभियन्ता प्रजिता कार्कीले बताउनुभयो ।
‘महिलाहरू घरदेखि बाहिरसमेत बढी केन्द्रीत हुने भएकाले चुलोमा देखिएको असरदेखि हिमालको फेदमा देखिएको असरको शिकार बढी मात्रामा महिलाहरु भइरहेका छन् । यसलाई रोक्न र समाधान गर्न सबै एक हुनुको विकल्प छैन,’ कार्कीले भन्नुभयो ।
प्रजनन् स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव
महिनावारी अनियमितताले महिलाहरूको जीवनमा ल्याउने दीर्घकालीन असरलाई नजरअन्दाज गर्न नसकिने खुम्बु क्षेत्रका स्वास्थ्यकर्मीहरूको भनाइ छ। गर्भाधानमा समस्या, बच्चा जन्माउने क्षमतामा गिरावट र मानसिक स्वास्थ्यमा प्रभाव जस्ता समस्या जलवायु परिवर्तनसँग सम्बन्धित हुने संकेत देखिएको छ।
स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा जलवायु परिवर्तनले महिलाहरूको हर्मोन सन्तुलनमा असर गरिरहेको हुनसक्छ। यो समस्या समाधान गर्न विशेष स्वास्थ्य योजना र परामर्श सेवाको आवश्यकता छ। जलवायु परिवर्तनका कारण हर्मोन असन्तुलन र त्यसको शारीरिक तथा मानसिक प्रभावले महिलाहरूको प्रजननमा असर गरेको हुनसक्ने नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जिव तिवारीको तर्क छ।
‘यहाँका महिलाहरूमा जलवायु परिवर्तनको असर भएको महसुस भयो तर यो गहिरो खोज र अध्ययनको विषय हुन सक्छ। यो सामान्य विषय भने होइन। यसलाई सामान्य सम्झँदै जाने हो भने भोलिका दिनमा यहाँका महिलाहरूमा ठूलो प्रजनन् समस्या नदेखिएला भन्न सकिन्न,’ उहाँले भन्नुभयो । सुवास दर्नाल/रासस