Logo
|
Tuesday 25th June 2024
Logo

epaper

रक्तचाप घटाउन चाहनुहुन्छ ? यी हुन् निकै उपयोगी दुई आसन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वाल स्क्वाट अर्थात् भित्तामा ढाड टाँसेर गरिने मलासन र ‘प्ल्याङ्क’ भनिने घोप्टिएर गरिने फलकासन रक्तचाप घटाउन सर्वोत्तम उपाय भएको निष्कर्ष एउटा अध्ययनले निकालेको छ।

वाल स्क्वाट एक्सरसाइज

यूकेका अध्ययनकर्ताहरूका अनुसार हिँडडुल गर्ने, दौडिने र साइकल चलाउनेजस्ता कार्यमा जोड दिने विद्यमान प्रचलनलाई परिस्कृत गर्नुपर्छ।

सोह्र हजार मानिस सहभागी भएको उक्त अध्ययनबारे ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित विश्लेषणमा सबै खालका शारीरिक अभ्यासले रक्तचाप घटाउने बताइएको छ।

तर वाल स्क्वाट र प्ल्याङ्क ले एरोबिक अभ्यासले भन्दा धेरै रक्तचाप घटाउन सक्ने जनाइएको छ। शरीरमा बल बढाउनका लागि मांसपेशी वा जोर्नीलाई हलचल नगराईकन यी आसनहरू गरिन्छ।

प्ल्याङ्क अर्थात् फलकासन गर्दा कुहिनालाई कुमको सीधा तल राखिन्छ र खुट्टा पछाडि सारिन्छ। यसबाट पेटका मांसपेशीहरू बलिया हुन्छन्।

वाल स्क्वाट गर्दा पैतालालाई भित्ताभन्दा दुई फीट पर राखिन्छ र तिघ्रालाई भुइँसँग समानान्तर हुनेगरी ढाड भित्तामा टाँसेर बसिन्छ।

एरोबिक अभ्यासका तुलनामा आइसोमेट्रिक अभ्यासहरूले शरीरमा निकै भिन्न दबाव दिने उक्त शोधका लेखक डा जेमी ओड्रिस्कोलले बताउनुभयो। उहाँ क्यान्टरबरी क्राइस्ट चर्च यूनिभर्सिटीसँग आबद्ध हुनुहुन्छ ।

‘त्यसरी दुई मिनेटसम्म बस्दा मांसपेशीमा दबाव बढ्छ र पछि सहज अवस्थामा जाँदा रक्त प्रवाह अकस्मात् बढ्छ,’-उहाँ भन्नुहुन्छ । त्यसले रक्त प्रवाह बढाउँछ तर तपाईँले सास लिने चाहिँ गरिरहनुपर्छ।

प्ल्याङ्क एक्सरसाइज


उच्च रक्तचापले रक्तनली, मुटु र अन्य अङ्गलाई दबावमा राख्ने हुँदा हृदयाघात र स्ट्रोकजस्ता समस्या उत्पन्न हुने जोखिम हुन्छ।

उपचारका क्रममा प्रायस् औषधि प्रयोग गरिन्छ तर बिरामीहरूलाई राम्रो खानपान गर्न, मदिराको मात्रा घटाउन, धूपमान नगर्न र नियमित शारीरिक अभ्यासहरू गर्न भनिन्छ।

चालीसदेखि ५० वर्ष नाघेका मानिसहरूलाई प्रत्येक पाँच वर्षमा नियमित रक्तचाप जाँच्न भनिन्छ।

अध्ययनहरूका अनुसार धमनीहरूमा हुने रक्तचाप एमएमएचजीुमा मापन गरिन्छ। धमनीमा १३०/८५ एमएमएचजीभन्दा कम रक्तचाप देखिँदा सामान्य र १४०/९० एमएमएचजीभन्दा बढी हुँदा उच्च मानिन्छ।

रक्तचापको उच्च मापन हुँदा मुटु धड्किएसँगै धमनीहरूमा पर्ने चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ।

धड्कनका बीचमा हुने कम चापलाई डाइअस्टोलिक रक्तचाप भनिन्छ।

क्यान्टरबरी क्राइस्ट चर्च यूनिभर्सिटी र लेस्टर यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूले सन् १९९० र सन् २०२३ बीचमा २७० वटा क्लिनिकल ट्रायलमार्फत् १५,८२७ जना मानिसहरूले दुई साता वा बढी समय गरेका शारीरिक अभ्याससँग सम्बन्धित डेटाको अध्ययन गरेका थिए।

सामान्य अवस्थामा हुने रक्तचाप

  • कुद्ने र साइकल चलाउने जस्ता एरोबिक अभ्यासबाट ४.४९/२.५३ एमएमएचजी घट्छ
  • स्फूर्तिजन्य प्रतिरोधयुक्त वा तौल उठाउने अभ्यासले ४.५५/३.०४ एमएमएचजी घट्छ
  • एरोबिक र तौलको मिश्रित अभ्यासले ६.०४/२.५४ एमएमएचजी घट्‍छ
  • जटिल खालका अभ्यासहरू बीचबीचमा रोकिँदै गर्दा ४.०८/२.५० एमएमएचजी घट्छ
  • आइसोम्येट्रिक अभ्यास प्रशिक्षण (वाल स्क्वाट र प्ल्याङ्क) गरेपछि ८.२४/४ एमएमएचजी घट्छ

तर यस्तो घटाइ तुलनात्मक रूपमा निकै कम भए पनि त्यसबाट केही मानिसलाई स्ट्रोकको जोखिम कम हुनसक्ने डा ओ’ड्रिस्कोलको भनाइ छ।

अहिले यूकेमा विद्यमान निर्देशिकाका अनुसार वयस्कहरूले साप्ताहिक रूपमा कम्ती १५० मिनेट मध्यमखालको अभ्यास वा ७५ मिनेटको कडा अभ्यास र सातामा दुईपटक शरीर तन्काउने अभ्यास गर्नुपर्ने उल्लेख छ।

त्यसबाहेक डा ओ’ड्रिस्कोलका अनुसार मानिसहरूले एक सातामा दुई मिनेट वाल स्क्वाट वा फलकासन बीचबीचमा दुई मिनेट विश्राम लिँदै तीन पटक गर्नु उपयुक्त हुन्छ।

द ब्रिटिश हार्ट फाउन्डेसन (बीएचएफ) च्यारिटीले शारीरिक अभ्यास मुटुको स्वास्थ्यका लागि राम्रो रहेको र त्यसले मुटु र रक्तसञ्चारसम्बन्धी रोगहरूलाई ३५ प्रतिशतसम्मले कम गर्ने जनाएको छ।

बीएचएफका मुटुसम्बन्धी वरिष्ठ नर्स जोआनी ह्विटमोर भन्नुहुन्छ “जसले अभ्यास गरिरहन्छन् उनीहरू त्यसमा रमाउँछन् र लामो समयसम्म गरिरहन्छन् जुन रक्तचापलाई कम गरेर सन्तुलनमा राख्ने उपाय हो।”

नुन कम खानु, स्वस्थ तौल कायम राख्नु र चिकित्सकले भनेबमोजिम नियमित औषधि सेवन गर्नु पनि महत्त्वपूर्ण हुने उनले बताइन्।

आफ्नो रक्तचापबारे चिन्तित सबै जनाले चिकित्सकलाई भेटेर जाँच गर्दै आफूलाई अनुकूल हुने शारीरिक अभ्यास गर्नुपर्ने बताइन्छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्