Logo
|
Thursday 12th December 2024
Logo

epaper

महिला स्वास्थ्यबारे मिथ्या सूचना फैलाउने ‘इन्फ्लुअन्सर’ को फन्दामा नेपाली पनि, जोखिम कति ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । सोफीले विगत १२ वर्षदेखि एकदमै पीडादायी महिनावारी, बढ्दो तौल र थकानको अनुभव गर्दै आएकी थिइन्। उनमा दशमध्ये एक महिलालाई असर गर्ने होर्मोन असन्तुलनको एउटा अवस्था ‘पोलिसिस्टिक ओभरिअन सिन्ड्रोम’ (पीसीओएस) देखिएको थियो। उनले चिकित्सकहरूबाट त्यसबारे सहयोग लिन सङ्घर्ष गर्नुपर्‍यो। उनले विकल्पका रूपमा इन्स्टाग्राममा कोर्टनी सम्याङलाई देखिन्।

उनले ‘पीसीओएस’को “जड कारण” के हो भन्ने व्याख्या गर्दै त्यसको उपचार गरिदिने वाचा गरिन् जब कि अनुसन्धानकर्ताहरूले नै अहिलेसम्म त्यसको पहिचान गर्न सकेका छैनन्। उनले परीक्षण, आहार र आहार पूर्ति गर्न लिइने औषधि (सप्लिमन्ट)हरू र परामर्श सबै गरेर ३,६०० पाउन्ड लाग्ने बताइन्।

सोफी त्यो योजनामा सहभागी भइन्। त्यस क्रममा ‘सप्लिमन्ट’हरूका लागि उनले सयौँ डलर तिर्नुपर्थ्यो। तर महिला स्वास्थ्य शिक्षाकर्मी र स्त्रीरोग विशेषज्ञ डाक्टर जेन गन्टर कोर्ट्नीले भनेका परीक्षण गर्न सोफी योग्य नै नभएको बताउँछिन्। झन्डै एक वर्षसम्म पनि लक्षणहरूमा सुधार नआएपछि सोफीले कोर्ट्नीले सुझाएअनुसार गर्न छोडिन्।

“शरीर र खानेकुरासँगको सम्बन्ध बिग्रिँदै गएपछि मैले त्यो योजना छोडेँ, अब ‘पीसीओएस’ ठिक गर्न सक्ने क्षमता मसँग छ जस्तो लागेन,” उनले भनिन्। त्यसबारे प्रतिक्रिया दिन गरेको अनुरोधमा कोर्ट्नीले जवाफ दिइनन्।

एक ठाउँको मात्र समस्या होइन

दश लाखभन्दा बढी ‘फलोअर’हरू भएका तर चिकित्सकीय रूपमा स्वास्थ्य सेवा तथा परामर्श प्रदान गर्न योग्य नभएका इन्फ्लुअन्सरहरूले सामाजिक सञ्जालमा आफूलाई विज्ञका रूपमा प्रस्तुत गरेर नक्कली उपचार सेवा बेचेर फाइदा उठाइरहेका छन्। केहीले आफूलाई पोषणविद् वा “होर्मोन कोच”का रूपमा व्याख्या गरिरहेका छन्, यस्ता उपमा त केही सातामै सकिने अनलाइन कार्यक्रमहरूबाट पनि प्राप्त गर्न सकिन्छ।

बीबीसी विश्व सेवाले गत सेप्टेम्बर महिनामा चार भाषामा टिकटक र इन्स्टाग्राममा पीसीओएसबारे सबैभन्दा धेरै पटक हेरिएका भिडिओहरूको अध्ययन गरेको थियो। त्यसरी हेर्दा त्यसमा भएका आधाभन्दा धेरैमा झुटा सूचना फैलिएको पत्ता लागेको थियो।

हामीले अङ्ग्रेजी, स्वाहिली, हिन्दी र पोर्चगीज भाषामा भएका सबैभन्दा धेरै हेरिएका २५ भिडिओहरूको विश्लेषण गरेका थियौँ।

अङ्ग्रेजीमा भएका धेरै भिडिओहरू भारत, नाइजेरिया, केन्या र ब्रजिलमा पनि चर्चित थिए। अङ्ग्रेजी भाषाका त्यस्ता भिडिओहरू तपाईँका ‘फीड’मा पनि देखापरेका होलान्।

नेपालको अवस्था

महिनावारी

यसै मेसोमा हामीले नेपालमा पनि ‘पीसीओएस’ भएका महिलाहरूको अवस्था कस्तो छ र उनीहरू सामाजिक सञ्जालमा उपलब्ध सामाग्रीबाट कति प्रभावित छन् भनेर जान्ने प्रयास गरेका छौँ। ह्याम्स अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर करिश्मा पाण्डेका अनुसार उनीकहाँ १५ देखि १९ वर्षसम्मका किशोरीहरू पनि मोटोपना, अनुहारमा कपाल आउने र समयमा महिनावारी नहुने जस्ता समस्या लिएर आएँछन्।

“म केही खाँदिन तर पनि मेरो वजन नै कम भएन भन्दै आउनुहुन्छ, खास गरी ‘जङ्क फूड’ धेरै खानेहरूमा त्यसले गर्दा पनि समस्या हुने गरेको देखिएको छ,” डाक्टर पाण्डेले बीबीसीसँग कुरा गर्दै भनिन्। “अनि कतिपय महिलामा महिनावारी तीनचार महिनामा मात्रै हुने हुँदा गर्भ रहन समस्या हुने पनि हुन्छ।”

त्यसका लागि के कारण भन्ने पत्ता लगाएर त्यसअनुसार मधुमेह र थाइरोएइसम्बन्धी विशेषज्ञ चिकित्सकको सल्लाहमा उपचार सुझाउने गरिएको डाक्टर पाण्डेले बताइन्।

सामाजिक सञ्जालमा आउने मिथ्या सूचनाले यस्ता स्वास्थ्य समस्या भएका महिलामा पार्ने असरबारे सोध्दा उनले आफ्नै दन्तचिकित्सक साथीको स्कुले जीवनदेखिकै पीसीओडीको समस्याबारे सुनाइन्।

“मेरो मिल्ने साथीलाई सातआठ कक्षादेखि नै मोटोपनाको समस्या थियो। मोटोपना घटाउन भनेर खाँदै नखाने, अनि जसले जेभन्छ, त्यहीअनुसार दुईतीन महिनामा खाने बानी परिवर्तन गरिरहँदा त्यसले ‘ग्यास्ट्राइटिस’लगायत ‘साइड इफेक्ट’ अहिलेसम्म पनि देखिएको छ,” डाक्टर पाण्डेले भनिन्।

कतिपय अवस्थामा सेलिब्रिटीहरूले पनि विभिन्न औषधि तथा ‘डाइट प्लान’ले दुब्लाउन मद्दत गरेको भन्दै सामाजिक सञ्जालमा पोस्टहरू राख्ने गरेका छन्। त्यस्ता आहार योजनाले कसैका लागि काम गरे पनि प्रत्येक मानिसको शरीर र उनीहरूमा समस्या फरक हुने कारणले चिकित्सकको सल्लाहमा व्यावसायिक पोषणविद्‌ले सुझाएअनुसार खानाको योजना बनाउन डाक्टर पाण्डे सुझाउँछिन्।

“चिकित्सकको सल्लाह र डाइटिशनको परामर्श नलिई जथाभाबी केही पनि प्रयोग नगर्न म सल्लाह दिन्छु,” उनले भनिन्। आफूसँग उपचार गर्न आउनेहरूले पनि मोटोपनाका कारण ‘इन्टर्मिटन्ट फास्टिङ’ (१६ घन्टे उपवास) बस्ने गरेको उनले बताइन्।

समस्याको स्तर

टिकटक र इन्स्टाग्राम 'रील'हरूमा इन्फ्लुअन्सरहरू "सप्लिमेन्ट" बेच्ने गर्छन्

पीसीओएस भएका ७० प्रतिशतसम्म महिलाहरूको रोग पहिचान नहुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। यदि पहिचान भए पनि महिलाहरूले उपचार पाउन सङ्घर्ष गर्नुपर्छ। “जब औषधि लिन छुट्छ, त्यसको फाइदा ‘सिकारी’हरूले उठाउँछन्,” गन्टरले भनिन्।

यी इन्फ्लुअन्सरहरूले दाबी गर्ने झुटा र मिथ्या दाबीहरूमा यी कुराहरू पर्छन् :

  • आहारको पूर्तिका लागि प्रयोग गरिने औषधिहरूले पीसीओएस निको हुन्छ।
  • कम कार्बोहाइड्रेट भएको र धेरै चिल्लो पदार्थ हुने ‘कीटो डाइट’ले पीसीओएस निको हुन्छ।
  • गर्भनिरोधक चक्कीहरूले पीसीओएस गराउँछन् र लक्षणहरू अझै बिगार्छ्न।
  • मूलधारका औषधिले पीसीओएसलाई दबाउन सक्छन् तर “मुख्य कारण” भने सम्बोधन गर्दैनन्।

विज्ञहरूका अनुसार कीटो डाइटले लक्षणहरू अझै खराब बनाउन सक्छ र उच्च क्यालोरी-प्रतिबन्धित खान्कीको सकारात्मक असर हुन्छ भन्ने कुनै प्रमाण छैन। गर्भनिरोधक चक्कीले पीसीओएस गराउँदैन र खासमा सबैलाई नभए पनि धेरै महिलालाई यसले सहयोग पुर्‍याउँछ। पीसीओएस खास के कारण हुन्छ भन्ने जड थाहा हुन सकेको छैन।

टिकटकका प्रवक्ताका अनुसार उल्लेख्य हानि पुर्‍याउन सक्ने कुनै पनि भ्रामक वा गलत सामाग्रीका लागि कम्पनीले अनुमति दिँदैन। मेटाका प्रवक्ताले भने महिला स्वास्थ्यसम्बन्धी प्रयोगकर्ताका सामग्रीहरू “बन्देजबिना” राख्न सक्ने बताएका छन्। उक्त कम्पनीले स्वास्थ्यसम्बन्धी अन्य भ्रामक सूचना हटाउन “तेस्रो पक्ष”सँग काम गरेको जनाएको छ।

पीसीओएस भनेको के हो?

  • पीसीओएस एउटा पुरानो हर्मोनल अवस्था हो जसले अनुमानित ८-१३% महिलाहरूलाई असर गर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ।
  • यूकेको न्याश्नल हेल्थ सर्भिस (एनएचएस)का अनुसार लक्षणहरूमा पीडादायी अनियमित महिनावारी, अत्यधिक कपाल झर्ने र तौल बढ्ने हुन्छ।
  • पीसीओएस बाँझोपनको सबैभन्दा सामान्य कारणहरूमध्ये एक हो, तर एनएचएसका अनुसार उपचार गरेमा पीसीओएस भएका धेरैजसो महिलाहरूले गर्भधारण गर्न सक्छन्।

विश्वव्यापी समस्या

इन्फ्लुअन्सरले प्रवर्धन गरेका विभिन्न उत्पादन प्रयोग गर्ने केन्या, नाइजेरिया, ब्रजिल, यूके, अमेरिका र अस्ट्रेलियाका १४ जना महिलासँग बीबीसीले कुरा गरेको छ।

लगभग सबैले ‘टालिन हाकाटोरिअन’ नामक ‘इन्फ्लुअन्सर’को नाम उल्लेख गरे जसको टिकटक र इन्स्टाग्राममा २० लाख भन्दा बढी फलोअर छन्। तीमध्ये एक भारतको बेङ्गलुरुकी वैष्णवी हुन्। उनले भारतकी इन्फ्लुअन्सर आन्या शर्माप्रति विश्वास गरिन्। शर्माले आहारको योजना र ‘डिटक्स’ जस्ता “प्राकृतिक” उपचार प्रवर्धन गर्छिन्। अन्य इन्फ्लुअन्सरले जस्तै उनले पनि वजन घटाउनमा धेरै जोड दिन्छिन्।

आन्याको योजना अनुसार वैष्णवीले दिनमा १,००० देखि २,००० क्यालोरी खानुपर्छ। पीसीओएसको लक्षण भएका धेरैले स्वस्थ आहार खाँदा मद्दत गर्छ तर यस्तो चरम प्रतिबन्धले थप समस्या ल्याउन सक्छ। यूकेको न्याश्नल हेल्थ सर्भिसले औसतमा महिलाहरूलाई दिनमा २,००० क्यालोरी खान सुझाउँछ।

योग गर्दै एक महिला

वैष्णवीको महिनावारी छ महिनासम्म रोकियो। धेरै कम खाँदा यस्तो असर सामान्य हो। तर उनलाई भनिएजस्तो उनले वजन छिट्टै घटाउन सकिनन् र त्यसले गर्दा उनी एकदमै लज्जित भइन्।

“उनका अरू सबै ग्राहकहरूले मैले भन्दा धेरै वजन घटाएका थिए,” उनले भनिन्। “तपाईँलाई लाग्छ कि यो त अन्तिम हो भनेर, यसले सबैलाई काम गरिरहेको छ भने, मलाई पनि राम्रो भएको अनुभव गर्नेछु, तर कसोकसो ममा भने त्यस्तो भएन।”

आन्या शर्माले पीसीओएसको लक्षणहरू फर्किन सक्ने भए पनि उपचार भएको भने दाबी गरिनन्। उनले आफ्ना ग्राहकहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्थिन्।

बेङ्गलुरुकै मनीषा पनि त्यस्तै खालको जालमा परिन्। सोफीजस्तै उनी पनि शरीरमा अनावश्यक ठाउँमा कपाल उम्रिने, महिनावारीमा अति पीडा हुने, वजन बढ्ने र सम्भावित निःसन्तानपनको चिन्ताका कारण पहिला चिकित्सककोमा गइन्। तर त्यहाँ मद्दत नमिलेपछि उनी इन्फ्लुअन्सरकोमा गइन्।

“मैले चिनेका महिलाहरूको उनीहरूमा पीसीओएस छ र त्यसै कारण उनीहरू गर्भधारण गर्न सक्दैनन् भन्ने परिवारले सोच्दा उनीहरूको विवाह नै तोडिएको छ।”

उनले लामो समय उपवास बस्ने र कीटो डाइट अपनाउने गरिन्। उनी शाकाहारी भएका कारण त्यो उनका लागि गाह्रो थियो। उनले सप्लिमन्टहरू पनि किनिन् र तिनले “जादुजसरी काम गर्ने” उनलाई बताइएको थियो। त्यसरी सुझाइएका सप्लिमेन्टमा भारतको परम्परागत आयुर्वेदिक अश्वगन्धा थियो; इन्फ्लुअन्सरहरूले उनलाई पश्चिमा औषधिले “पीसीओएस लक्षणहरूलाई ढाक्ने” मात्रै भन्दै ती औषधि नलिन भनेका थिए।

तर डाइट र उपचार विधिहरूले उनको पीडा र अन्य लक्षणलाई थप खराब बनाए। “एउटा समयमा त मलाई मर्न मन लाग्थ्यो। यी सबै तरिकाले बाँकी सबैलाई काम गर्छ तर मलाई किन गर्दैन?” उनले भनिन्। “म एकदमै निराश भएको थिएँ।”

‘टाइप टू डाइबिटिज’को समस्या

मनीषा फेरि चिकित्सककोमा गइन् किनकि २९ वर्षको उमेरमा उनमा ‘टाइप टू डाइबिटिज’ देखियो। पीसीओएस भएका धेरै महिलामा ‘इन्सुलिन रेजिस्टन्स’ हुन्छ, त्यसको अर्थ ‘सुगर प्रोसेसिङ’मा समस्या हुन्छ र उनीहरू उच्च खतरामा हुन्छन्।

यदि उनले पहिला नै ‘मेट्फर्मिन’ नामक औषधि खाएको भए टाइप टू डाइबिटिज नहुन सक्थ्यो। पीसीओएस र मधुमेह नहोस् भनेर जोगिनका लागि धेरैले यो औषधि लिने गर्छन्।

मनीषाले पहिलो पटक पीसीओएसका लागि उपचार गर्न प्रयास गर्दा आफूले गम्भीर रूपमा नलिएको बताइन्। उनलाई आफूले गर्भधारण गर्न चाहेपछि अस्पताल आउन पनि भनिएको थियो। डाक्टर गन्टरले यस्ता बिरामीहरूको समूह जोखिममा रहेको र उनीहरूले उपचारमा पहुँच नहुँदा त्यसबाट निरीह महसुस गरिरहेको हुन सक्ने बताइन्।

उनले गलत सूचनाले गर्दा धेरैजसो बिरामीहरूले चिकित्सकीय सहायता लिन विलम्ब हुने गरेको र त्यसले टाइप टू डाइबिटिजजस्ता समस्याहरू विकास हुनसक्ने बताइन्।

मेड्लिन

नाइजिरियामा मेड्लिन नाम गरेकी चिकित्सा शास्त्रकी विद्यार्थी अहिले पीसीओएससँग जोडिएका लज्जाका विषयसँग जुध्ने कोसिस गरिरहेकी छन्। डाइट र सप्लिमेन्टहरूले काम नगरेपछि उनी अहिले आफैँ अन्य महिलाहरूलाई प्रमाणमा आधारित उपचार डाक्टरको सल्लाहमा गर्न सुझाउँछिन्।

“पीसीओएस भएपछि त्यससँगै धेरै कुरा जोडिएर आउँछ। मानिसहरू तपाईँ अल्छी भएको र आफ्नो ख्याल गर्नुहुन्न अनि गर्भधारण गर्न सक्नुहुन्न भन्ठान्छन्,” उनले भनिन्। “त्यसैले तपाईँसँग कोही प्रेम सम्बन्धमा रहन र विवाह गर्न चाहँदैन भन्ने सोच्छन्।”

तर अहिले भने आफूमा भएको पीसीओएसका कारण देखिएका लक्षणहरू उनी स्विकार्न थालेकी छन्। “पीसीओएस, मेरो कपाल र मोटोपना भएको कुरा स्वीकार गर्न मेरा लागि कठिन थियो,” उनले भनिन्। “यी कुराहरूले मलाई फरक बनायो।”

यूकेमा रहेको परोपकारी संस्था पीसीओएस च्यालेन्जकी साशा ओटीका अनुसार चिकित्सकीय उपचारले गर्भवती हुन चाहने महिलाहरूलाई मद्दत गर्छ। “पीसीओएस भएका महिलाहरूले पनि नभएका महिलाले जति नै बच्चा जन्माउन सक्छन्,” उनले थपिन्। “त्यहाँसम्म पुग्नका लागि मद्दत भने चाहिन सक्छ।”

गन्टर जनरल प्र्याक्टिश्नरबाट मद्दत नपाएका बेला विशेषज्ञलाई देखाउनुपर्ने बताउँछिन्। “केही महिलाहरूका लागि विश्वसनीय एन्डोक्रिनोलजिस्ट वा प्रसूति तथा स्त्रीरोग विशेषज्ञलाई देखाउनुपर्ने हुन्छ।”

चिकित्सकीय उपचारपछि मनीषा अहिले मेट्फर्मिन खाइरहेकी छन्। यसले उनमा सुधार भएको छ र टाइप टू डाइबिटिजबाट मुक्ति पाउने आशामा छिन्। वैष्णवी शारीरिक व्यायाममा सुधार गरिरहेकी छन् र सोफी मान्यताप्राप्त पोषणविद्सँग काम गरिरहेकी छन्। उनीहरूलाई यसले वजन कम गर्न मद्दत गरिरहेको छ। दुवैले उपचारका लागि चिकित्सक खोजिरहेका छन् र त्यसले काम गर्ने आशामा छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्