Logo
|
Friday 26th April 2024
Logo

epaper

सरल स्वभावः आकर्षक जोडी



२०४० साल फागुन महिनामा डा. काफ्ले र निलिमाबीच एरेन्ज म्यारिज भएको थियो । त्यो बेला डा. काफ्ले २९ वर्ष र निलिमा २२ वर्षको हुनुहुन्थ्यो ।

बिवाहलाई एउटा सुखद् अनुभवको रुपमा लिइन्छ । बिवाहपछि दाम्पत्य जीवनको व्यवस्थापन महत्वपूर्ण हुन्छ । उनीहरुबीचको सोच, इच्छा र आकांक्षामा एकरुपता हुनुपर्छ । फरक परिवार र पृष्टभूमिमा हुर्किएका महिला र पुरुष आपसमा मिलेर जीवनको नयाँ यात्रा शुरु गर्नुपर्छ । अन्यथा दाम्पत्य जीवनमा चुनौति थपिन सक्छ । ३४ वर्षे बैवाहिक जीवनको यात्रा पूरा गरेका वरिष्ठ मिर्गौला विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्ले र समाजसेवी निलिमा काफ्लेको यस्तो छ दाम्पत्य जीवन ।

यसरी जुरयो लगन

त्यो बेला डा. काफ्ले रसियाबाट नेफ्रोजोजीमा एमडी गरेर बीर अस्पतालमा मेडिकल अफिसर हुनुहुन्थ्यो । उहाँ फरक पेसा र प्रकृतिको सरल जीवन साथी चाहनुहन्थ्यो । डा. काफ्ले भन्नुहुन्छ—‘मैले सुखदुखमा साथ दिने जीवन संगिनी खोजेको थिएँ ।’
निलिमा धरहरामुनिको राम्रो संस्कार भएकी दीक्षित परिवारकी छोरी हुनुहुन्थ्यो । त्यो बेला उहाँ पद्मकन्या क्याम्पसमा स्नातक अध्ययन गर्दै हुनुहुन्थ्यो । बिवाहको कुरा चलेपछि बाटोमा दुवैजनाबीच अप्रत्यक्ष देखभेट भयो । डा. काफ्लेलाई निलिमा सरल स्वभावको लाग्यो । डाक्टर काफ्ले पनि यस्तै चाहनुहुन्थ्यो र बैवाहिक जीवनमा गाँसिने निर्णयमा पुग्नुभयो । त्यो बेला सरकारले विवाहलगायत कुनै पनि तडकभडक कार्यमा रोक लगाएको थियो । यसम्बन्धि एक प्रकारको ऐन बनेकाले कार्यान्वयनको समय परेको थियो । त्यसैले तडकभडक नगरी ५० जना जन्ति, ३ किस्टी साइपाटा, ७ जोर कपडामा बिवाह सम्पन्न गर्नुपरेको थियो ।

पुरुष पुरुषार्थमा महिला

डा. काफ्ले भन्नुहुन्छ—‘मैले चाहेको यस्तै जीवन संगिनी थियो । आज मैले गरेको धेरै कामको पुरुषार्थमा निलिमाको ठूलो योगदान छ ।’—डा. काफ्ले बताउनुहुन्छ । २०४१ सालको मंसिरमा छोरा निरिसको जन्म भयो । बिवाह भएको पहिलो वर्षमा डा. काफ्लेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टिङ भयो । २ वर्षको समय पोखरामा बिताउनुभयो । डा. काफ्ले भन्नुहुन्छ—‘झट्ट हेर्दा म खटेको देखिन्छ । तर मलाई खट्नमा स्वतन्त्रता दिएर प्रेरित गर्ने जिम्मेवारी पूर्ण रुपमा निलिमाको हातमा छ । उनकै कारण आज मैले यो स्वतन्त्रता पाएको छु ।’

एक रथका दुई पांग्रा

पति पत्नी एक रथका दुई पांग्रा हुन् । त्यसैले दुवैजना मिलेर अघि बढ्नुपर्छ । त्यो बेला ‘यो मेरो, त्यो तिम्रो’ भन्ने थिएन । सबै कुरा साझा थियो । पत्नीको इच्छा र चाहना अनुसार सबै कुरा पु¥याउनसक्ने कसैको क्षमता पनि हुँदैन । ‘निलिमाबाट ‘पाइँन र पुगेन’ भन्ने कहिल्यै पनि गुनासो आएन ।’—डा. काफ्ले भन्नुहुन्छ ।

एक अर्काका पुरक
विश्वासमा दाम्पत्य जीवन टिकेको हुन्छ । बुबाआमा सबै त्यागेर मेरो वंश र परिवार धान्न भित्रिएको व्यक्तिप्रति ‘खुला मन’ राख्नुपर्छ । समानता, सल्लाह र समझदारी चाहिन्छ । आपसी सद्भाव हुनुपर्छ । पार्टनरको विश्वास जित्नुपर्छ । झुट, छलकपट जस्ता तत्वले विश्वासको वातावरण खल्बलिन्छ । अनवरत रुपमा बिरामीको सेवा गर्न पाउनु निलिमाको ठूलो योगदान भएको डा. काफ्ले बताउनुहुन्छ । निलिमा भन्नुहुन्छ—‘यसले दुवैलाई खुशी र सुखी बनाइको छ । बिरामीले खुशी भएर दिएको आशिर्वादले जीवन सार्थक बनेको छ ।’ ‘मेरो भिजनलाई सहयोग गर्ने मान्छे, दुःख र सुखमा साथ दिने र कामप्रति उत्प्रेरणा दिनसक्ने क्षमता निलिमाबाट मैले पाएँ ।’—डा. काफ्ले भन्नुहुन्छ—‘हामी एक अर्काका पुरक छौं ।’

समझदारी

दम्पत्ति बीचको सम्बन्ध आपसी समझदारीमा निर्भर गर्छ । ‘म नै सबै हुँ, मैले गरेका निर्णय सर्वमान्य हुनुपर्छ’ भन्ने हठ त्याग्नुपर्छ । जीवन सहज र उत्कृष्ठ हुने सवालमा पति र पत्नी जो कसैले भनेका कुरा भएपनि आपसमा सर्वोपरी स्वीकार्नुपर्छ । पति र पत्नीको सोंच मिल्नुपर्छ भन्ने छैन । यद्यपी आफ्नो सोंच अरुमाथि लाद्ने गल्ती गर्नुहुँदैन । कुनैपनि योजना तय गर्दा वा काम गर्दा आपसी समझदारी आवश्यक हुन्छ । चाहे त्यो किनमेलकै प्रसंगमा होस् वा वित्तीय ऋण लिने कुरामा नै, त्यसका निम्ति पति पत्नीले आपसमा साझा धारणा तयार गर्नुपर्छ । यसले एक अर्काको बोझ कम गराउँछ । ‘सबै म गर्छु’ भन्ने हठ लिन हुँदैन । ‘म भन्दा अघि निलिमाले ड्राइभिङ सिकेकाले मलाई पनि ड्राइभिङ सिक्न सजिलो भयो । निलिमाले बच्चाबच्चीको रेखदेख गरेकाले मेरो बोझ कम भयो । स्वतन्त्र रुपमा काम गर्ने अवसर पाएँ ।’—डा. काफ्ले भन्नुहुन्छ ।

प्रेममय वातावरण

घरव्यवहार चलाउने क्रममा आपसमा ठाकठुक र मनमुटाव हुन सक्छ । तर आनन्द पनि उठाउनुपर्छ । पति वा पत्नी के कुरामा रमाउन र खुसी हुन सक्छन् भन्ने कुरा बुझ्नुपर्छ । निलिमा परिवारमा रमाइलो वातावरण सृजना गर्ने स्वभावको हुनुहुन्छ । नास्तिक स्वभावका डा. काफ्लेलाई आध्यात्मिक सोच र चिन्तनको बाटोमा अघि बढाउन निलिमाको ठूलो योगदान छ । ‘आफ्नो व्यस्तताको बाबजुद पनि सामाजिक कार्यमा अघि बढ्न प्रेरित गर्ने काम निलिमाबाट भयो । यो मेरा लागि सुखद क्षण हो ।’—डा. काफ्ले बताउनुहुन्छ ।

निलिमाको तारिफ

निलिमा स्पष्ट बोल्ने स्वभावकी हुनुहुन्छ । ठिक र बेठिक छुट्याउन सक्ने क्षमता छ । पारिवारिक माहौलमा सत्कार गर्ने र ध्यान पु¥याउन सक्ने खुवी छ । आदरपूर्वक माया गर्ने स्वभाव छ । ‘यसले मेरो जीवनलाई सहज बनाएको छ । यससम्बन्धि निलिमाको तारिफ नगरी सक्दिन ।’—डा. काफ्ले बताउनुहुन्छ ।

डा.काफ्लेबारे निलिमा के भन्नुहुन्छ ?
त्यो बेला मलाई डा. काफ्लेको नाम र पढाइ केही पनि थाहा थिएन । मेरो भिनाजु इन्जिनियर भएकाले मेरा लागि पनि डाक्टर नै केटो खोज्ने भन्ने थियो । मेरो बुबाले मिहिनेत गरेर खान सक्ने केटा हेर्नुभएको थियो । त्यो आज मैले प्राप्त गरेको छु । सानैदेखि माइतमा राम्रो संस्कार दिइएको थियो । घरको कुरा माइत र माइतको कुरा घरमा गर्न कडाइ थियो । समस्याको समाधान दुवै मिलेर गर्नुपर्छ भन्ने धारणा थियो । मेरा लागि डा. काफ्ले असल पति हुनुहुन्छ । ३४ बर्षको अवधिमा अहिलेसम्म रिसाएको थाहा छैन । दाम्पन्य जीवन दुख सुखको साथी हो । त्यसैले मलाई लाग्छ—‘व्यवहार मिलाउन सक्ने, सबैलाई मिलाएर अघि बढ्नसक्ने क्षमता बनाउनु नै स्मार्ट दाम्पत्य हो ।’

प्रतिक्रिया दिनुहोस्