नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्यसमितिको निर्वाचन आज, देशभर १५ हजार ५ सय २७ जना नर्सले मतदान गर्दै
नेपाल हेल्थ न्युज, काठमाडौं । आज नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्यसमितिको निर्वाचन शुरु भएको छ । देशभर २० ठाउँमा मतदान केन्द्र तोकिएको संघको मतदान प्रक्रिया विहान ७ बजे देखि शुरु भएको हो ।
संघको केन्द्रीय कार्यसमितिका लागि दुई प्यानल चुनावी मैदानमा छन् । संयुक्त प्रगतिशील समूहबाट चन्द्रकला शर्माले अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ भने संयुक्त नर्सिङ पेशागत समूहबाट गंगाकुमारी थापाले अध्यक्ष पदकै लागि उम्मेदवारी दिनुभएको छ । त्यस्तै स्वतन्त्रबाट बसन्ती थापा पनि चुनावी मैदानमा हुनुहुन्छ ।
निर्वाचनमा नेपाल नर्सिङ संघका साधारण तथा आजीवन सदस्यहरूले मात्र मताधिकार प्रयोग गर्न पाउने छन् । हाल १५ हजार ५ सय २७ जना नर्सले नेपाल नर्सिङ संघको सदस्यता लिएका छन् । मतदान बेलुकी ५ बजेसम्म चल्ने छ ।