Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालका चिकित्सकले भारतमा शल्यक्रिया प्रविधि सिकाए



नेपालबाट गएका चिकित्सकहरुको टोलीले भारतको गुजरातस्थित अहमवादमा आयोजित युरो गाइने ०१७ अन्तराष्ट्रिय सम्मेलनमा महिलामा हुने विभिन्न रोगको उपचार र शल्यक्रिया विधिबारे चारदिनसम्म प्रशिक्षण दिएका छन् । सम्मेलन डिसेम्बर ७ देखि १० सम्म चलेको थियो ।

उनीहरुले अहमवादमा रहेको इन्स्टिच्यूट अफ किड्नी डिजिज सेन्टरमा प्रशिक्षण सहित १० वटा बैज्ञानिक अनुसन्धनपत्र समेत प्रस्तुत गरेका थिए । नेपाली चिकित्सकहरुले विषेश गरी महिलामा योनीबाट निरन्तर पिसाव चुहिने रोग फिस्टुला, दुरवीनले गर्ने शल्यक्रिया र आङ खस्ने रोगको उपचार विधिबारे जानकारी र ज्ञानशीपको आदान प्रदान गरेका थिए ।

सम्मेलनमा सहभागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसुती विभाग प्रमुख समेत रहेका फिस्टुलाका अन्तराष्ट्रिय विज्ञ प्रा। डा। मोहनचन्द्र रेग्मीले भने, ‘सम्मेलनमा हामीले महिलामा हुने फिस्टुलाको उपचार र शल्यक्रियाबारे जानकारी दिदै प्रत्यक्ष शल्यक्रिया गरेर देखाउदा विभिन्न मुलुकबाट सहभागी हजारजना चिकित्सकहरुले नेपाली चिकित्सकहरुसँग पनि ‘स्किल’ हुँदो रहेछ भनेर प्रशंसा गरे ।’

भारतका विभिन्न अस्पतालमा महिलामा हुने फिस्टुलाको उपचार पेट चिरेर जोखिमपूर्ण रुपमा गर्ने चलन रहेकोमा नेपाली चिकित्सकहरुले पेट नचिरी पिसाव थैलीको शल्यक्रिया गरेर देखाएको डा रेग्मीले बताए । यसैगरी विराट मेडिकल कलेजका डा ज्ञानेन्द्र कार्कीले पनि शरीरको कुनै भाग नचिरी दुरविनबाट विभिन्न रोगको शल्यक्रिया गरेर देखाएका थिए । डा रेग्मी, डा कार्की र डा पदमराज पन्थले महिलामा हुने विभिन्न रोग र समस्याहरु फिस्टुला, आङ्ग खस्ने रोग, पाठेघरको समस्या, ग्रामिण महिलाका शारिरिक समस्या, स्त्री तथा प्रसुती रोग र उपचार सम्बन्धि १० वटा बैज्ञानिक अनुसन्धान पत्र प्रस्तुत गरेका थिए ।

धरान फर्केपछि मंगलबार डा रेग्मीले भने, ‘भारतीय अस्पताल र चिकित्सकहरुसंग उच्च प्रविधि छ । हामीसँग आर्थिक अभावले त्यस्ता उच्च प्रविधि प्रयोग गर्न पाएका छैनौं । तर उच्च प्रविधि भएर मात्र हुदैन, चिकित्सकमा दक्षता, ज्ञान शीप र लगनीलता भए सहजरुपमा सस्तोमा विरामीको उपचार गर्न सकिन्छ भन्ने उदाहरण देखायौं ।’

नेपालमा जस्तो भारतमा फिस्टुलाको उपचार निशुल्क गर्ने व्यबस्था छैन । विहार र उत्तर प्रदेशका फिस्टुला रोगीहरु समेत नेपालमा निशुल्क शल्यक्रिया गर्न आउने गरेका छन् । उनका अनुसार ‘नेपालमा निशुल्क उपचार गर्छौ’ भन्दा भारतीयसहित विदेशी चिकित्सकहरु समेत आश्चार्यमा परेका थिए ।

नेपाली चिकित्सकहरुले फिस्टुला र आङ् खस्ने रोगको सहजरुपमा उपचार गरेको देखेपछि आफुहरुलाई बेंङ्लोर र राजस्थानका मेडिकल इन्स्टिच्यूटका पदाधिकारीहरुले फेरि आएर सिकाउन निम्तो दिएको डा रेग्मीले बताए । उनले भने, ‘भारतीय कतिपय अस्पतालहरुमा अत्याधुनिक रोवोटबाट पनि उपचार तथा शल्यक्रिया हुने गरेका छन् । तर यो सुविधा त्यहाका गरिव विरामीले पाउदैन । मातृमृत्यु दर पनि नेपालको तुलनामा धेरै छ । तर हामीले अत्याधुनिक डिजिटलाइज उपकरणको अभावका वीच पनि शीप प्रयोग गरेर मातृमृत्यु दर घटाएका छौं भन्दा उनीहरु तीनछक्क परे ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्