क्यान्सरका वैकल्पिक उपचारविधि के के छन् र कति काम गर्छन् ?
नेपाल हेल्थ न्युज, काठमाडौँ । उच्च प्रतिष्ठाका विभिन्न व्यक्तिहरूले परम्परागत औषधिभन्दा वैकल्पिक उपचारविधि अपनाउँदा र खानपानमा परिवर्तन ल्याउँदा आफ्नो क्यान्सर रोगमा सुधार आएको बताएका छन्। तर क्यान्सरसम्बन्धी धेरै संस्थाहरूले वैकल्पिक विधिले क्यान्सको उपचारमा सघाउँछ भन्ने कुनै चिकित्सकीय प्रमाण नभेटिएको बताएका छन्। त्यसो भए ती वैकल्पिक विधिहरू केके हुन् र तिनको प्रयोग किन बढिरहेको छ?
कीमोथेरपीको सट्टामा कि पूरक?
नोभेम्बर महिनामा भारतका पूर्वक्रिकेटर तथा राजनीतिज्ञ नवजोत सिंह सिद्धूले खानामा कागतीपानी, अप्रशोधित बेसार, एपल साइडर भिनिगर, नीमको पात, तुलसी, फर्सी, अनार, अमला, चुकन्दर र ओखरजस्ता सामग्रीहरू थपेपछि आफ्नी पत्नी अब क्यान्सरमुक्त भएको बताएका छन्।
उक्त भिडिओ ‘भाइरल’ भएपछि भारतको एउटा अस्पतालका दुई सयभन्दा धेरै क्यान्सर विशेषज्ञहरूले एउटा वक्तव्य जारी गर्दै तीमध्ये केही सामग्रीहरूबारे अनुसन्धान भइराखेको र क्यान्सरको उपचारमा तिनको प्रयोगलाई समर्थन गर्ने कुनै प्रमाण नभेटिएको भन्दै ‘अप्रमाणित उपायहरू’ अपनाएर आफ्नो उपचारमा ढिलाइ नगर्न सर्वसाधारणलाई आह्वान गरेका छन्।
सेप्टेम्बरमा अस्ट्रेलियाकी मोडेल एल मक्फर्सनले सात वर्षअघि आफूलाई स्तन क्यान्सर भएको र आफूले कीमोथेरपीभन्दा “अन्तर्ज्ञानयुक्त, हृदयप्रधान र समग्र उपचार पद्धति” अपनाएको खुलासा गरिन्।
एक्युपङ्चर, योग र ध्यानजस्ता पूरक विधिहरू प्राय: कीमोथेरपीजस्ता स्तन क्यान्सका परम्परागत उपचारविधिसँगसँगै प्रयोग गरिन्छन्। चिकित्सकहरू त्यसले पीडा कम गर्न र तन्दुरुस्त रहन सघाउने बताउँछन्। तर उनीहरू चिकित्सकीय पद्धतिको सट्टामा निश्चित किसिमको खानपान तथा खनिज र भिटामिनको मिश्रण लिन भनिने किसिमका वैकल्पिक विधिहरू नअपनाउन सल्लाह दिन्छन्।
क्यान्सरसम्बन्धी संस्थाहरू त अझ केही वैकल्पिक विधिहरू हानिकारक र दुष्प्रभाव निम्त्याउने किसिमका हुन सक्ने र चिकित्सकीय उपचारमा तिनले अवरोध गर्न सक्ने चेतावनी दिन्छन्। सन् २०१८ को ‘जामा अङ्कलजी अध्ययन’ले बिरामीले अपनाउने पूरक वा वैकल्पिक उपचारविधिलाई उनीहरूको घट्दो बाँच्ने सम्भावनासँग जोडेको थियो।
यसका बाबजुद क्यान्सरका धेरै बिरामीहरूले पूरक तथा वैकल्पिक उपचारविधिहरू खोज्छन् र तिनको लोकप्रियता बढ्दो छ। ‘अमेरिकन सोसाइटी अफ क्लिनिकल अङ्कलजी क्यान्सर अपिन्यन्स’को एउटा सर्वेक्षणले अमेरिकाका ४० प्रतिशत वयस्कले वैकल्पिक उपचारविधि मात्रैले क्यान्सर निको हुन सक्ने विश्वास गरेको देखाएको छ।
‘क्यान्सर निको पार्ने’ खानपानका भिडिओहरूले अनलाइनमा लाखौँ ‘भ्यूज’ पाउँछन् र क्यान्सरसम्बन्धी खानपानका पुस्तकहरू प्राय: एमजनमा धेरै बिक्री हुनेमा पर्छन्। ‘इन्फ्लुअन्सर’हरूद्वारा हालै ‘प्राकृतिक रूपमै’ क्यान्सरसँग जुध्न सकिने बताइएको एउटा ‘ट्विटर थ्रेड’ व्यापक रूपमा फैलाइएको थियो। विशेष गरी खानपानको परिवर्तनमार्फत् त्यो गर्न सकिने बताइएको उक्त सामग्रीले केवल ४८ घण्टामा दुई लाख ‘लाइक’ बटुल्यो। त्यसमा क्यान्सरलाई ‘भोकै पार्न’ र ‘डीएनएमा छेडछाड गर्न’ उपवास गर्न र केही निश्चित खानेकुरामार्फत् ‘स्टेम सेल’ बढाउन भनिएको थियो।
क्यान्सर च्यारिटी संस्था मक्मिलन वैकल्पिक उपचारविधि अपनाउनेबारे सोचिरहेकाहरूलाई आफ्नो क्यान्सर चिकित्सकसँग कुरा गर्न र सल्लाह लिन सुझाउँछ।
वृद्धिको कारण के हो?
बिनाप्रमाण सामाजिक सञ्जालहरूमार्फत् “चामत्कारिक उपचार”का रूपमा वैकल्पिक थेरपीहरूको प्रचार गरिँदा भ्रामक सूचनाहरूले पनि भूमिका खेल्छन्।
“क्यान्सर डरलाग्दो छ। हामीले तपाईँलाई जोखिम र फाइदाहरूबारे भन्नुपर्छ। बिरामीहरू आशा चाहन्छन्, निश्चितता चाहन्छन् र निको हुन्छ भन्ने वचन चाहन्छन्। तर मूलधारको डाक्टरले त्यसरी वचन दिन सक्दैन,” ब्रिटिश क्यान्सर शल्यचिकित्सक डाक्टर लिज ओ’रिअर्दान भन्छिन्।
यी कथित “उपचारहरू” प्राय: पीडारहित र प्राकृतिक भनेर बढाइचढाइ गरिन्छन् र तिनले दुर्बल बिरामीहरूलाई चिरफार गर्नुपर्ने अनि गम्भीर दुष्परिणाम हुन सक्ने परम्परागत र प्रभावकारी उपचार विधिले भन्दा लोभ्याउन सक्छन्।
संसारभरका बिरामीहरू यसतर्फ तानिने अर्को कारण के पनि हो भने उच्च गुणस्तरको क्यान्सरको उपचार सहजै उपलब्ध हुँदैन र भइहाले पनि महँगो हुन सक्छ।
“जब पैसाको कुरा आउँछ यी सम्भावित रूपमा सस्ता वैकल्पिक उपायहरू निकै आकर्षक हुन सक्छन्,” डाक्टर ओ’रिअर्दान भन्छिन्, “उनीहरू नाजुक मानिसहरूलाई फकाइरहेका छन्, उनीहरूलाई नचाहिएका कुराहरू बेचिराखेका छन्। त्यहाँ मेरो चिन्ता हो।”
एउटा ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययनका अनुसार अफ्रिकामा क्यान्सर र चिकित्सकीय उपचारको प्रभावकारितासम्बन्धी चेतनाको व्यापक अभाव हुनुका साथै परम्परागत र वैकल्पिक उपायमा अधिक निर्भरता छ र प्रशिक्षित चिकित्सक तथा बीमित जनसङ्ख्याको पनि कमी छ।
वैकल्पिक उपचारविधिहरू संस्कृतिमै अन्तर्निहित रहेका पनि हुन सक्छन्। भारतलगायत विभिन्न एशियाली र केही अफ्रिकी देशहरूमा प्राचीन उपचारपद्धति र दर्शनहरू छन्, जसले तिनमाथिको विश्वास बढाउँछ। यद्यपि केही प्रमाणहरूले परम्परागत चिनियाँ उपचार र आयुर्वेदले केही रोगहरू निको पार्न सघाउने देखाए पनि तिनले क्यान्सरको उपचारका निम्ति पनि काम गर्ने बताउन थोरै मात्र प्रमाण उपलब्ध छन्।
विश्वकै ठूला वैकल्पिक उपचार र खानपानविधि केके हुन्?
आयुर्वेदिक ‘उपचार’
आयुर्वेदमा प्रायश: बेसारलाई क्यान्सरको वैकल्पिक उपचारका रूपमा लिइन्छ। यो जडिबुटी र मालिसमा आधारित प्राचीन भारतीय उपचारपद्धति हो। आयुर्वेद विश्वव्यापी रूपमै लोकप्रिय हुँदै छ र ‘मार्केट रिसर्च फ्यूचर’को एउटा प्रतिवेदनका अनुसार सन् २०२८ सम्म यो उद्योग तीन गुनाको हुनेछ।
‘ल्यान्सेन्ट’को एउटा प्रतिवेदनका अनुसार भारत र खास गरी यसका ग्रामीण क्षेत्रहरूमा अपनाइने अन्य वैकल्पिक पद्धतिहरूमा ‘नेचरपथी’, ‘बायोपथी’, ‘होमिओपथी’, घरेलु उपायहरू, ‘ह्विट–ग्रास थेरपी’, ‘हाइड्रोथेरपी’, ‘एक्युपङ्चर’, ‘अटोयुरिन थेरपी’, ‘ओस्टेओपथी’ र विपश्यना छन्। यीमध्ये केहीले पीडा व्यवस्थापनमा सघाउँदा अन्यले भने केही क्यान्सरका उपचारमा खराब असर गर्न सक्ने डाक्टर ओ’रिअर्दान बताउँछिन्।
‘क्यान्सर रिसर्च यूके’ले बेसारमा पाइने तत्त्व ‘कुर्क्युमिन’ले केही निश्चित क्यान्सरका कोषहरूलाई नष्ट गर्न सक्ने भए पनि यसबारे थप अनुसन्धान आवश्यक छ। उसका अनुसार बेसार वा ‘कुर्क्युमिन’ले क्यान्सरबाट जोगाउन वा उपचार गर्न सक्ने देखाउने स्पष्ट प्रमाण छैन।
चिनियाँ परम्परागत औषधि
‘क्लिनिकल अङ्कलजी जर्नल’को एउटा अनुसन्धानसम्बन्धी समीक्षा आलेखका अनुसार पूर्व र पश्चिम दुवैतर्फका क्यान्सरका बिरामीहरूमा परम्परागत चिनियाँ औषधि प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ तर त्यसको प्रभावकारिता र सुरक्षाबारे क्यान्सर विशेषज्ञहरूले प्राय: प्रश्न उठाउने गरेका छन्।
‘ट्रेडिश्नल चाइनीज मेडिसन’ (टीसीएम) उपचारको एउटा पूर्ण पद्धति हो जसमा अन्यसँगै एक्युपङ्चर, मालिस थेरपी, जडिबुटी र ‘ताई चाई’ पनि समाविष्ट छ। यसमा वनस्पतिहरूबाट लिइएका सयौँ औषधीय तत्त्वहरूको प्रयोग हुन्छ।
डाक्टर ओ’रिअर्दान चिकित्सकको परामर्शमा चिकित्सकीय विधिसँगै ‘टीसीएम’ प्रयोग गर्न सकिने भए पनि केही जडिबुटीहरूले क्यान्सरको मेडिकल उपचारमा अवरोध गर्न सक्ने खतरा रहेको बताउँछिन्।
खानपानमा परिवर्तन
क्यान्सरलाई ‘भोकै पारेर मार्ने’ भनी दाबी गरिने ‘कीटो’, ‘भीगन’ तथा अन्य निश्चित प्रकारका खानपान प्रतिबन्ध गर्ने विधिहरू विश्वव्यापी स्तरमै लोकप्रिय हुँदै छन्। “तपाईँ क्यान्सरलाई भोकै मार्न सक्नुहुन्न, केवल स्वयंलाई भोकै मार्नुहुन्छ,” क्यान्सरसम्बन्धी अनुसन्धानकर्ता डाक्टर डेभिड रोबर्ट ग्राइम्स भन्छन्, “क्यान्सर भएका बेला तौल घटाउनुभयो भने त्यो अत्यन्तै खतरनाक हुन सक्छ।”
सामाजिक सञ्जालमा यत्रतत्र देखिने त्यस्ता दाबीहरूले बिरामीलाई आफैँले क्यान्सर गराएको ठानी हीन महसुस गराउने वा त्योभन्दा पनि खराब स्थितिमा त्यस्ता खानपानको जोखिम थाहा नपाई त्यसतर्फ लाग्न सक्ने उनले बताए।
भारतस्थित मोहनदा” ओसवाल अस्पतालकी क्यान्सर विशेषज्ञ डाक्टर कानुप्रिया भाटिया सामाजिक सञ्जालको प्रभावमा नपर्न बिरामीहरूलाई आह्वान गर्छन्। “आफैँ त्यसरी खाने वा पिउने काम नगर्नुस् किनकि त्यो हानिकारक हुन सक्छ,” उनी भन्छन्।
फेन्बेन्जडोल
फेन्बेन्जडोल जनावरहरूमा हुने परजीवीजन्य सङ्क्रमणको उपचार गर्न प्रगोग गरिने औषधि हो। एक अमेरिकी व्यवसायीले अन्य उपचारविधिसँगै यसको प्रयोग गरेर आफू क्यान्सरमुक्त भएको बताएपछि क्यान्सरको उपचारका रूपमा यसको लोकप्रियता बढ्यो। उनले आफू त्यसबखत अन्य चिकित्सकीय परीक्षणको हिस्सा भएको कुरा बताएका थिएनन्।
धेरैले आफ्नो “उपचार” यात्रालाई सामाजिक सञ्जालमा दस्ताबेजीकरण गर्दा कोरियाभर उक्त औषधि बिक्री भएर सकियो। त्यसमा एक हास्यकलाकार तथा गायकले आफ्नो फोक्सोको क्यान्सरका निम्ति उक्त औषधि प्रयोग गरेको भनी गरेको दाबीले पनि सघाएको थियो, भलै पछि उनले प्रभावकारी नभएको भन्दै त्यसको प्रयोग बन्द गरे।
‘क्यान्सर रिसर्च यूके’ले उक्त औषधि क्यान्सरको उपचारका निम्ति सुरक्षित र प्रभावकारी छ भन्न त्यसको कुनै चिकित्सकीय परीक्षण नभएको जनाएको छ।
ग्राभियोला
अफ्रिका र दक्षिण अमेरिकाका केही स्थानमा असङ्ख्य स्थितिहरूमा ‘ग्रभियोला’ नामको वृक्षको फल, पात र बोक्राको प्रयोग हुँदै आएको छ र केही सङ्क्रमणमा यो प्रभावकारी हुन सक्ने केही प्रमाण पनि पाइएका छन्।
यसको फलले क्यान्सर ‘निको’ पार्न सक्ने दाबी लामो समयदेखि इन्टरनेट तथा स्थानीय स्तरमा प्रचलित रहँदै आएको छ। त्यसमाथि सामाजिक सञ्जालका केही सामग्रीमा यो कीमोथेरपीभन्दा १० हजार गुना प्रभावकारी रहेको दाबी गरिने गरिएको छ।
क्यान्सरसम्बन्धी संस्थाहरू तथा ‘फ्रेन्च न्याश्नल क्यान्सर इन्स्टिट्यूट’ले क्यान्सर निको पार्ने त्यस्तो कुनै “चामत्कारिक खानेकुरा” नभएको बताएका छन्।
चिकित्सक र क्यान्सर ‘च्यारिटी’हरू के भन्छन्?
विज्ञहरू वैकल्पिक उपचारविधिका प्रयोगको उल्लेख्य खतरा रहेको चेतावनी दिन्छन्। अनुसन्धानहरूले तिनको प्रयोग गर्ने बिरामीहरू पारम्पारिक उपचारबाट अलग्गिन सक्ने र बाँच्ने सम्भावनालाई जोखिममा पार्ने सम्भावना हुने देखाएका छन्।
“उपचार प्रक्रियाका साथसाथ यीमध्येका केही थेरपी अपनाउनु ठिकै छ,” डाक्टर रि’ओर्दान भन्छिन्, “मानिसले केवल वैकल्पिक विधिमात्रै चुने भने चाँहि समस्या हुन्छ। हामीलाई मानिसहरूले केवल वैकल्पिक विधि अपनाएमा ज्यान गुमाउने सम्भावना साढे दुई गुनाले बढ्छ भन्ने थाहा छ।”
डाक्टर ग्राइम्स क्यान्सरका चिकित्सकीय उपचारहरू गहिरो वैज्ञानिक अनुसन्धानमा आधारित हुने बताउँछन्। “संसारभर क्यान्सरपछि बाँच्ने क्रममा सुधार आएको छ, वैज्ञानिक तथा चिकित्सकहरूले गर्दा यो अझै राम्रो हुन्छ…. वैकल्पिक उपचारविधिका कारण होइन,” उनले भने।
डाक्टर हरित चतुर्वेदी भारतको म्याक्स इन्स्टिट्यूट अफ क्यान्सर केअरका अध्यक्ष हुन्। उनी क्यान्सर “एउटै चमत्कारी सूत्रबाट उपचार गर्न सकिने रोग नभएको” बताउँछन्। उनका अनुसार आधुनिक चिकित्सामा व्यक्ति, क्यान्सरका प्रकार, निश्चित ‘क्यान्सर सेल’मा हुने निश्चित आनुवांशिक परिवर्तनहरू, उत्पत्तिको अङ्ग र रोग फैलन सक्ने सीमाका आधारमा उपचार योजना तयार पारिन्छ।
चिकित्सकहरू रोगसँग जुध्न मद्दत गर्न सक्ने भएकाले प्राय: पूरक उपचार प्रयोग गर्ने बिरामीलाई समर्थन नै गर्छन्। तर सामान्यतया: चिकित्सकीय उपचारको सट्टामा त्यस्तो विधि अपनाउने कुराको भने विपक्षमा सल्लाह दिन्छन्। बीबीसी