सिंहदरबार वैद्यखानाको अनुगमन गर्दै स्वास्थ्यमन्त्री पौडेलले भने–‘हरसम्भव उपाय लगाएर औषधि उत्पादन बढाउनु, खर्च सरकारले दिन्छ’
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गर्नुभएको छ ।
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराउनुभयो ।
प्रयाप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुने पछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गर्नुभयो ।
बजारमा जति औषधी उत्पादन भए पनि वैद्यखनाको औषधी बिक्री हुने रहेछ,’’ उहाँले भन्नुभयो, ‘‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’’
मन्त्री पौडेललाई कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरे पछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पार्नुभयो ।
‘‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उत्पादान दिन सकिन्न ।’’
मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै प्रयाप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न भन्नुभयो ।