Logo
|
Friday 26th April 2024
Logo

epaper

एकादशीमा भात नखाने प्रचलनको वैज्ञानिकता




मधुमेह जस्ता भात खान नहुने रोगले आक्रमण गरेपछि मकैका च्याख्ला र कोदोका पिठोले भाटभटेनीका महलमा भित्रिने मौका पाएका हुन् ।

उच्च रक्तचाप र हृदयरोग जस्ता रोगले भेटिसके पछि सलाद र झोलिलो मौलिक नेपाली खानाले शहरीया परिवारको थालीमा उभिने मौका पाएका हुन् ।

सबै रोगले भेटाएपछि र डाक्टरले खान नहुने वस्तुहरुको तालिका थमाइदिएपछि डाइटिङ्गका नाममा एकादशीका दिन ब्रत बसे झैँ खानेकुरा खान पथपरेजमा बस्ने शैलीले फेरि ढोका ढकढक्याउने मौका पाएको हो ।

एक दशक अघिसम्म गरिवका खाना भनेर तिरष्कृत हुने खाद्यान्न आजभोलि धनिका घरमा अविच्छिन्न सम्मानित भएर भित्रिन थालेका छन् ।

एक दशक अघिसम्म सडकमा बेच्न राखिने पोलेका मकै खाँदै बस्ने औपचारिक लुगा लगाउने कुनै पनि कार्यालयका कर्मचारी देख्न पाइने थिएन । अझ पोलेका मकै खान लाज मान्ने प्रवृत्ति थियो ।
आजभोलि कार्यालयका ड्रेसमा अझ परिचय पत्र घाँटीमा भिरेरै प्रतिष्ठित संस्थामा कार्यरत कर्मचारीहरु गफिँदै पोलेको मकै सडकमा खाँदै गरेको देख्नु सामान्य हुन थालेको छ ।

कार्यालयहरुका हाकिमहरु पोलेको मकै मगाएर खाजा खान थालेको देखिन्छ ।
एक दशक अघिसम्म बजारबाट तरकारी किनेर लैजाँदा साग झोलाको अन्तर कुन्तरमा लुकाउनेहरु धेरै हुन्थे । पर्वल किन्दा छाति फुकाउने र साग किन्दा बोली लुकाउनेहरुको संख्या त्यस बेला बाक्लो हुन्थ्यो । तर आजभोलि सागका मुठा हातमा गौरव साथ हल्लाउँदै जानेहरु भेटिन्छन् ।

 

एक दशक अघि खाजाका लागि रष्टुरेण्टमा पुग्नेहरुको अर्डर हुन्थ्यो–मःम, चाउमिन । आजभोलि खाजाका लागि मानिसहरु सुख्खा रोटी, चिउरा सेट पाइने खाजा सेन्टर खोजी खोजी जानेहरु धेरै भेटिन्छन् ।

मासु भन्ने वित्तिकै भुतुक्कै भइहाल्ने नेपालीहरु आजभोलि साकाहारी भएँ भन्दै गौरव गर्न थालेका छन् ।

विभिन्न भतेरहरुमा मासुको चाङ्ग लगाएर प्लेट भर्नेहरु आजभोलि हरियो सलाद, मिक्स भेजिटेवल बढि हाल्ने गरेको देखिन थालेको छ । अझ त्यस्ता पार्टीहरुमा अन्तिम क्रममा राखिने माछा मासुको भाँडा नजिकै लाइन बाक्लिने गरेकोमा आजभोलि दुइ चार पिस मात्र मासुका टुक्रा राखी खानेहरु बढि देखिन थालेका छन् ।
आखिर एक दशकभित्रै खानाको प्रवृत्तिमा यस्ता खाले परिवर्तन देखा परेका छन् । एक डेढ दशक अधिसम्म धनि र हुने खानेको रोग भनेर चिनिने चिनी रोग अर्थात मधुमेह, हृदयाघात (हार्ट अट्याक) र उच्च रक्तचाप जस्ता समस्या आजभोली आम नेपालीको सबैभन्दा ठूलो दुष्मन बनेर खडा भएको छ । धेरै नेपालीलाई यसले प्रेम गर्न थालेको छ । किन यस्तो भइरहेको छ ? हो, अवश्य पनि यसमा आम नेपालीको खानाको शैलीमा पछिल्लो दुइ दशक यता देखिएको परिवर्तनको नतिजा भएको छ ।
पारम्परिक रुपमा हेर्यो भने खानेकुराका प्रकार र त्यसका नियम समयवद्ध रहेको पाइन्छ । जस्तो हरेक महिना दुइ पटक आउने एकादशीका दिन भात नखाइ रोटी र मासुजन्य खाना नखाई सात्विक खाना खाने शैली नेपाली समाजमा विद्यमान थियो । त्यसैगरी औँशी –अमावश्य) का दिन मासु नखाने चलन रहेको थियो । कतिपय ब्यक्तिहरुले पूर्णिमा ब्रत समेत गर्ने हुँदा त्यस दिन पथपरेजमा नै रहन्छन् । त्यसैगरी वर्ष दिनभरमा कम्तिमा १० देखि १५ दिन नियमवद्ध खाना खाने दिन रहेको हुन्छ । यसरी हेर्दा कम्तिमा पनि महिनामा तीन देखि ४ दिन मासुको भोजन नगर्ने र पथपरेजमा रहने संस्कृति र नियम छ । यि दिनहरुमा मकैको पुवा, गहुँको सुख्खा रोटी, चामलको पुवा, फलफूल, दुध, साग सब्जिी एवं तरकारी लगायतका हल्का खानेकुरा खाने चलन हुन्छ । साथै कोही ब्यक्तिहरुले हप्तामा कम्तिमा एक दिन विभिन्न देवताको आराधना गर्दै ब्रत बस्ने चलन रहेको छ । यस दिन पनि सादा खानेकुरा खाने प्रचलन हो ।

त्यसैगरी माता पिता वा हजुरबुबा हजुरआमाको तिथि श्राद्ध आदिमा पाक्ने खाना बेग्लै हुने गर्छ । जसमा कर्कलो, मासको फुरौला, विभिन्न थरीका तरकारीहरु, दही, दुध लगायतका शाकाहारी खाना तयार हुन्छन् ।
विभिन्न स्थलको तीर्थ यात्रा गर्दा पनि खानेकुराहरुका आप्mनै विधि रहेका छन् । जसमा खासगरी मांसजन्य पदार्थ नखाने र शाकाहारी खाना खाने प्रचलन रहेको हुन्छ । वर्ष दिनमा आउने कतिपय चाडपर्वमा पकाइने खानेकुराको विविधताले नेपालीको स्वास्थ्यमा सन्तुलित पोषण दिँदै विभिन्न खाले जटिल रोगहरुबाट बचाउँदै स्वस्थ जीवनयापनमा ठुलो भुमिका खेलेको थियो ।
मकै, कोदो, फापर, गहुँ, चामल आदिको प्रयोग सन्तुलित ढंगबाट खानाका परिकार बनाएर खाने प्रलन नेपाली समाजमा सदियौंदेखि रहँदै आएको थियो । त्यसमा सागसब्जी र तरकारीको समिश्रण र दुध एवं दुग्धजन्य पदार्थहरु घिउ, दही, मोही जस्ता पदार्थले थप सन्तुलित बनाउँदै आएका थिए ।
पछिल्ला केही समयमा नेपाली समाजमा एउटा पदार्थबाट बनेका खानेकुरा बढि खाने र मासु पनि बढि खाने खाना संस्कृतिले गर्दा नेपालीलाई कतिपय रोगले ग्रस्त बनाउन थालेको देखिन्छ । जसमा मधुमेह, हृदय रोग, उच्च रक्तचाप, मिर्गाैला सम्बन्धित रोगहरु, दाँतका समस्या आम नेपालीको धेरै समस्याका रुपमा देखा परिराखेका छन् । त्यसैले पनि होला आजभोलि मकै, कोदोका परिकारले फेरि पुनर्जीवन पाउन थालेका छन् । रोगले च्यापेपछि माते संस्कृति र मासु नभई गाँस नजाने संस्कृति परिवर्तनतर्फ धकेलिन बाद्य भएको हो । साथै राष्ट्रिय रोग ग्याँष्ट्रिक हुँदै कब्जियतको शिकार भएपछि सागले पनि सम्मान पाउन थालेको हो । शहरीयाहरको हातमा सागले सम्मान साथ हल्लिने मौका पाएको हो । 
त्यसैगरी मधुमेह जस्ता भात खान नहुने रोगले आक्रमण गरेपछि मकैका च्याख्ला र कोदोका पिठोले भाटभटेनीका महलमा भित्रिने मौका पाएका हुन् । उच्च रक्तचाप र हृदयरोग जस्ता रोगले भेटिसके पछि सलाद र झोलिलो मौलिक नेपाली खानाले शहरीया परिवारको थालीमा उभिने मौका पाएका हुन् । यि सबै रोगले भेटाएपछि र डाक्टरले खान नहुने वस्तुहरुको तालिका थमाइदिएपछि डाइटिङ्गका नाममा एकादशीका दिन ब्रत बसे झैँ खानेकुरा खान पथपरेजमा बस्ने शैलीले फेरि ढोका ढकढक्याउने मौका पाएको हो । त्यसैले नेपाली समाजमा ऋषिमुनि र पुर्वजहरुले अनुसन्धान गरी बडो बैज्ञानिक ढंगबाट तयार पारिएको र विकसित भएको नेपाली मौलिक संस्कृतिलाई गौरवमा साथ अवलम्बन गर्ने बानी बसाल्ने तर्फ ध्यान दिने पो हो कि ? हजुरबुबा हजुरआमाको श्राद्धको तिथिका दिन बफ, चिकन मःमको अर्डर दिन छोडेर मासुविनाको खाजा खान उमेर हुँदा देखि र रोगले च्याप्नु अघि देखिनै थाल्ने पो हो कि ? भोलि डाक्टरले लिष्ट थमाउनु अघि नै मकै, भटमास, कोदो, गहुँ, रोटी, सागसब्जी, सलाद लगायतसंग मित्रता गास्न आजै थाल्ने पो हो कि ?
(पन्त दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुनुहुन्छ । सम्पर्क नम्बर ९८४१५२७५१०)

प्रतिक्रिया दिनुहोस्